विश्वकप क्रिकेट : न्यूजिल्याण्ड पराजित, पाकिस्तान सेमिफाइनलमा पुग्ने आशा कायमै

 असार १२, २०७६ बिहिबार ६:३६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

बाबर अजमले उत्कृष्ट शतक प्रहार गरेपछि न्यूजिल्याण्डलाई ६ विकेटले पराजित गरी पाकिस्तानले इंग्ल्याण्डमा जारी एकदिवशीय विश्वकपको सेमिफाइनल प्रवेशको आशा कायमै राखेको छ । 

न्यूजिल्याण्डले भने सेमिफाइनलका लागि छनोट हुने अवसर खेर फाल्यो । जारी विश्वकपमा न्यूजिल्याण्डको सातौं खेलमा पहिलो पराजय हो । 

समान ७ खेलबाट न्यूजिल्याण्डको ११ अंक छ भने पाकिस्तानको ७ अंक भएको छ । पाकिस्तानका लागि अफगानिस्तान र बंगलादेशविरुद्धको बाँकी दुई खेलमा जित हासिल गर्नु सेमिफाइनलको दौडमा अनिवार्य हुनेछ । 

न्यूजिल्याण्डले दिएको २३८ रनको मध्यम लक्ष्य पछ्याएको पाकिस्तानले सुरुवाती २ विकेट सस्तैमा गुमाएको थियो । फकर जमान ९ र इमाम उल हक १९ रनमा आउट हुँदा पाकिस्तान ४४-२ को अवस्थामा थियो ।

त्यसपछि बाबर र मोहम्मद हफिजले तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गरे । न्यूजिल्याण्डका कप्तान केन विलियमसनको बलमा अनावश्यक सट खेल्ने क्रममा हफिज ३२ रनको स्कोरमा आउट भएपछि ह्यारिस सोहेलसँग मिलेर बाबरले १२६ रनको शतकीय साझेदारी गरे । 

बाबरले १२७ बलमा १०१ रन बनाउने क्रममा ११ चौका प्रहार गरे । सोहेलले ७६ बलमा ५ चौका र २ छक्काको सहयोगमा ६८ रन बनाए । जितका लागि २ रन बाँकी हुँदा उनी रनआउट भएका थिए । 

बलिङतर्फ न्यूजिल्याण्डका ट्रेन्ट बोल्ट, लोकी फर्गुसन र विलियमनसनले समान १/१ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले मध्यक्रमका कोनिल डी ग्राण्डहोम र जिम्मी निसमको उत्कृष्ट प्रदर्शनमा ६ विकेट गुमाएर २३७ रनको योगफल खडा गरेको थियो । 

पाकिस्तानी किशोर तीव्र गतिका बलर शाहीन अफ्रिदीले उत्कृष्ट बलिङ गरी सुरुवाती ३ विकेट लिएपछि न्यूजिल्याण्डको पारी सुरुमै लडखडाएको थियो । 

मोहम्मद आमिर र सदाव खानले एक एक विकेट लिँदा न्यूजिल्याण्ड ८३-५ को कठिन स्थितिमा पुगेको थियो । तर, निसम र ग्राण्डहोमले छैटौं विकेटका लागि १ सय ३२ रनको साझेदारी गरेपछि न्यूजिल्याण्डले सम्मानित योगफल बनाएको हो । 

निसमले अन्तिम बलमा छक्का प्रहार गरी ११२ बलमा ५ चौका र ३ छक्काको सहयोगमा अविजित ९७ रन जोडे । निसमको यो करिअरकै उत्कृष्ट प्रदर्शन हो । ६४ रन जोडेका ग्राण्डहोमले ७१ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।
 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया