सुख र समृद्धिका लागि सुरक्षा नै पहिलो आधार : गृहमन्त्री थापा

 माघ २, २०७६ बिहिबार १८:३४:२९ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डाै - गृहमन्त्री रामबहादुर थापाले सुख र समृद्धिका लागि सुरक्षा नै पहिलो आधार रहेको बताउनुभएको छ ।

सुरक्षित पूर्वाधारबिना समृद्धि प्राप्त नहुने भन्दै उहाँले आफू र अरुलाई समेत सुरक्षित बनाउन पहिलो ध्यान बलियो पूर्वाधार बनाउन लगाउनुपर्नेमा जोड दिनुभयो । २२ औँ भूकम्प सुरक्षा दिवसका अवसरमा भक्तपुरमा भएको मूल समारोहमा गृहमन्त्री थापाले आफू सहित समाज र सिङ्गो देशलाई सुरक्षित बनाउन सबैले संकल्प गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपाल भूकम्प सहित बहुप्रकोपको जोखिममा रहेको भन्दै संरचना भत्केर नै मुख्य क्षति हुने गरेको विगतले देखाएको समेत बताउनुभयो । विपद् जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कामलाई संस्थागत रुपमा दिगो र परिणाममुखी बनाउन सरकारको तर्फबाट योजनाबद्ध प्रयत्न भैरहेको उहाँको भनाइ छ ।

विकास र समृद्धिका लागि सुरक्षित समुदाय नै सबैभन्दा बलियो आधार भएको भन्दै उहाँले समुदाय सुरक्षित बनाउन तीन तहका सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । गृहमन्त्री थापाले भूकम्पबाट हुने जनधनको क्षति घटाउन सरकार एक्लैको प्रयासले मात्रै नपुग्ने भन्दै संघ, प्रदेश र पालिकाका साथै समुदायले पनि जिम्मेवारी आत्मसाथ गर्नुपर्ने बताउनुभयो ।

यस वर्ष ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ भन्ने नारा सहित २२ औँ भूकम्प सुरक्षा दिवस मनाइएको छ । १९९० सालमा गएको भूकम्पको स्मृतिमा हरेक बर्ष भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ ।

दिवसको अवसरमा भक्तपुरको दरबार स्क्वायरमा मूल समारोह गरिएको हो । सभाअघि भक्तपुरका विभिन्न ठाउँबाट बाजा तथा झाँकी सहितको र्याली निकालिएको थियो । र्यालीमा नेपाल प्रहरी, सशस्त्र बल, नेपाली सेना, रेडक्रस, स्थानीयबासिन्दा, विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागितामा थियो ।

 

 


 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया