अवसरको सदुपयोग गर्न नजान्दा व्यापार घाटा बढ्यो : गभर्नर नेपाल

 जेठ २४, २०७६ शुक्रबार १४:३८:५१ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले अवसरको सदुपयोग गर्न नजान्दा व्यापार घाटा बढेको बताउनु भएको छ । सहजै उपलब्ध हुने स्रोत साधनको प्रयोग गर्न नजान्दा नै व्यापार घाटाको डरलाग्दो स्थिति देखा परेको उहाँको दाबी छ । 

शुक्रबारबाट स्याङ्जाको वालिङमा सुरु भएको ‘बैकिङ तथा बीमा एक्स्पो’ को उद्धघाटन गर्दै गभर्नर नेपालले भन्नुभयो, ‘जताततै अवसरै अवसर हुँदा पनि हामीले प्रयोग गर्न जानिरहेका छैनौँ ।’ नेपालीको ध्यान वैदेशिक रोजगार र जागिर खानतर्फ मात्रै गएको भन्दै उहाँले अब स्वदेशमा नै उत्पादनसँग जोडिनु अति आवश्यक रहेको धारणा राख्नुभयो । 

‘राष्ट्र बैंकले कृषि क्षेत्रमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिँदै आएको छ, घर–घरमा नै पैसा आइपुग्दा पनि हामीले सदुपयोग गर्न नसकेकै कारण पछाडि परेका हौँ’, उहाँले भन्नुभयो, ‘गाउँ गाउँमा बैंक तथा वित्तीय संस्था खुलेका छन्, आवश्यकता अनुसार कर्जा लिन सकिने अवस्था छ तर वित्तीय जागरण नहुँदा हामी पछाडि परेका छौँ ।’ 

कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँडले भर्खर प्रस्तुत भएको बजेटमा विकास खर्च कम हुनु, ठूलो अन्तरको व्यापार घाटा रहनु तथा ऋणद्वारा घाटा बजेट परिपूर्ति गर्नुपर्नेजस्ता कारणले आगामी वर्ष पनि तरलताको अभाव हुने दावी गर्नुभयो ।

त्यस्तै डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष गोविन्दप्रसाद ढकालले आफूहरु गाउँ–गाउँ पुगेर सेवा दिन तयार रहेको बताउँदै रोजगारको खोजीमा विदेश जाने क्रम रोक्न कर्जाको प्रवाह सरल गराउँदै लगेको जानकारी दिनुभयो । 

वित्तीय जागरण राष्ट्रिय अभियान अन्तर्गत सुरु भएको एक्स्पो दुई दिनसम्म चल्नेछ । मिडिया इन्टरनेसनलको आयोजना तथा नेपाल राष्ट्र बैंकको प्रबद्र्धन, बीमा समितिको सहकार्य र वालिङ उद्योग वाणिज्य संघको सहकार्यमा सुरु भएको एक्स्पोमा उद्यमशीलताको बारेमा बहस र वित्तीय साक्षरतासम्बन्धी विशेष अन्तक्र्रिया गरिने आयोजकले जानकारी दिएको छ ।

ग्रामीण अर्थतन्त्रको विकास, लघु उद्यमशीलतालाई प्रभावकारी बनाउने उद्देश्यका साथ राष्ट्र बैंकको योजना अनुसार एक्स्पोको आयोजना गरिएकोे वित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया