मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरणको छापा: कारबाही प्रक्रिया सुरु

 मंसिर १, २०७६ आइतबार २०:३:४२ | विष्णु विश्वकर्मा
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय सतर्कता केन्द्रको छानबिन प्रतिवेदन पाएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले निजी मेडिकल कलेजमाथि अनुसन्धान सुरु गरेको छ ।

विभागले आइतबार चितवन मेडिकल कलेज, मोरङ विराटनगरको नोबल मेडिकल कलेज  र पर्सा विरगञ्जको नेशनल मेडिकल कलेजमा छापा मारेर अनुसन्धान शुरु गरेको हो ।

‘सतर्कता केन्द्रको प्रतिवेदन पाएपछि हामीले सूक्ष्म अनुसन्धान शुरु गरेका थियौ’ सम्पति शुद्धिकरण तथा अनुसन्धान विभागका एक अधिकारीले उज्यालोसँग भने, ‘आज स्थलगत रुपमै केही कागजात लिएर विस्तृत अनुसन्धान सुरु गरेका छौँ ।’

सतर्कता केन्द्रले केही दिनअघि निजी मेडिकल कलेजले विद्यार्थीबाट दुई लाखदेखि २५ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क लिएर ठगी गरेको प्रतिवेदन सरकारलाई बुझाएको थियो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, शिक्षा मन्त्रालय र सम्पति शुद्धिकरण तथा अनुसन्धान विभागलाई पठाइएको केन्द्रको प्रतिवेदनमा विभिन्न १२ मेडिकल कलेजले विद्यार्थीसँग झण्डै तीन अर्ब रुपैयाँ अतिरिक्त शुल्क लिएर ठगी गरेको उल्लेख छ । 

सतर्कता केन्द्रको प्रतिवेदनले निजी मेडिकल कलेजले ठगी गरेको पाइएपछि नै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले १५ दिनभित्रमा अतिरिक्त शुल्क फिर्ता गर्न र नगरे ठगी मुद्दामा कारबाही गर्ने मेडिकल कलेज सञ्चालकलाई चेतावनी दिनुभएको थियो ।

विभागले छापा मारेकामध्ये विराटनगरको नोबेल मेडिकल कलेजले पछिल्लो तीन वर्षमा ३५ करोड ४७ लाख ४४ हजार १ सय १८ रुपैयाँ अतिरिक्त शुल्क उठाएको छ । सुनिल शर्मा सञ्चालक रहेकाे यस कलेजमा पटक पटक विवाद र आन्दोलन हुदै आएको थियो ।

यस्तै मेडिकल कलेजका ‘माफिया’का रुपमा परिचित बसरुद्दिन अन्सारीले सञ्चालन गरेको वीरगञ्जको नेश्नल मेडिकल कलेजले विद्यार्थीबाट ३२ करोड ५५ लाख रुपैयाँ असुलेको सतर्कता केन्द्रको प्रतिवेदनमा उल्लेख छ । 

यस्तै चितवन मेडिकल कलेजले पनि लाखौँ रुपैयाँ अतिरिक्त शुल्क उठाएको भन्दै काठमाण्डौसम्म आएर विद्यार्थीले प्रदर्शन गरेका थिए । गएको महिना विद्यार्थीले कलेजमा तालाबन्दी गरेर सडक प्रदर्शन गरे पनि कलेज सञ्चालकले शुल्क फिर्ता गरेका थिएनन् ।

चितवन मेडिकल कलेजका सञ्चालक हरिश न्यौपाने आफूहरुले सरकारले भनेरै अतिरिक्त शुल्क लिएको दावी गर्नुभएकाे थियाे । अतिरिक्त शुल्क नदिएको भैरहवाको युनिभर्सल कलेजमा विद्यार्थीले तालाबन्दी गरेर रिले अनसन थालेका छन् ।

मेडिकल कलेजमाथि कारबाही सुरु !

शुद्धिकरण विभागको छापासँगै सरकारले निजी मेडिकल कलेजमाथि कारबाही सुरु गरेको छ । अल्टिमेटम दिएको एक हप्तासम्म पनि अतिरिक्त शुल्क फिर्ता गर्ने कुनै सुरसार नगरेका मेडिकल कलेजमाथि सरकारले प्रत्यक्ष रुपमा कारबाही सुरु गरेको हो ।

‘हामीले शुल्क फिर्ता नगर्ने मेडिकल कलेजमाथि ठगी मुद्दा चलाएर कारबाही गर्छौँ भनेकै छौँ । त्यसअघि नै सम्पति शुद्धिकरण विभागले अनुसन्धान सुरु गर्नु पनि कारबाही नै हो’, शिक्षा मन्त्रालयका एक सहसचिवले भने, ‘अबको एक हप्तामा शुल्क फिर्ता नगरे जिल्ला प्रशासन कार्यालयमार्फत पनि ठगी मुद्दामा कारबाही सुरु हुन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अतिरिक्त शुल्क लिने निजी मेडिकल कलेजमाथि कारबाही हुने स्पष्ट पार्नुभएको छ । आइतबार काठमाडौँमा भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले निजी मेडिकल कलेजले बर्षौदेखि विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको भन्दै अब त्यस्ता मेडिकल कलेजलाई कारबाही हुने स्पष्ट पार्नुभएको हो ।

प्रधानमन्त्रीको बोलीपछि मेडिकल कलेजमाथि कारबाही प्रक्रिया अगाडी बढ्ने निश्चित भएको शिक्षा मन्त्रालयका ती सहसचिवको भनाइ छ ।

‘हिजोसम्म सत्ताको आडमा अझ प्रधानमन्त्री शिक्षामन्त्रीकै दबाबमा निजी मेडिकल कलेजमाथि कारबाही भएन भनिन्थ्यो’ ती सहसचिवले भने, ‘अब प्रधानमन्त्रीले पनि मुख खोल्नुभयो । शिक्षामन्त्रीले यसअघि नै भनिसक्नु भयो । अब ठगी गर्ने मेडिकल कलेजमाथि कारबाही प्रक्रिया रोकिँदैन ।’

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया