सोलुखुम्बुमा भालुको बिगबिगी बढेसँगै जनजीवन कष्टकर, तीन महिनामा चार जना घाइते

 असोज ११, २०७६ शनिबार १४:२७:३७ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुको माथिल्लो क्षेत्रमा भालुको बिगबिगी बढेको छ । भालुको बिगबिगी बढेसँगै स्थानीयको दैनिकीसमेत कष्टकर बन्ने गरेको छ । 

मकै पाक्ने सिजनमा भालुको त्रासका कारण दैनिक काम तथा साँझ र बिहान हिँडडुल गर्नसमेत समस्या भएको स्थानीय मिङमार शेर्पाले बताउनुभयो । भालुको आक्रमणबाट यो आर्थिक वर्षको तीन महिनामा चार जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा सोलुदूधकुण्ड नगरपालिका–३ लोदिङका ४२ वर्षीय माया शेर्पा, माप्यदुधकोशी गाउँपालिका–३ का ६६ वर्षीय धिरेन्द्र राई, महाकुलुङ गाउँपालिका–३ का ३१ वर्षीय सुजन कुलुङ र सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुका ७५ वर्षीय पासङ शेर्पा रहेका छन् । घाइते चारै जना अहिले पनि उपचारकै क्रममा रहेको आफन्तले बताएका छन् ।   

गएको वर्ष भालुको आक्रमणबाट घाइते भएका नौ जनालाई डिभिजन वन कार्यालय सोलुखुम्बुले राहत रकम वितरण गरेको थियो । भालुले सताउन थालेपछि यहाँका स्थानीयले मार्न पाउनुपर्ने या सुरक्षाको ग्यारेण्टी हुनुपर्ने मागसमेत राख्दै आएका छन् । जिल्ला प्रशासन कार्यालय र नगरपालिकामा पनि लिखित रूपमा निवेदन दिँदै भालु नियन्त्रणका लागि स्थानीयले माग गरेका छन् । 

अन्नबाली सखाप पारिदिनुका साथै मानिसलाई समेत आक्रमण गरे पनि सुरक्षा नभएको गार्माका चन्द्रमाण श्रेष्ठले बताउनुभयो । सामुदायिक वन हुँदै जिल्ला वन डिभिजन, जनप्रतिनिधि तथा प्रशासनलाई समेत किसानले भालु नियन्त्रणका लागि लिखितरुपमा आग्रह गरेका छन् ।

तर वन ऐनअनुसार वन्यजन्तुलाई कुनै पनि बहानामा मार्न पाइँदैन । त्यसैले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका दोस्रो संशोधन, २०७४ अनुसार वन्यजन्तुले आक्रमण गरी सामान्य घाइते बनाएमा २० हजार रुपैयाँसम्म, सख्त घाइते बनाएमा दुई लाख रुपैयाँसम्म र ज्यान गएमा मृतकको हकवालालाई  १० लाख रुपैयाँसम्म राहत उपलब्ध गराउने प्रावधान छ । तर स्थानीयले भने क्षतिपूर्तिभन्दा भन्दा भालु नियन्त्रण नै गर्नुपर्ने माग राखेका छन् ।

सोलुखुम्बुको कुल क्षेत्रफलमध्ये एक लाख पाँच हजार तीन सय ३० हेक्टर क्षेत्रफल जंगलले ढाकेको छ । ४५ हजार ३ सय ५८ हेक्टर कृषियोग्य जमिन रहे पनि ४० हजार ६ सय ३१ हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको तथ्याङ्कले देखाउँछ । खेती गरिएको भन्दा दोब्बर जमिन जंगलले ढाकेका कारण बालीनालीमा वन्यजन्तुले क्षति पुर्याउने क्रम बढेको अधिकारीहरु बताउँछन् । 

अर्कोतिर सामुदायिक वनहरुले संरक्षणलाई मात्र ध्यान दिएका कारण वन्यजन्तुहरुको संख्या बढेको र यसको असर प्रत्यक्ष देखिन थालेको किसानहरुले बताएका छन् । सामुदायिक वनहरुले वार्षिकरुपमा वन कार्ययोजना तयार गरी काटँछाँट र संरक्षण दुवै कार्यलाई प्राथमिकता दिनुपर्ने उनीहरुको माग छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया