पत्रकार पुडासैनी आत्महत्या प्रकरण : पाँच लाख धराैटी बुझेर रवि लामिछानेलाई रिहा गर्न अदालतकाे आदेश

 भदौ ९, २०७६ सोमबार १८:२१:११ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धानका क्रममा रहेका सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेललाई धरौटीमा छाड्न  अदालतले आदेश दिएको छ भने अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएकाे छ । 

जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको एकल इजलासले लामिछानेलाई पाँच लाख र कँडेललाई तीन लाख रुपैयाँ धराैटीमा रिहा गर्न आदेश दिएकाे हाे । अस्मिता कार्कीलाई भने साधारण तारेखमा रिहा गर्ने  अदालतले आदेश दिएकाे छ । 

आत्महत्या दुरुत्साहन कसुरको मुद्दामा सोमबार जिल्ला अदालत चितवनमा रवि लामिछानेसहित तीनैजनाको बयान लिइएको थियो ।

आइतबार अस्मिता कार्कीको बयान लिइएको थियो । सोमबार रवि लामिछाने र युवराज कँडेलको बयान लिइएको हो । बयान सकिएपछि सरकारी वकिलको मागको पक्ष र विपक्षमा थुनछेक बहस भएको थियो । प्रतिवादी रवि लामिछाने र युवराज कँडेलको तर्फबाट ८ जना अधिवक्ता तथा अस्मिता कार्कीको तर्फबाट ७ जना अधिवक्ताले बहस गरेका थिए । त्यस्तै वादीतर्फबाट ६ जना अधिवक्ताले बहस गरेका थिए ।

पत्रकार पुडासैनी गएको साउन २० गते चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

आत्महत्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियो बाहिरिएपछि साउन ३० गते तीनै जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले १० दिन लगाएर अनुसन्धान गरेपछि आइतबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयले आइतबार नै अदालतमा आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेसँगै अदालतले पक्राउ परेकाहरुको बयान लिन सुरु गरेको थियो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

1 Comments

  • Khadga Bahadur Rai

    Aug. 26, 2019, 6:34 p.m.

    Congratulations Rabi ji.

  •  0 Reply

तपाईको प्रतिक्रिया