रंगेलीमा सामूहिक बलात्कारको घटना मिलापत्र गराउने सात जना पक्राउ

 साउन २४, २०७६ शुक्रबार १८:५७:४९ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – हाम्रो समाजमा अहिले पनि जघन्य अपराधलाई लेनदेन अर्थात पैसाको बलमा उन्मुक्ति दिने काम अझै रोकिएको छैन ।

पछिल्लो पटक रंगेली नगरपालिकामा भएको एउटा घटनाले त्यही कुरालाई पुष्टि गरेको छ ।  तर यसरी घटनामा संलग्न व्यक्तिलाई भने प्रहरीले पक्राउ गरी कानुनी दायरामा ल्याएको छ ।

मोरङको रंगेली नगरपालिका–९, मा गएको असार २० गते भएको बलात्कारको घटनालाई गाउँमै मिलाउने ७ जनालाई रंगेली प्रहरीले पक्राउ गरेकोे हो ।

यस्तो थियो घटना

गएको असार २० गते  रंगेलीकी एक किशोरीमाथि गाउँका ३ युवाले सामूहिक बलात्कार गरे । घटनाको बारेमा किशोरीले परिवारलाई सबै कुरा सुनाइन्  ।

त्यसबारेमा जानकारी पाएका पीडित परिवार गाउँका ठूलाबडाकोमा गएर घटना प्रहरी कार्यालयमा लैजानु पर्छ भन्ने पक्षमा थिए, तर भैदियो अर्कै । आर्थिक अवस्था अत्यन्त कमजोर रहेका ती परिवारलाई आर्थिक प्रलोभन देखाइयो । अनि घटना मिलाउन खोेजियो । किशोरीलाई पैसाको कागज गरी घटना मिलाउन  गाउँमै मिलापत्र भयो । घटना गुपचुपमा नै राख्न खोजियो । तर गाउँमा एकपछि अर्को गर्दै कुरा बाहिर आयो । यो कुरा प्रहरी कार्यालयसम्म पुग्यो ।

प्रहरी कार्यालयमा घटनाको बारेमा जानाकारी भएपछि प्रहरीले पीडितका आफन्तसँग सबै जानकारी लिएर घटनामा संलग्न व्यक्तिहरुको खोजी सुरु गरेको थियो । प्रहरीको खोजीको क्रममा रंगेली नगरपालिका–९, का अभिनय बजगाईं, दिलिपकुमार मुर्मु, सुभाष राजवंशी, रामबहादुर राजवंशी, हेमलाल राजवंशी, शेखर गौतम र चित्रसेन राजवंशीलाई घटना मिलापत्र गराएको आरोपमा बिहीबार पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई बलात्कार जस्तो जघन्य अपराध मिलापत्र गराएको भन्दै शुक्रबार इलाका प्रहरी कार्यालय रंगेलीले सार्वजनिक गरेको हो ।

कानुनको हात लामो हुन्छ भने झैँ समाजका सचेत नागरिकले प्रहरीमा ढिलै भए पनि जानकारी गराएपछि उनीहरु पक्राउ पर्न सफल भएको प्रहरीले जनाएको छ । किशोरीलाई सामूहिक रूपमा जबरजस्ती करणी गर्ने रंगेली नगरपालिका–९, सखुवाथानका २५ वर्षीय रोमन मगर र २४ वर्षीय प्रिन्स अधिकारीलाई पक्राउ गरी आवश्यक कारबाही समेत अगाडि बढाइसकिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिनुभयो ।

सामूहिक बलात्कारमा संलग्नको म्याद थप गरिएको र घटना मिलापत्र गराउने व्यक्तिको हकमा समेत अनुसन्धान भैरहेको दाहालले बताउनुभयो । घटनामा संलग्न गणेशप्रसाद दहाल, रेवतबहादुर काफ्ले र चेतबहादुर मगर भने फरार रहेकोले उनीहरुको खोजी भैरहेको प्रहरी निरीक्षक दाहालले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया