कमला र रातु नदीमा अनुगमन: उपकरण र गाडीसहित अवैध उत्खनन् गर्नेहरु नियन्त्रणमा

 जेठ २९, २०७६ बुधबार २०:१४:२६ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - प्रदेशसभा-२ अन्तर्गत रहेको प्राकृतिक श्रोत तथा वातावरण संसदीय समिति बुधबार निरीक्षण गर्न पुगेपछि कमला नदी र रातु खोलामा अवैध उत्खनन् गर्नेहरुको भागाभाग भएकाे छ ।  

त्यस क्रममा नदी दोहन गर्ने एक दर्जनभन्दा बढी यन्त्र तथा सवारीसाधन नियन्त्रणमा लिइएको छ । प्राकृतिक श्रोत तथा वातावरण संसदीय समितिका सभापति रामचन्द्र मण्डलको नेतृत्वमा गएको टोली रातुखोलामा पुग्दा ५ दर्जनभन्दा बढी एक्स्काभेटर र टिपर प्रयोग गरी धमाधम उत्खनन् भइरहेको थियो ।

समितिले उनीहरुलाई नियन्त्रणमा लिन प्रहरी बोलाएको भए पनि तर प्रहरी समयमा नआउँदा झण्डै ४ दर्जनभन्दा बढी टिपर र एक्स्काभेटर भाग्न सफल भएका थिए ।

रातु नदीबाट ९ वटा टिपर, २ वटा लोडर र २ वटा एक्स्काभेटर गरी १३ वटा उपकारण नियन्त्रणमा लिएर समितिले इलाका प्रहरी कार्यालयलाई जिम्मा लगाएको छ । यस्तै कमला नदीबाट ३ वटा टिपर र एउटा एक्स्काभेटर गरी ४ वटा उपकरण नियन्त्रणमा लिएर कारबाहीको लागि जिम्मा लगाएको समाजवादी फोरमका प्रदेश सांसद समेत रहनुभएका समितिका सदस्य कौशल यादवले जानकारी दिनुभयो ।

प्रदेश-२ का विभिन्न नदीहरुमा गाउँबस्ती, चुरे क्षेत्र तथा वातावरणमा प्रतिकूल असर पर्नेगरी अवैध रुपमा ढुंगा, गिट्टी र बालुवा उत्खनन बढेपछि यसलाई नियन्त्रण गर्न संसदीय समिति सक्रिय भएको हो । नदीनाला स्थानीय सरकार र जिल्ला प्रशासनले ३ फिटसम्म मात्र गिट्टी बालुवा उत्खनन गर्न पाउने व्यवस्था गरेको छ । तर स्थानीय सरकार र प्रहरी प्रशासनकै मिलेमतोमा २५ फिटसम्म सयौँ हेक्टर खोला तथा बगरका जग्गाहरु खनिएको पाइएको छ ।

अवैध उत्खननकाे बेला नियन्त्रमा लिइएको उपकरण तत्काल नियन्त्रणमै राखिने र छलफलपछि नियमानुसार कारबाही गरेर छाडिने नेकपाका प्रदेश सांसदसमेत रहनु भएका समितिका सभापति रामचन्द्र मण्डलले बताउनुभयो ।

 ‘यसअघि पनि हामीले रातु खोला लगायत विभन्न खोलाको निरीक्षण गर्यौँ । फेरि आज आउँदा यहाँको विचित्र अवस्था देखिँदैछ’, सभापति मण्डलले भन्नुभयो ‘ रातु खोलाका चरम अवैध उत्खननले बर्दिवास बजारलगायत वरपरका बस्ती निकै जोखिममा छ, खोलामा करोडौं बजेट लगाएर गरिएको तटबन्ध पनि बाढीले भत्काउँछ । यसलाई नियन्त्रण गर्न आवश्यक छ । हामी गम्भीर छौं । चाँडै केही निर्णय लिन्छौं ।’

निरीक्षणमा प्राकृतिक श्रोत तथा वातावरण संसदीय समितिका सचिव शान्ति प्रसाईँ, सदस्यहरु प्रदेश सांसद कौशल यादव, विकी यादव, मनोज यादव र सन्तमाया मोक्तान र प्रदेश सांसद जगत यादव लागायत पत्रकारहरुको टोली सहभागी थियाे ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया