निर्माणाधीन  क्रिकेट रङ्गशालाको बार भत्काएको आरोपमा पक्राउ परेकामध्ये १४ जना छुटे

 जेठ २०, २०७६ सोमबार २०:४:२४ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाको सुरक्षाका लागि लगाइएको जस्ताको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेकामध्ये १४ जना रिहा भएका छन् । पक्राउ परेका मध्ये चार जनालाई प्रहरीले छाडेको छैन । 

हाजिरी जमानीमा आवश्यकताअनुसार बोलाउने गरी १४ जनालाई छाडिएको जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बाँकी ४ जनालाई थप अनुसन्धान गर्नुपर्ने भएकाले नछाडिएको बताउनुभयो ।

प्रहरीका अनुसार तुलसी गुरुङ, देव तामाङ, राजु सापकोटा, कोपिला सापकोटा, राजन सापकोटा, सञ्जु गुरुङ, कृष्ण कँडेल, दीपक आचार्य, देव गुरुङ, विपिन भट्टराई, मञ्जु चापागाईं, पारू परियार, यशोदा पौडेल, ईश्वरी माया तामाङ जमानीमा छुटेका हुन् ।

प्रकाश कँडेलसहित भैरव बास्तोकोटी, धुव्र चापागाईं, सुरेन्द्र विके गरी चार जना प्रहरी हिरासतमै रहेका र उनीहरुको थप अनुसन्धान भइरहेको रेग्मीले बताउनुभयो ।

जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरी ७ दिनको म्याद लिएर उनीहरुलाई थुनामा राखिएको छ ।  अभियोग प्रमाणित भए तीन वर्ष जेल, ३० हजार जरिबाना र क्षतिपूर्ति भराउने सजाय हुने कानुनी व्यवस्था रहेको छ । 

रंगशाला निर्माणस्थल वरपरका स्थानीयले पक्राउ परेका व्यक्तिहरु रिहाईको माग गर्दै वडा नम्बर १६ को कार्यालयमा धर्ना दिँदै आएका छन् ।

स्थानीयले रंगशालाको सिमानामा पर्ने सडक बाटो फराकिलो बनाउने विषयलाई लिएर बनेको संरचनामा डोजर लागाएका थिए  । विश्वविद्यालयसँग साँध जोडिएका जग्गाधनीहरूले बाटो फराकिलो पार्नुपर्ने माग उनीहरुको छ । 

विश्वविद्यालयबाट जग्गा प्राप्त भैसकेपछि फाउण्डेशनले २० बिगाहा ६ कठ्ठा जग्गामा जस्ताको बार लगाउने क्रममा बस्ती क्षेत्रमा विवाद भएको थियो । बस्ती र रंगशालाको सिमानामा ७ मिटरको सडक बाटोलाई केही स्थानीयले ३१ मिटरको बनाउनुपर्ने माग गर्दै आएका छन् ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया