मुस्ताङमा हिमपात : जोमसोम विमानस्थल अवरुद्ध, खानेपानीको धारामा पानी जम्यो

 पुस १८, २०७६ शुक्रबार १३:३३:४१ | प्रताप बानियाँ
unn.prixa.net

मुस्ताङ - हिमालपारिको जिल्ला मुस्ताङमा बिहीबार रातिदेखि हिमपात भइरहेकेा छ । मौसम बदलीसँगै बढेको चिसोका कारण रातिदेखि हिउँ पर्न सुरु गरेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । अहिले पनि मुस्ताङमा हिमपात भइरहेको छ । 

मुस्ताङको थासाङ गाउँपालिकाको लेतेदेखि माथि सबै क्षेत्रमा हिमपात भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार सदरमुकाम जोमसोममा मात्रै अहिले झण्डै एक फिटसम्म हिउँ जमेको छ ।

यसैगरी हिमपात र वर्षाका कारण जोमसोम विमानस्थलमा विमानले उडान भर्न सकेका छैनन् भने मौसम प्रतिकूल बनेपछि हवाई मार्गसमेत प्रभावित भएको छ ।

यसैगरी मुक्तिनाथ क्षेत्रमा डेढ फिटसम्म हिउँ जमेको छ ।  उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको छासेर, छोन्हुप र लोमान्थाङलगायत क्षेत्रमा दुई फिटभन्दा माथि हिउँ जमेको जानकारी आएको मुस्ताङका प्रजिअ अर्यालले बताउनुभयो ।

हिमपातका कारण मुस्ताङका खानेपानीको धारामा पानी जमेको छ भने सदरमुकाम जोमसोमको तापक्रम अहिले माइनस सात डिग्री सेल्सियसमा पुगेको उहाँले जानकारी दिनुभयो ।

माथिल्लो क्षेत्रमा समेत तापक्रम क्रमशः माइनसतर्फ झर्दै गइरहेको बताइएको छ । हिमपातसँगै अत्याधिक चिसो बढेको र धाराको पानी जमेपछि स्थानीयलाई समस्या भएको छ ।

हिमपातले मुस्ताङका डाँडाकाँडाहरु यतिबेला सेताम्य भएका छन् । मुस्ताङको कोबाङ र घाँसा क्षेत्रमा पानी परिरहेको भए पनि अन्य सबै क्षेत्रमा भने हिमपात भैरहेको स्थानीयले बताएका छन् । हिउँ परेका कारण स्थानीयवासी घर बाहिर निस्कन सकेका छ्र्रैनन् । वर्षा र हिमपातले चिसो बढेपछि स्थानीयवासी घरभित्रै आगो तापेर बसेका छन् ।

त्यस्तै हिमाली जिल्ला मनाङको थोरङ्लापास क्षेत्र र म्याग्दीको दाना हुँदै घाँसा भएर मुस्ताङ भित्रिने स्वदेशी र विदेशी पर्यटकहरुलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन निर्देशन दिइएको प्रजिअ अर्यालले बताउनुभयो ।

हिमपात र वर्षाका कारण पर्यटक, यात्रु तथा सर्वसाधारणलाई समेत टाढाको यात्रामा ननिस्कन सुझाव दिइएको छ । भारी हिमपात र वर्षाका कारण मुस्ताङको सदरमुकाम जोमसोमदेखि छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेका छैनन् । 

यसैबीच हिमाली जिल्ला म्याग्दीको माथिल्लो क्षेत्रमा पनि हिमपात भएको छ । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकामा पर्ने गूर्जा, लुलाङ, मुदी, मल्कबाङ, मुना लगायतका क्षेत्रमा हिमपात भैरहेको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो ।

यस्तै उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको खोप्रालेक, नाघी, पर्यटकीय स्थल घोरेपानी, महरेडाँडा, रघुगंगा गाउँपालिकाको कुईनेमङ्गले, चिमखोला, पाखापानी, रायखोर तथा पर्यटकीय क्षेत्र रुईसे क्षेत्रमा पनि हिमपात भैरहेको स्थानीयवासीले बताएका छन् ।
 
म्याग्दीको उच्च लेकाली क्षेत्रका अधिकांश ठाउँहरुमा हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा भने बिहानैदेखि पानी परिरहेको छ । हिमपात र वर्षाका कारण चिसो बढ्दै गैरहेकाले स्थानीयवासी घरभित्रै बस्न बाध्य बनेका छन् । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया