स्याङ्जामा बजार अनुगमन : सुनमा मिसावट, विभिन्न ब्राण्डका तोरीका तेल गुणस्तरहीन

 पुस ११, २०७६ शुक्रबार १३:९:१३ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जाका सुन पसलमा मिसावट बढी रहेकाे तथा कोसेली र साधना ब्राण्डका तोरीका तेल खान योग्य नरहेको भेटिएकाे छ ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सदरमुकाम पुतलीबजारका ३ सुनचाँदी पसलबाट समेत गुणस्तर परीक्षणको लागि नमुना संकलन गरी गुणस्तर तथा नापतौल विभाग पठाएकोमा मापदण्डभन्दा बढी मिसावट गरिएको प्रमाणित भएको हो ।

सुनचाँदी पसललाई समेत प्रचलित कानुन बमोजिम कारबाहीको लागि प्रक्रिया अघि बढाइएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङले जानकारी दिनुभयो ।

त्यस्तै गण्डकी आयल मिल प्रालिबाट उत्पादित कोसेली र साधना ब्राण्डको शुद्ध तोरीको तेल गुणस्तरहीन रहेको पाइएको हो । तेलको नमूना परीक्षणको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाण्डौ पठाइएकोमा गुणस्तरहीन पाइएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताउनु भयो ।

उद्योगको उत्पादन तथा बिक्री वितरण अर्काे आदेश नभएसम्मका लागि रोक्का राख्न उद्योगको शिलबन्दीका लागि जिल्ला प्रशासन कार्यालय कास्कीलाई पत्राचार गरिएको प्रशासनले जनाएको छ । उद्योगलाई कालो बजार तथा केही सामाजिक अपराध तथा सजायँ ऐन २०३२ अन्तर्गत कारबाहीको प्रक्रिया अघि बढाइएको होे । 

त्यस्तै डीकेएस मिनरल वाटर उद्योग प्रालि कालोखोला स्याङ्जाबाट उत्पादित पिउने पानीसमेत गुणस्तरहीन पाइएकाले उद्योग शिलबन्दी गरिएको छ । हैजाको कारक मानिने कोलिफर्म जीवाणुसमेत पानीमा भएको पुष्टि भएका कारण उद्योग बुधबार शिल गरिएको प्रजिअ कुरुङबाङले बताउनुभयो । पानीको नमूनासमेत परीक्षणका लागि काठमाण्डौ पठाइएको थियो । 

अघिल्लाे महिनादेखि उपभोक्ता हीत संरक्षणको लागि बजार अनुमगन तथा निरीक्षण जिल्लामा तीव्र पारिएको छ । जिल्लाका व्यापारिक केन्द्रहरुमा हप्ताको एकपटक स्थानीय तह, उपभोक्ता संस्था, उद्योग व्यापार र मिडियाको सहभागितामा बजार अनुगमनलाई अभियानकै रुपमा अगाडि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया