शरद ऋतुमा अनुमति लिनेमध्ये ४४.२१ प्रतिशतले मात्रै गरे हिमाल आरोहण

 पुस २९, २०७६ मंगलबार १५:१६:५६ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - याे वर्षकाे शरद ऋतुमा हिमाल आरोहणको अनुमति लिएकामध्ये ४४.२१ प्रतिशत पर्यटकले मात्रै आरोहण गरेका छन् । शरद ऋतुमा १ हजार २ सय १० जनाले अनुमति लिएकोमा ५ सय ३५ जनाले मात्रै हिमाल आरोहण गरेको पर्यटन बोर्डले जनाएको छ ।

यस ऋतुमा ६४ देशका नागरिकले आरोहणको अनुमति लिएको भएता पनि ५४ देशका नागरिकले मात्रै  हिमाल आरोहण गरेको पर्यटन विभागका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिनुभयो । उनीहरुले ५३ वटा हिमाल आरोहणका लागि अनुमति लिएको भए पनि २५ वटा हिमालको मात्रै अरोहण गरेको विभागले जनाएको छ । 

मनास्लु आराेहण गर्नेकाे संख्या धेरै 

शरद ऋतुमा मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका २ सय ६४ जनामध्ये १ सय ८८ जनाले मात्रै आरोहण गरेका छन् । बाँकी ७६ जना हिमाल आरोहण गर्न असफल भएको बोर्डले जनाएको छ । 

सबैभन्दा बढी आरोहण अनुमति लिएको आमादब्लम हिमालमा १ सय ६६ जनाले पाइला टेकेका छन् । याे हिमाल आरोहणका लागि ३ सय ४७ जनाले अनुमति लिएका थिए । 

त्यस्तै हिमलगु हिमाल आरोहणका लागि अनुमति लिएका ९५ जनामध्ये ३५ जनाले सफल आरोहण गरेका छन् भने, ६० जना असफल भएका छन् । धवलागिरी हिमाल आरोहणका लागि ३१ जनाले अनुमति लिएकोमा २३ जनाले मात्रै आरोहण गरेको बोर्डले जनाएको छ । ८ जना भने आरोहण गर्न असफल भएका छन् । 

शरद ऋतुमा सगरमाथा आरोहणका लागि १० जनाले अनुमति लिएको तर कुनै पनि आरोहीले आरोहण गर्न नसकेकाे बाेर्डले जनाएकाे छ । यो वर्षको शरद ऋतुमा हिमाल आरोहणबाट ६ करोड ५१ लाख ७० हजार २ सय ६० रुपैयाँ रोयल्टी संकलन भएको छ ।

हेमन्त ऋतुमा आरोहण अनुमति लिनेको सङ्ख्या २७ पुग्यो 

यस वर्षको हेमन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति लिनेको सङ्ख्या २७ पुगेको छ । अहिले सम्म ५ समूहका २७ जनाले अनुमति लिएको पर्यटन विभागका नासु निरौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आमादब्लम हिमाल आरोहणका लागि १ समूहका १५ जनाले अनुमति लिएका छन् । त्यस्तै सगरमाथा आरोहणका लागि २ समूहका ५ जना, नुप्से हिमाल आरोहणका लागि १ समूहका ५ जना र रोक्पाल हिमाल आरोहणका लागि १ समूहका २ जनाले अनुमति लिएका छन् ।

अनुमति लिनेमा सबैजना पुरुष रहेको विभागले जनाएको छ । जसमध्ये सबैभन्दा बढी स्पेनका २३ जना नागरिकले अनुमति लिएका छन । त्यस्तै जर्मनीका २ जना , अमेरिका र चिनका १ –१ जना नागरिकले अनुमति लिएकाे विभागले जनाएको छ ।  

हिमाल आरोहणबाट हेमन्त ऋतुमा अहिलेसम्म १६ लाख ८२ हजार १ सय १३ रुपैयाँ ९९ पैसा रोयल्टी संकलन भएको विभागले जानकारी दिइएको छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया