स्पेन पठाउने भन्दै आफ्नै मान्छेसँग २० लाख लिएर फरार, ६ जनाले दिए श्रममा उजुरी

 साउन १३, २०७६ सोमबार २०:४३:४३ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – स्पेन पठाउने भन्दै एउटै परिवार भत्रका नाता सम्बन्ध पर्ने एक व्यक्तिले ६ जना व्यक्तिसँग मोटो रकम लिएर ठगी गरेका छन् ।

आफ्नै परिवारका सदस्यबाट २० लाख १८ हजार पाँच सय रुपैयाँ पैसा असुलेर विराटनगरका  एक युवा फरार भएका हुन् ।

विराटनगरको पिचरा घर भई सुनसरीको इटहरीस्थित कान्छी चोकमा बस्दै आएका २४ वर्षीय रोशन श्रेष्ठ गैली वैदेशिक रोजगारीका लागि स्पेन पठाइदिने भन्दै पैसा उठाएर फरार  भएका हुन् । उनी एक वर्षदेखि सम्पर्कविहीन भएका छन्  । गैलीविरुद्ध सोमबार श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी परेको छ ।

ठगी गरेको पुष्टि भएपछि कार्यालयले गैलीलाई पक्राउ गर्न पूर्जी जारी गर्दै प्रहरी र अन्य सरकारी निकायमा पठाएको छ ।  उनले झापा बुद्धशान्ति गाउँपालिका–३ का हेमबहादुर माझी, टेकबहादुर माझी, विनोद माझी, अरुण माझी, झापा भद्रपुर नगरपालिका–३ की सीमा तामाङ र इलाम करफोकका अदित तामाङसँग पैसा उठाएका हुन् । पीडितहरुले ठगी गरेको पर्याप्त प्रमाणसहित उजुरी दिएको र ठगी गरेको पुष्टि पनि भएको वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले बताउनुभयो ।

‘उजुरी परेपछि अनुसन्धान थालिएको छ’, सञ्जेलले भन्नुभयो, ‘गैलीका नाममा पक्राउ पूर्जी जारी गर्दै देशभरिका प्रहरी कार्यालय र विभिन्न सरकारी निकायमा पठाइसकिएको छ ।’ भागेर विदेश जान सक्ने सम्भावनालाई ध्यानमा राख्दै त्यसतर्फ पनि रोक लगाइएको सञ्जेलको भनाइ छ ।

झापा बुद्धशान्तिका लोकबहादुर माझीले पीडितहरु सबै आफ्ना भतिज, नाति र नातिनी पर्ने बताउनुभयो । श्रम कार्यालयमा भेटिएका उनले आफू धेरै वर्ष स्पेन बसेको र त्यहाँबाट ६ जनाका लागि भिसा लिएर आएको भन्दै छलेर र प्रलोभनमा पारेर गैलीले ठगी गरेको बताउनुभयो । उहाँका अनुसार सबैलाई बैंक र आईएमईमार्फत रकम जम्मा गर्न लगाइएको थियो ।

दुई महिनाभित्रमा विदेश पठाउने भन्दै २०७५ साउनमा सबैसँग गैलीले पैसा लिएको लोकबहादुरले बताउनुभयो ।

आधा पैसा यहीँ र आधा स्पेन पुगेर काममा लागेपछि दिनु भन्दै एक जनासँग लगभग साढे तीन लाख रुपैयाँ उठाएको लोकबहादुरको भनाइ छ । गैलीले स्पेन जानलाई एक जना बराबर सात लाख रुपैयाँ लाग्ने बताएको पीडितले श्रममा दिएको उजुरीमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया