खेलकुद मन्त्रीद्वारा गौतम बुद्ध रंगशालाको निरीक्षण, रंगशालालाई चितवन प्रहरीले २४ सै घण्टा सुरक्षा दिने

 जेठ २४, २०७६ शुक्रबार १९:४६:४८ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले चितवनको रामपुरमा निर्माण हुन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अवलोकन गर्नुभएको छ । 

रंगशाला निर्माणको क्रममा सरकारको समेत साथ, सहयोग र लगानी रहने बताउँदै मन्त्री विश्वकर्माले निर्माणका क्रममा आउन सक्ने सबै खालका चुनौतीको सामना सरकारले गर्ने बताउनुभयो । 

रंगशालाको निरीक्षण गर्दै मन्त्री विश्वकर्माले निर्माण कार्यलाई सरकारले सहयोग गर्ने र सामान्य विवादले निर्माण कार्य  नरोकिने बताउनुभयो । गैरसरकारी क्षेत्रबाट निर्माण गरिने यस्ता राष्ट्रिय गौरवका आयोजनाहरुमा सरकारको समेत सहभागिता रहने बताउँदै उहाँले रंगशाला निर्माणमा कुनै पनि प्रकारका अवरोध खडा गर्न नहुनेमा जोड दिनुभयो । 

‘समस्याहरुलाई समाधान गरेर निर्माणको काम छिटो अगाडि बढाउन सरकारको प्रयास मात्र सम्भव नभएकोले निजी क्षेत्र, विभिन्न सरकारी तथा गैरसरकारी संघसस्थाले साझा संकल्पका साथ काम गर्न जोड दिनुपर्छ’, मन्त्री विश्वकर्माले भन्नुभयो । 

गएको जेठ १५ गते बिहानै रंगशालाको पश्चिम बारमा केही स्थानीयले डोजर चलाएपछि रंगशाला निर्माण कार्य प्रभावित बनेको थियो । रंगशाला र बस्तीबीचमा पर्ने बाटो फराकिलो बनाउने विषयमा रंगशालाको बार भत्काउने घटनामा संलग्न १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । १४ जना समान्य तारेखमा छुटेका छन् भने ४ जना प्रहरी हिरासतमै छन् । 

यसैबीच निर्माणधीन रंगशालालाई चितवन प्रहरीले सुरक्षा दिने भएको छ । असुरक्षाका कारण काम प्रभावित भएको कुराहरु बाहिर आएपछि प्रहरीले पूर्ण रुपमा सुरक्षा दिन थालेको हो । रंगशालाको सुरक्षाका लागि त्यही प्रहरीको बेस रहने गरी प्रहरी नायब निरीक्षकको कमाण्डमा २४ सै घण्टा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपेन्द्र शाहले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयलगायत जिल्लाका सबै सुरक्षा निकायहरु समेतबाट निरन्तर अनुगमन र सुपरिवेक्षणको व्यवस्था मिलाइएको जानकारी दिँदै रंगशाला निर्माणदेखि सञ्चालनसम्मको सम्पूर्ण कार्यमा सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने प्रतिबद्धता जनाइएको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया