अरुण जीप दुर्घटना : बेपत्ता भएका ६ जना नभेटिएपछि कुशको शव बनाएर गरियो दाहसंस्कार

 असोज ६, २०७६ सोमबार १८:४८:१४ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – गएको भदौ ३१ गते राति अरुण नदीमा जीप खसेपछि बेपत्ता भएका ६ जना नभेटिएपछि सोमबार आफन्तहरुले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् । 

सोमबार खाँदबारी नगरपालिका–९ को मनकामनामा रहेको अरुण नदीको किनारमा कुशबाट शवको आकार बनाएर अन्त्येष्टि गरिएको दुर्घटनामा बेपत्ता हुनुभएका प्रमेशका आफन्त रोशन थापा मगरले बताउनुभयो । 

उहाँले बेपत्ता भएको पाँच दिनसम्म बेपत्ता भएकाहरुको केही पत्ता लगाउन नसकेपछि सोमबारदेखि सबैले आ–आफ्ना तरिकाले बेपत्ताको अन्त्येष्टि गर्ने र त्यहीअनुसार काजकिरिया गर्ने सल्लाह भएको जानकारी दिनुभयो । 

‘हामी अब उनीहरु जीवित छैनन् भन्ने निष्कर्षमा पुगेका छौँ । त्यहीअनुसार १२ दिन काजकिरिया गर्छाैँ’, रोशनले भन्नुभयो, ‘बेपत्ता भएको दिनदेखि नै गणना हुन्छ । आजदेखि छापाटालो हालेर किरियापुत्री बस्ने काम सुरु भयो । खोजी गर्दागर्दै पाँच दिन बितिसक्यो । अब सात दिन गरेर १२ औँ दिनमा सबै आफन्त र गाउँघरका छरछिमेकी बोलाएर आ–आफ्नो तरिकाबाट अन्त्येष्टि गर्ने सल्लाह भएको छ ।’

बेपत्ता भएका ६ जना एउटै गाउँका हुन् । खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ जाँदै गर्दा धर्मदेवी नगरपालिका–८ को अक्करको भिरमा जीप दुर्घटना भएर अरुण नदीमा खसेको थियो ।

बेपत्ता हुनेमा खाँदबारी नगरपालिका–९ ढुङगेधाराका २४ वर्षीय संगम श्रेष्ठ, उहाँकै श्रीमती २३ वर्षीय सदिक्षा राई श्रेष्ठ र दुई महिनाको छोरा समिर श्रेष्ठ, २४ वर्षीय प्रमेश थापामगर, २९ वर्षीय खबरमान पिठाकोटी र खाँदबारी–९ घर भएका बुलेरो जीपका चालक २५ वर्षीय सन्तोष विश्वकर्मा रहेका छन् । 

प्रमेशका भिनाजु खबरमानको घर खोटाङ जिल्ला मास्तीम भन्ने ठाउँ भए पनि उहाँ लामो समयदेखि खाँदबारी नगरपालिका–९ ढुङगेधारामा रहेको ससुरालीमा बस्दै आउनु भएको थियो । मृगौलाका बिरामी प्रमेश र दुई महिनाका बालक समिर श्रेष्ठ निमोनियाको बिरामी भएपछि अस्पतालमा भर्ना भएका थिए । 

उनीहरु दुवै जनालाई खाँदबारी अस्पतालका चिकित्सकले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरेका थिए । बिरामी बोकेर खाँदबारीबाट झण्डै बेलुकीको साढे आठ बजे धरानतर्फ हिँडेको को १ ज ३७४९ नम्बरको बोलेरो जीप अक्करको भिरमा रातको पौने ११ बजे दुर्घटनाग्रस्त भएको थियो ।     

बेपत्ता भएकाहरुको बुधबार स्थानीय र प्रहरीको सहयोगमा खोजी गरे पनि नभेटिएपछि काठमाण्डौबाट तालिम प्राप्त गोताखोर टोली बोलाइएको थियो । गोताखोर टोलीले शनिबारसम्म तीन दिन खोजी गर्दासमेत जीप र यात्रु नभेटिएपछि आइतबार टोली काठमाण्डौ फर्किएको थियो । 

सम्बन्धित समाचार

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया