संखुवासभाको उच्च हिमाली क्षेत्रमा हिमपात : जनजीवन प्रभावित, किसान हर्षित

 पुस २२, २०७६ मंगलबार १०:४४:५ | नवीन गुरुङ
unn.prixa.net

चैनपुर नगरपालिका १ मा पर्ने पर्यटकीयस्थल गुफापोखरीमा परेको हिमपात । तस्बिर : नवीन गुरुङ (उज्यालो)

सङ्खुवासभा – सङ्खुवासभाको उच्च हिमाली क्षेत्रमा हिमपातपछि जनजीवन प्रभावित भएकाे छ । एक हप्ता अघिदेखि सङ्खुवासभाकाे उत्तरी र दक्षिणी क्षेत्रमा भारी हिमपात भएपछि जनजीवन प्रभावित भएको हो ।

गएको शुक्रबारदेखि संखुवासभाको विभिन्न भागमा हावाहुरीसहित पानी परेपछि उच्च क्षेत्रमा हिमपात भएको हो । हिमपातपछि सदरमुकाम खाँदबारी र आसपासका क्षेत्रमा समेत चिसो ह्वात्तै बढेको छ ।

जिल्लाको दक्षिणी क्षेत्रका धर्मदेवी नगरपालिकाको सिमानामा रहेको टुटेदेउराली क्षेत्रमा हिमपातपछि तेह्रथुमको वसन्तपुर हुँदै सङ्खुवासभाको टुटेदेउराली, गुफापोखरी हुँदै ताप्लेजुङ जाने सडक खण्डमा यातायात सेवा सञ्चालनमा समस्या भएको स्थानीयहरुले जनाएका छन् ।

मादी नगरपालिकाको माथिल्लो क्षेत्रमा अत्यधिक हिउँ परेको छ । त्यसैगरी, चैनपुर नगरपालिका १ मा पर्ने पर्यटकीय स्थल गुफापोखरी, चौकी, मंगलबारे लगायतका टिएमजे क्षेत्रमा भारी हिमपातका कारण बाहिर निस्कनै मुश्किल भइरहेकाे स्थानीय हिमा खनालले जानकारी दिनुभयो । उहाँका अनुसार गुफापोखरी आसपासका क्षेत्रमा झण्डै दुई फिटभन्दा बढी हिउँ जमेको छ ।

‘घरबाहिर निस्कने बित्तिकै चारैतिर हिउँले ढाकेको छ,वस्तुभाउलाई घाँसपानी गर्न पनि समस्या भइरहेको छ । सडकमा बाक्लो हिउँ जमेको छ’, खनालले भन्नुभयो ।

सङ्खुवासभाकाे उत्तरी भेगको किमाथाङ्का, हटिया, चेपुवा, हुङहुङ र मकालु गाउँपालिकाको मांसिमा, सेदुवा लगायतका ठाउँहरुमा समेत भारी हिमपात भएको भन्ने जानकारी प्राप्त भएकाे सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) मीमबहादुर लामाले बताउनुभयो ।

उहाँका अनुसार सङ्खुवासभाकाे सभापोखरी गाउँपालिकाको स्वाची, पावा र सिलिचोङ्ग गाउँपालिकाको सिसुवा, सिकदिम लगायतका क्षेत्रहरुमा समेत हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । 

गएको केही दिनदेखि जिल्लामा चिसो बढेको छ । सदरमुकाम खाँदबारीको आसपासका साथै उच्च हिमाली र पहाडी क्षेत्रको जनजीवन प्रभावित भएको हो । खाँदबारी आसपासका क्षेत्रमा प्रायः बिहानैदेखि बाक्लो हुस्सु लाग्ने गरेकाले दिउँसो मध्याह्न बाहेक अरु समयमा घाम नै नदेखिने गरेको छ ।

हिमपातपछि किसान  हर्षित 

हिउँदको लामो समयको खडेरीपछिको हिमपातले सङ्खुवासभाका किसानहरु हर्षित भएका छन् । हिमपातपछि जनजीवन प्रभावित भए पनि किसानहरु बाली सप्रिने आशामा खुशी देखिएका हुन् ।

हिउँदमा लामो समयदेखि पानी पर्न नसक्दा हिउँदे बाली: तोरी, गहुँ, तरकारी र अलैँचीका बोट सुक्न थालेका थिए । आकाशबाट पानी परेपछि तरकारी र बालीनाली राम्रो हुने खाँदबारी ४ की कृषक सीता गुरुङले बताउनु भयो । उहाँले सिँचाइ गरेको भन्दा आकाशबाट आएको पानीले सुख्खा जमिन भित्रैसम्म भिज्ने भएकाले मलजल पुग्ने र बाली फस्टाउने गरेको बताउनु भयो ।

त्यसैगरी मकालु गाउँपालिकाकाे पाथीभराका टेकबहादुर राईले हिउँदमा पानी नपरेर अलैँचीको बोट नै मर्न थालेको र पानी परेपछि फस्टाउने बताउनु भयो । ‘अलैँची बगानमा हिउँ जम्यो भने चिसोका कारण त्यहाँ भएका किराहरु मर्ने र अलैँची सप्रने गरेको पाइयो । हिउँदमा अलैँची बगानमा हिउँ परेन भने खाँसै अलैँची फल्दैन’, राईले भन्नुभयो ।

आकाशबाट पानी परेपछि बालीनाली र तरकारी खेती सप्रनुका साथै हिउँदे बाँझो जमिन जोत्नसमेत सजिलो हुने किसानहरु बताउँछन् । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया