अन्त्येष्टिका लागि घाटमा लगिएको बच्चा चलेपछि अस्पताल फर्काइयो

 साउन २६, २०७६ आइतबार १२:४:८ | राधेश्याम खतिवडा
unn.prixa.net

फाइल फाेटाे

चितवन –  अस्पतालमा एक महिलाले जुम्ल्याहा शिशु जन्माउनुभयो । जन्मेका शिशुमध्ये एउटाको मृत्यु भएको र अर्को जीवित रहेको अवस्थामा अस्पतालले घर पठायो । अस्पतालबाट घरपुगेपछि जीवित रहेको शिशुको पनि मृत्यु भएको भनि अन्त्येष्टिका लागि देवघाट लगियो ।

देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चलमलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले पोस्टमर्टमका लागि भरतपुर अस्पताल ल्याएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पश्चिम चितवनको चनौलीकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुको जन्म दिनुभएको थियो । गर्भ रहेको सात महिनाको समयमा जुम्ल्याहा शिशुको जन्म भएको थियो ।

जिल्ला प्रहरी कार्यालय प्रमुख दानबहादुर मल्लले जन्मिएका शिशुमध्ये एक जनाको मृत्यु भएको र अर्को एक जीवित रहेको अवस्थामा अस्पतालले घर पठाएको तर घर पुगेपछि अर्को शिशु पनि मृत्यु भयो भन्दै अन्त्येष्टिका लागि देवघाट लगिएको जानकारी प्राप्त भएको बताउनुभयो ।

अन्त्येष्टिको लागि खाल्टोमा राख्ने क्रममा एउटा शिशु चल्मलाएपछि अस्पताल फर्काइएको जानकारी दिनुभयो । घटना शंकास्पद देखिएपछि उत्खनन गरी अर्को शिशुको शव पनि पोस्टमार्टमका लागि ल्याइएको बताउनुभयो ।

जन्मिएका दुईमध्ये ठूलो १ किलो २ सय ग्रामको शिशुको निधन भएको हो भने ८ सय ग्रामको शिशु जीवित रहेको मल्लले बताउनुभयो । बिहीबार बच्चा जन्मिएका थिए भने अन्त्येष्टिको घटना शुक्रबार भएको हो ।

अस्पताल फर्काइएको शिशुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको जानकारी दिँदै उहाँले  घटना शंकास्पद देखिएपछि परिवारका तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको बताउनुभयो ।

पक्राउ परेकाहरु शिशुका बुबा, फुपू दिदी र थप एक व्यक्ति रहेका छन् । प्रहरीले पक्राउ पर्नेहरुको नाम सार्वजनिक गरेको छैन । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया