नेपाल फर्कनै लाग्दा यूएईमा अस्ताइन् शुकमाया

 मंसिर २३, २०७६ सोमबार ९:३१:२० | उमाकान्त पाण्डे

यूएई – मंसिर १९ गते शुकमाया टमाटाको घर फर्कने टिकट थियो । झोला ठिक पार्न थालिसक्नुभएको थियो ।

१८ गते साथीसँग सामान किन्न बजार जानुभयो । बजार पुग्नेबित्तिकै उहाँ अचानक बेहोस भएर ढल्नुभयो । साथीहरुले उहाँलाई अजमान स्थित खलिफा अस्पताल पुराए ।

भन्छन् नि जिन्दगीमा अगाडिको बाटो कसले देखेको छ र ? यस्तै भयो शुकमायाको जीवनमा पनि । घर फर्कन टिकट काटेको जहाजले यूएई छाड्नुभन्दा ७ घण्टाअघि नै शुकमायाले संसार छाड्नुभयो ।

चितवन अप्तारी २ की शुकुमाया नेपालबाट यूएई फर्किएको दुई महिना मात्रै भएको थियो । नेपालबाट फर्किएकोे केही दिनमै उहाँलाई छातीमा समस्या भयो । स्वास्थ्य जाँच गर्दा मुटुमा समस्या देखियो ।

डाक्टरले शुकमायालाई सक्दो छिट्टो राम्रो उपचार गराउन सुझाए । डाक्टरको सुझाव अनुसार नै उहाँले नेपालमै उपचार गराउने योजना बनाउनुभएको थियो । तर उहाँले आफ्नो पीडा परिवारलाई भन्नुभएको थिएन ।

दुई वर्ष पहिले यूएई आउनुभएकी शुकुमायाले नेपाल फर्किने त सोच्नुभयो, तर भर्खरै नवीकरण गरेको भिसा कम्पनीले सजिलै रद्द गरेर नेपाल पठाउन सजिलो थिएन । कम्पनीका प्रतिनिधिसँग कुरा गरेपछि नेपाल फर्कन अनुमति मिल्यो ।

कम्पनीले भिसा रद्द गरिदियो र एकतर्फी टिकट पनि दियो । निको भएर आउन मन भए कम्पनीले फेरि काममा फर्किने बाटो पनि खुल्ला गरिदियो । तर कम्पनीमा फर्कने बाटोको के कुरा, घर फर्कने बाटो नै सधैंका लागि बन्द भयो ।

अस्पताल पुर्याइएकी शुकमायालाई डाक्टरले बिहीबार बिहान मृत घोषणा गरिदिए । डाक्टरका अनुसार अस्पताल पुग्दा शुकमायालाई बचाउन सकिने आशा एकदमै कम थियो ।

मुटुको गम्भीर समस्याले थलिएकी शुकमायाको हृदयघातका कारण ज्यान गएको अस्पतालले पुष्टि गरेको छ । शुकमायाका भाइ कमल टमाटा पनि यूएईमै काम गर्नुहुन्छ ।

बिहीबार बिहान दिदीको ज्यान गएको खबर कमलले साँँझ मात्रै थाहा पाउनु भयो । बिहीबार बिहान नेपाल पुग्नुपर्ने दिदीको निधन भएको खबर सुनेपछि कमल आफैं अर्धचेत अवस्थामा हुनुहुन्छ। छिमेकी दाइ मनोज बिकको साथमा कमल अस्पताल पुग्नुभयो ।

बिहीबार बिहानै घर पुग्ने तयारीमा रहेकी दिदीलाई कफनमा बेरिएको देखेका कमलका आँखा ओभाएका छैनन् । गहभरी आँसु बोकेर कमल आफ्नी दिदी शुकमायाको शव सक्दो छिट्टो नेपाल लैजान लागि पर्नुभएको छ ।

आइतबार नेपाली दूतावास आबुधाबीमा भेटिएका कमलले भन्नुभयो – ‘नेपाल गएर उपचार गराउँछु, निको भए फेरि कमाउँला भन्नुहुन्थ्यों, संसार नै छाड्नुभयो ।’ कमल राम्रोसँग बोल्न सक्ने अवस्थामा हुनुहुन्न ।

छिमेकी साथी मनोज बिकले कमललाई सहयोग गरिरहनु भएको छ । शुकमायाको शब पोस्टमार्ट पछि अहिले अजमानस्थित खलिफा अस्पतालमा राखिएको छ । शुकमायाले पाउने सेवासुविधा उपलब्ध गराउने र आवश्यक कागजात पूरा गरेर शव नेपाल फर्काउन दूतावाससँग समन्वय भइरहेको कम्पनीले जनाएको छ ।

भिसा रद्द भईसकेकोले शव नेपाल पठाउन केही समय लाग्ने भएको छ । तर सक्दो छिट्टो शव नेपाल पठाउन सहयोग गर्ने दूतावासले जनाएको छ । मृतक २३ वर्षकी शुकमायाका श्रीमान र ४ वर्षकी छोरी छन् । उहाँ सारजहाँको एक स्कुलमा सरसफाइको काम गर्नुहुन्थ्यो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया