पोखरा फुटबल मैदान निर्माणको काम ८५ प्रतिशत सकियो

 फागुन ११, २०७६ आइतबार ११:०:५७ | सुमन गुरुङ
unn.prixa.net

कास्की – पोखरा रङ्गशालामा निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको फुटबल मैदानको ८५ प्रतिशत काम सकिएको छ । 

फुटबल मैदान निर्माणको काम गरिरहेको एमए कन्स्ट्रक्सन तथा भारतीय ग्रेट स्पोर्टस् इन्फ्रा (जेभी) कम्पनीका प्रोजेक्ट इन्जिनियर पुरुषोतम बरालले समयमै काम सक्ने गरी सिट जडानको काम भएको जानकारी दिनुभयो ।

चार वटा ग्यालरी बनाएर प्याराफिटको काम भइरहेको बताउँदै उहाँले तीन वटा ग्यालरीमा सिट जडानको काम सकिएको जानकारी दिनुुभयो । बाँकी रहेको ‘बी’ ग्यालरीमा पनि सिट जडान कार्य सुरु भइसकेको उहाँको भनाइ छ । 

भीआईपीतर्फ चेन्जिङ रुम, मिडिया बक्सलगायतको काम पनि भइरहेको छ । रङ्गशालामा मैदान, एथ्लेटिक ट्रयाक, शौचालयको काम लगभग सकिएको उहाँले बताउनुभयो । 

यही मैदानमा १८ औँ संस्करणको आहा रारा गोल्डकप फुुटबल प्रतियोगिता सञ्चालन गर्न लागिएको राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेश गुुरुङले जानकारी दिनुभयो । प्रतियोगिताको लागि १३ हजार पाँच सय सिट क्षमताको लागि मात्र प्याराफिट तयार गर्न लागिएको उहाँले बताउनुभयो । यो मैदानमा १३ औँ सागको महिला फुटबलको खेल पनि खेलाइएको थियो । 

विसं २०३९ मा निर्माण गरिएको रङ्गशालाको विशिष्ट कक्ष विसं २०७२ कोे भूकम्पबाट क्षति पुगेपछि १३ औँ साग खेलकुदको मिति तय भएसँगै नयाँ निर्माण प्रक्रिया अघि बढेको थियो ।

गएको आर्थिक वर्षको असार मसान्तसम्ममा निर्माण सक्ने गरी गएको फागुनमा शिलान्यास गरिए पनि लामो समय डिजाइनको टुङ्गो नलाग्दा कामले गति लिन सकेको थिएन । पछि एमए कन्स्ट्रक्सन तथा भारतीय ग्रेट स्पोर्टस् इन्फ्रा (जेभी) ले पक्रिया पूरा गरी निर्माण कार्य अगाडि बढाएको हो ।

सम्झौतामा साधारण, भीआईपी, भीभीआईपी गरी १६ हजार पाँच सय दर्शक क्षमताको प्याराफिट बन्ने उल्लेख भए पनि पछि तीन हजार पाँच सय थपिने गरी २० हजार सिट क्षमताको रङ्गशाला बनाउन लागिएको छ । 

आहा रारा गोल्डकपको लागि १३ हजार पाँच सय सिट क्षमताको रङ्गशाला तयार गर्ने बताउँदै प्रतियोगिता सकिएपछि अरु सिट जडानको काम गरिने इन्जिनियर बरालले बताउनुभयो । ‘डिजाइनको काम पनि लगभग सकियो, अब फाउण्डेसनको काम गरेर बाँकी ३ हजार ५ सय सिट पनि चाँडै नै जडान गर्छौँ’, उहाँले भन्नुभयो ।  

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया