बचत गर्न गठन भएको आमा समूहले पैसा कमाउँदै

 फागुन २, २०७६ शुक्रबार ११:३६:२७ | मुना हमाल
unn.prixa.net

आमा समूहका सदस्य पिठाे बनाउँदै, तस्बिर: मुना हमाल

सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाकी बालकुमारी कार्की दुई वर्षअघि घरकै काममा सीमित हुनुहुन्थ्यो । घरको काम सकिएपछि दिउँसोको समय खेर जान्थ्यो । तर अहिले कार्कीको दैनिकी फेरिएको छ ।

बिहान र साँझ घरको कामसँगै उहाँले आयआर्जन पनि गर्दै आइरहनु भएको छ । आफैले कमाउन थालेपछि जीवनमा आएको परिवर्तनबारे उहाँ बताउनुहुन्छ, ‘आफ्नो कमाइ भनेको फरक हुने रहेछ । अब अरुसँग सानोतिनो कामका लागि पैसा माग्नुपर्दैन । आफ्नो श्रम के हो भनेर थाहा पाएकी छु । दिदीबहिनीसँग घुम्न जाँदा केही किन्न मन लाग्दा श्रीमानसँग हात थाप्नुपर्दैन ।’ 

त्यही ठाउँकी शर्मिला आचार्यले पनि घरको कामसँगै सर्वोत्तम पिठो बनाउने काम गर्नुहुन्छ । आफूले कमाउन थालेपछि घरखर्च व्यवस्थापन गर्न सजिलो भएको उहाँको अनुभव छ । ‘यसबाट मैले थोरै भए पनि आम्दानी गर्ने गरेकी छु । घरको कामलाई व्यवस्थापन गरेर दिउँसोको समय पिठो बनाउँछु । घरखर्चमा श्रीमानलाई पनि सघाएको छु’ उहाँ भन्नुहुन्छ । बच्चादेखि वृद्धको स्वास्थ्यको लागि आफूले बनाएको पिठो प्रयोग गर्नु राम्रो भएको उहाँ बताउनुहुन्छ ।  

कार्की र अचार्यजस्तै अहिले यस आमा समूहका अन्य महिलाहरुको दैनिकी पनि फेरिएको छ । १० वर्षअघि सामान्य बचत गर्ने गरी गठन गरिएको आमा समूहमा आबद्ध महिलाहरु अहिले आफ्नो आम्दानी बचत पनि गर्नुहुन्छ । 

दुई वर्षदेखि आमा समूहका सदस्यहरुले सर्वोत्तम पिठो बनाएर आम्दानी गर्दै आउनुभएको छ । उहाँहरु स्थानीयस्तरमा पाइने मकै, भटमास र गहुँबाट सर्वोत्तम पिठो बनाउनुहुन्छ । यस कामका लागि उहाँहरुलाई वीरेन्द्रनगर नगरपालिका ८ ले महिला लक्षित बजेटको एक लाख रुपैयाँ सहयोग गरेको थियो । वडा कार्यालयले दिएको एक लाख सहयोग र आफूले बचत गरेको आन्तरिक बजेटबाट आमा समूहले सर्वोत्तम पिठो उत्पादन गर्दै आएको छ । 

आमा समूहमा अहिले १८ जना महिला छन् । बचतका लागि महिनाको एक पटक मात्रै जम्मा हुुने महिलाहरुको अहिले दिनहुँ भेट हुुन्छ । आमा समूहकी सदस्य शर्मिला आचार्यले भेटघाटसँगै खेर गएको समयको सदुपयोग र आम्दानी समेत हुने गरेको बताउनुभयो । ‘पहिले  बिहान र साँझ घरकै काम हुन्थ्यो । दिनभरि त्यसै बसेर समय खेर जान्थ्यो’ उहाँले भन्नुभयो, ‘अहिले दिदीबहिनी मिलेर काम गर्दैछौँ । फुर्सद नै हुँदैन । आफ्नो कमाइ कस्तो हुँदो रहेछ भनेर बुझ्न पाएका छौँ । हामीले उत्पादन गरेको पौष्टिक आहार सबैले खानुहुन्छ ।’ 

एक सय रुपैयाँबाट बचत सुरु गरेका महिलाहरुले अहिले मासिक पाँच सय बचत गर्छन् । आमा समूहको कोषमा अहिलेसम्म ६ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको छ  । 

समूहका महिलाहरुले सर्वोत्तम पिठो बनाउन कामको विभाजन गरेका छन् ।  त्यसका लागि ६/६ जनाको तीन वटा समूह छन् । पिठो बनाइसकेपछि बिक्रीका लागि समूहका सदस्यहरु आफ्नो पालोअनुसार तोकिएको ठाउँ–ठाउँ जान्छन् । आमा समूहकी अध्यक्ष लालमति पन्तले स्वास्थ्य संस्थामा गएर बिक्री गर्ने गरेको बताउनुभयो । सर्वोत्तम पिठो बालबालिकादेखि वृद्धवृद्धाले खान मिल्ने उहाँको भनाइ छ ।  उनीहरुले आधा किलोको एउटा प्याकेटलाई एक सय रुपैयाँमा बिक्री गर्ने गरेका छन् । 

कुपोषण घटाउने लक्ष्य

आर्थिक आयआर्जन मात्र नभएर कुुपोषण घटाउने उद्देश्यले पनि आमा समूहका सदस्यहरु सर्वोत्तम पिठोको उत्पादनमा लागेका हुुन् । समूहकी अध्यक्ष पन्तले आफूहरुले समाजसेवा गर्नुपर्छ भन्ने सोचले पनि सर्वोत्तम पिठो बनाउन सुरु गरेको बताउनुभयो । ‘आम्दानी पनि हुुने र समाजसेवा पनि हुुने भएकाले हामीले सर्वोत्तम पिठो बनाउन सुरु गरेका हौँ’ उहाँले भन्नुभयो, ‘कुपोषित बालबालिकाको सङ्ख्यालाई कम गर्न हामीले पनि सहयोग गर्नुपर्छ भन्ने सोचले काम सुरु गरेका हौँ ।’ 

अहिले टोलमा अधिकांशले सर्वोत्तम पिठो बिक्री हुुने गरेको बताए । आमा समूहका अध्यक्ष पन्तले सरकारले बजारीकरणमा सहयोग गरिदिए आफूहरुलाई सहज हुुने बताउनुभयो । बजारीकरणमा सहयोग भए अन्य महिलालाई पनि पिठो उत्पादनमा आबद्ध गराउन सजिलो हुुने उहाँको भनाइ छ ।   

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया