लाप्राक नमुना बस्ती हस्तान्तरणको अन्तिम तयारी

 कात्तिक २१, २०७६ बिहिबार ९:२३:२८ | किरण लोहनी
unn.prixa.net

गोरखा – लाप्राकको गुप्सीपाखामा बन्दै गरेको एकीकृत नमुना बस्तीका घर लाभग्राहीलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको छ । लाभग्राही छनोट गरी जग्गाको लालपूर्जासहित घर हस्तान्तरणको लागि अन्तिम चरणको काम सुरु भएको हो ।

५ सय ७३ लाभग्राहीका लागि घर निर्माण गरिए पनि अहिले लाभग्राहीको संख्या हेरफेर भएको हुन सक्ने भएकाले अन्तिम छनोट थालिएको हो । अन्तिम लाभग्राही छनोटको काम धार्चे गाउँपालिकाले गरिरहेको छ । ‘त्यसका लागि धार्चे–४ का वडाध्यक्ष राज गुरुङको संयोजकत्वमा समिति बनाइएको छ’ गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले भन्नुभयो, ‘यो समितिले कात्तिक २३ गतेसम्ममा अन्तिम लाभग्राहीको टुंगो लगाउँछ ।’ बस्ती निर्माण सुरु गर्दा कायम भएका लाभग्राहीको संख्या अहिले थपघट भएको हुन सक्ने भएकाले फेरि लाभग्राही यकिन गर्नुपरेको अध्यक्ष गुरुङले बताउनुभयो ।

अन्यत्र घरजग्गा नभएकालाई मात्रै अब लाभग्राहीको सूचीमा राखिनेछ । वास्तविक लाभग्राही यकिन भैसकेपछि उनीहरुको नाममा लालपूर्जा बनाउने काम सुरु हुने पुनर्निर्माण प्राधिकरण अन्तर्गतको अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाई गोरखाका प्रमुख रामशरण आचार्यले बताउनुभयो ।  ‘लालपूर्जा हस्तान्तरणका लागि जग्गा कित्ताकाटको काम अन्तिम चरणमा पुगिसकेको छ, फिल्डको काम सकेर अहिले ‘टेवल वर्क’ भैरहेको छ’ उहाँले भन्नुभयो, ‘ब्यक्तिगतसहित स्वास्थ्य चौकी, विद्यालयको जग्गाको पनि कित्ताकाटको काम भैरहेको छ ।’ हरेक लाभग्राहीले ३ आना दुई पैसा जग्गाको लालपूर्जा पाउने छन् ।

लालपूर्जा पाए पनि उनीहरुले १० वर्षसम्म घरजग्गा बिक्री गर्न भने पाउने छैनन् । परिवारमा स्वत हस्तान्तरण हुने बाहेक घरजग्गा बिक्री गर्न नपाइने इकाईका प्रमुख आचार्यले जानकारी दिनुभयो ।  धार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राकको गुप्सीपाखाको १८ दशमलव ३२ हेक्टर क्षेत्रफल जग्गामा लाप्राकका भूकम्पपीडितहरुका लागि घर निर्माण भइरहेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बस्ती निर्माण थालेको हो । ५ सय ७३ जनाका लागि त्यतिनै संख्यामा घर निर्माण गरिएको छ । अहिले घरको शौचालय निर्माणको काम भैरहेको छ । त्यसपछि माथिल्लो तल्लामा काठ राख्ने काम सकिएपछि घर हस्तान्तरण गर्ने एनआरएनएको तयारी छ । घर निर्माण बाहेक बस्ती आसपासको बाटो, सिँढी र नाला निर्माणलगायतको काम धार्चे गाउँपालिकाले गर्नेछ । त्यसको लागत भने गैरआवासीय नेपाली संघले नै गर्ने गरी सम्झौता भएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताउनुभयो । संघका नवनिर्वाचित अध्यक्ष कुमार पन्तले अबको दुई महिनाभित्र घर निर्माण पूरा गरी हस्तान्तरण गर्ने बताउनुभयो ।   

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया