चितवनमा चक्लाबन्दी खेती: कृषि पर्यटन नमुना केन्द्र बनाइने

 जेठ २४, २०७६ शुक्रबार १५:२:३७ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - चितवनको माडी नगरपालिकामा कृषि पर्यटन नमुना केन्द्र बनाउने लक्षसहित चक्लाबन्दी खेती सुरु गरिएको छ ।

प्रदेश नम्बर तीन सरकारको सहयोगमा माडी नगरपालिका वडा नम्बर-८, कान्तिपुरमा स्थानीय ८६ घरपरिवारको साझा अभियानमा चक्लाबन्दी खेती सुरु गरिएको हो । 

स्थानीय ८६ कृषकका एक सय विघाह जग्गा भाडामा लिएर सूर्याेदय सहकारी संस्था गठन गरी सामूहिक खेती गरिएको सामूहिक खेतीका अभियन्ता शिवजी गायकले बताउनुभयो । हरेक कृषकलाई वार्षिक रुपमा एक कठ्ठाको एक मुरी धान दिने सहमतिमा १५ वर्षका लागि जमिन भाडामा लिएर खेती सुरु गरिएको गायकले बताउनुभयो । 

अधुनिक कृषि प्रविधिको प्रयोग गरेर गरिने खेती बिस्तारै अन्य क्षेत्रमा पनि बढाउँदै लैजाने लक्ष राखिएको छ ।माडी नगरपालिकाले पनि यो खेतीका लागि आगामी वर्ष सहयोग गर्ने लक्ष राखेको नगरप्रमुख ठाकुर ढकालले बताउनुभयो । कृषि बाली उब्जनीका हिसाबले माडी क्षेत्र अब्बल रहेकोले यस्तो सामूहिक खेती अभियानले अन्य कृषकहरुलाई पनि प्रोत्साहन गर्ने उहाँले बताउनुभयो । 

चक्लाबन्दी खेतीबाट भएको आम्दानीपछि बचत भएको रकमसमेत जमिन उपलब्ध गराउने कृषकलाई शेयर सदस्य बनाएर वितरण गरिने लक्ष राखिएको उहाँले बताउनुभयो । २०७५ चैतमा सहकारी दर्ता गराइ २०७६ काे जेठ महिनाबाट सुरु गरिएको चक्लाबन्दी खेती अन्तर्गत अहिले धानको बीउ राख्ने काम भइरहेको गायकले बताउनुभयो । 

चक्लाबन्दी गरेर खेती गर्दा कम खर्चमा धेरै उत्पादन गर्न सकिने भएकाले कृषकहरुको आकर्षण बढेको छ । एक सय बिघा जमिनमध्ये ५० बिघा क्षेत्रमा धान मकै, गहुँ खेती, २५ बिघा क्षेत्रमा माछा पोखरी र २५ बिघा क्षेत्रमा पशुपंक्षी र तरकारीका लागि छुट्याइएको गायकले बताउनुभयो । 

प्रदेश सरकारले ज्ञान केन्द्रमार्फत जमिन चक्लाबन्दी गर्न २५ लाख, विभिन्न कृषि औजार खरिद गर्न ६५ लाख,  सहकारी खेती शिर्षकमा ६ लाख अनुदान दिने तयारी गरेको गायकले बताउनुभयो । ग्रीन हाउस निर्माणका लागि कन्दमूल तरकारी विकास केन्द्र सिंन्धुलीले २५ लाख उपलव्ध गराउने पनि उहाँले बताउनुभयो । 

माडी नगरपालिका उर्वर ठाउँ भएकाले चक्लाबन्दी खेती सुरु भएसँगै यसले अन्य कृषकहरुलाई पनि ज्ञान र सिप आदान प्रदानमा सहयोग पुग्ने विश्वास गरिएकाे छ । माडीमा सामूहिक खेती प्रणाली अन्तर्गत सुरु भएको चक्लाबन्दी खेती कृषि पर्यटनको नमुना केन्द्र बन्ने गायककाे बुझाइ छ। 

 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया