तुम्लिङटारमा दुर्लभ सालक भेटियो

 जेठ २१, २०७६ मंगलबार १३:५१:३४ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा — संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारको चिलाउनेमा दुर्लभ सालक भेटिएको छ ।

गाउँ छेउमा नै भेटिएको दुर्लभ सालकलाई मंगलबार जंगलमा नै पुनः छोडिएको छ । स्थानीय गाउले, जनप्रतिनिधि र डिभिजन वन कार्यालय खाँदबारीका कर्मचारीलगायतको रोहवरमा मुचुल्का उठाएर जंगलमा नै छोडिएको तुम्लिङटारका सालक संरक्षणसम्बन्धी समुदायमा आधारित चोरी सिकारी नियन्त्रण तथा युवा जागरण समितिका सदस्य गणेश तामाङले बताउनुभयो । उहाँको अनुसार, यो सालक करिब डेढ केजीको रहेको र करिब ५/६ महिनाको मात्रै रहेको डिभिजन वन कार्यालय खाँदबारीका कर्मचारीले बताएका थिए ।  

सालक सोमबार दिउँसो करिब १२ बजे तिर स्थानीय शंकर राईले घर छेउमा नै सालक देखेपछि समात्नुभएको थियो । घर नजिकै ठूलो सालघारीको जंगल रहेकाले आहाराको खोजी गर्दै बारीमा आएपछि स्थानीय राईले सालक समात्नुभएको थियो । दुर्लभ सालक भेटिएपछि हेर्नेहरुको भीड लागेको थियो । त्यसपछि स्थानीयहरुले डिभिजन वन कार्यालय खाँदबारीमा खबर गरेपछि बन कार्यालय कर्मचारीहरु त्यहाँ पुगेका थिए ।

तुम्लिङटारमा रहेको मनकामना सामुदायिक वनमा केही वर्ष अगाडिदेखि सालक संरक्षण कार्यक्रम लागू भएको छ । यो कार्यक्रम लागूभएपछि मनकामना सामुदायिक वनमा सालकको संख्या धेरै नै बढेको स्थानीयहरुको अनुमान छ ।

बहुमूल्य र लोपोन्मुख सालकको खपडा महङगो मुल्यमा बिक्री हुने भएकाले चोरीसिकारी अत्यधिक हुने गर्दछ । सालकको संख्या लोप हुँदै गएकाले पछिल्लो समय वन कार्यालय अन्तर्गत संरक्षण गर्ने कार्यक्रम समेत लागू हुन थालेको छ । संखुवासभाको खाँदबारी नगरपालिका भित्रका तुम्लिङटार, रातमाटे, पिप्ले, सेकाहामा समेत पाइने गर्दछ । त्यसका साथै चैनपुर नगरपालिका अन्तर्गत खराङ, लोहाकोट लगायत ठाउहरुमा सालकहरु पाइने गरेको डिभिजन वन कार्यालयले जनाएको छ । 

वन ऐन अन्तर्गत सालकको चोरी सिकारी र सालकको पखडा बेचबिखन गर्नेलाई दुई वर्ष कैददेखि २५ हजार रुपैयाँ र त्योमाथि कसुर अनुसार कारबाही र जरिवाना गर्ने नियम रहेको छ । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया