विश्वकप क्रिकेट : पहिलो सेमिफाइनलमा भारत र न्यूजिल्याण्डबीच प्रतिस्पर्धा

 असार २४, २०७६ मंगलबार ७:११:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

पाँच साताभन्दा लामो उत्साहपूर्ण लिग चरणपछि आईसीसी एकदिवशीय विश्वकप क्रिकेट निर्णायक चरणमा प्रवेश गरेको छ । जसअनुसार भारत र न्यूजिल्याण्डले पहिलो सेमिफाइनलमा मंगलबार प्रतिस्पर्धा गर्दैछन् ।

यो खेल म्यानचेस्टरको वर्ल्ड ट्राफोटमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । इन्ज्यूरीका कारण केही समस्या झेल्नु परे पनि भारतीय टिमले लिग चरणमा आफूले खेलेका ८ मध्ये ७ खेलमा जित निकालेर अकतालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । 

भारतीय शीर्ष ब्याट्सम्यान रोहित शर्माले जारी विश्वकपमा ५ शतक प्रहार गरी एकै विश्वकपमा सर्बाधिक शतकको कीर्तिमान राखेका छन् । एकै विश्वकपमा सर्बाधिक रन बटुल्ने भारतीय ब्याट्सम्यान सचिन तेन्दुल्करको ६७३ रनको कीर्तिमानबाट उनी मात्र २६ रनले टाढा छन् । 

भारतीय ओपनिङमा रोहितको जोडी लोकेस राहुलले पनि पछिल्ला २ खेलमा क्रमश: ७७ र १११ रन बटुलेका छन् । 

जसप्रित बुमराहको नेतृत्वमा रहेको भारतीय बलिङ आक्रमण पनि उत्तिकै प्रभावशाली छ । बुमराह आफैँ एकरुपको बलिङ गरिरहेका छन् । कप्तान विराट कोहलीले सेमिफाइनलजस्तो महत्वपूर्ण खेलका लागि बलरहरुको सन्तुलन मिलाउन प्रयासरत छन् । 

सन् २०१५ को उपविजेता न्यूजिल्याण्डले जारी विश्वकपमा मिश्रित प्रदर्शन गरेको छ । बलरहरुको सानदार प्रदर्शन र ब्याटिङमा कप्तान केन विलियमसनको दूरदर्शी नेतृत्वका कारण उसले सुरुवाती ६ मध्ये ५ खेलमा जित हासिल गरेको थियो । जसमध्ये भारतसँगको खेल वर्षाका कारण रद्ध भएको थियो । 

तर पछिल्ला ३ खेलमा लगातार पराजयका बाबजुद उसले अंक तालिकाको चौथो स्थानमा रहेर सेमिफाइनल प्रवेश निश्चित गरेको हो । पाकिस्तानसँग समान ११ अंक भएपछि नेट रनरेटमा न्यूजिल्याण्डको भाग्य चम्किएको हो । 

न्यूजिल्याण्डले बलियो प्रदर्शनको अपेक्षा गर्ने हो भने उसका ओपनर मार्टिन गुप्टिलको लय अत्यावश्यक छ । उनी श्रीलंकाविरुद्धको पहिलो खेलबाहेक अन्यमा एकरुपको प्रदर्शन गर्न असमर्थ छन् । 

पछिल्ला नतिजा र टिमको सन्तुलनतालाई हेर्ने हो भने भारत यस खेलमा बलियो हुनेछ । तर केन विलियमसनको नेतृत्व नै यस्तो छ कि जित कतिबेला निस्कन्छ, स्वयम् न्यूजिल्याण्डका खेलाडीलाई पनि पत्तो हुँदैन ।

म्यानचेस्टरमा मंगलबार दिनभर बदली हुने पूर्वानुमान छ । सायद वर्षा पनि हुनसक्छ । ओल्ड ट्राफोटमा खेलिएको पछिल्लो पाँचै खेल सुरुवाती ब्याटिङ गर्ने टिमले जितेको छ । सायद मंगलबार दुवै कप्तान टस जितेर ब्याटिङ रोज्ने योजनामा हुनेछन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया