विश्वकप क्रिकेट : श्रीलंकाको सेमिफाइनल पुग्ने झिनो सम्भावना

 असार १७, २०७६ मंगलबार ६:४३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

सेमिफाइनलमा पुग्ने झिनो गणीतीय सम्भावना कायम राख्दै श्रीलंकाले एकदिवसीय विश्वकप अन्तर्गत लिग चरणको खेलमा यसअघि नै सेमिफाइनल दौडबाट बाहिरिइसकेको वेष्ट इण्डिजलाई २३ रनले पराजित गरेको छ ।

३ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय १५ रन बनायो । उसका शीर्ष क्रमका ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्नै सकेनन् । सुनिल एम्ब्रिस ५ रन बनाएर लसिथ मालिंगाको बलमा आउट भएसँगै क्यालेबियन

टोलीको विकेट पतन सुरु भएको हो । त्यसपछि आएका साइ होपले पनि ५ रनमात्र बनाउन सकेन । तेस्रो विकेटका रुपमा क्रिश गेल ३५ र चौथो विकेटका रुपमा सिमरन हेटमायर २९ रनको व्यक्तिगत स्कोरमा आउट हुँदा वेष्ट इण्डिजको स्कोेर ८४/४ थियो ।

पाँचौं विकेटका लागि निकोलस पुरन र कप्तान जेसन होल्डरले ६१ रनको साझेदारी गरेपछि इनिङ उकासिएको थियो । होल्डर २६ रन बनाएर आउट भएपछि आएका कार्लोस ब्रेथवेइट पनि ८ रनमा दुर्भाग्यबस रनआउटको शिकार हुन पुगे ।

पुरनले सातौँ विकेटका लागि फावियन एलनसँग मिलेर अर्को ८४ रनको साझेदारी गरे । एलनले विष्फोटक पारी खेल्दै ३२ बलमा ५१ रन प्रहार गरे ।

सन् २०१७ को डिसेम्बरपछि पहिलोपल्ट बलिङ गरेका श्रीलंकाका पूर्व कप्तान एन्जेलो मेथ्युजले ४८ औं ओभरमा आफ्नो स्पेलको पहिलो बलमै पुरनलाई ११८ रनमा आउट गरेपछि वेष्ट इण्डिजको सम्भावना सकियो । पुरनले १०३ बलमा ११ चौका र ४ छक्का प्रहार गरे ।

बलिङमा मालिंगाले ३ विकेट लिए । उनले १० ओभरमा ५५ रन खर्चिए । वेष्ट इण्डिजका दुई ब्याट्सम्यान रनआउट भएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३३८ रन बनाएको थियो । श्रीलंकाले मजबुत सुरुवात गरेको थियो । कप्तान दिमुथ करुनारत्ने र कुशल परेराले ९३ रनको साझेदारी गरेका थिए । ३२ रन बनाएका करुनारत्नेलाई १५.२ ओभरमा वेस्टइण्डिजका ज्यासन होल्डरले विकेटकिपर साइ होपको हातबाट क्याच आउट गराए ।

आक्रामक पारी खेलेका परेरा ६४ रन बनाएर रन आउट भए । त्यतिबेला श्रीलंकाको स्कोर बोर्डमा १०४ रन पुगेको थियो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अभिष्का फर्नान्डोले शतक प्रहार गरे । शेल्डन कोट्रेलको बलमा आउट हुनुअघि उनले १०३ बलमा १०४ रन प्रहार गरे ।

चौथो नम्बरका ब्याट्सम्यान कुशल मेन्डिस ३९ रन बनाएर फावियन एलेनले कट एण्ड बोल्ड गर्दै पेभेलियन पठाए । मेन्डिस आउट हुँदा श्रीलंकाले ३१.५ ओभरमा ३ विकेट गुमाएर १८९ रन बनाएको थियो । चौथो विकेटको रुपमा एन्जेलो म्याथ्युजलाई श्रीलंकाले गुमायो । म्याथ्युज २६ रन बनाएर आउट भएका हुन् । लिहरु थिरमानेले नट आउट ४५ रन बनाए ।

वेस्टइण्डिजका लागि जेशन होल्डरले २ विकेट लिँदा फाबियन एलियन, ओटाने थोमस र सेल्डन कोल्ट्रेलले एक एक विकेट हात पारे ।
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया