तामाकोशी अस्पतालले अठार वटा आइसाेलेशन कक्ष तयार गर्दै

 चैत ६, २०७६ बिहिबार २०:५४:४० | दीपक भट्ट
unn.prixa.net

रामेछाप - तामाकोशी अस्पताल मन्थलीले आगामी ३ दिनभित्र १८  वटा आइसाेलेशन कक्ष तयार गर्ने भएको छ ।

अस्पतालले बढ्दो कोरोना भाइरस संक्रमणको हल्लासँगै तयारीस्वरुप छोटो समयमा आफनो भवनभित्रै आइसाेलेशन कक्ष तयार गर्न लागेको हो । सरकारकाे निर्देशनअनुसार अस्पतालले सरकारी मापदण्डभित्र रहेर आइसाेलेशन कक्ष बनाउन लागेको अस्पतालका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले जानकारी दिनुभयाे । 

उहाँका अनुसार अघिल्लो हप्ता जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले अस्पताल भित्र तत्काल आइसाेलेशन कक्ष तयार गर्न निर्देशन दिएको र त्यसै अनुसार ६ वटा कक्ष यस अघिनै तयार गरिसकिएको छ ।

उहाँले आइसाेलेशन कक्षमा सरकारी मापदण्ड अनुसारको बेड, शाैचालय, उपचार र औषधि कक्ष र स्वास्थकर्मीहरुले प्रयोग गर्ने मास्क, कपडालगायत सबै आवश्यक सामग्रीको व्यवस्था मिलाइसकिएको जानकारी पनि दिनुभयाे ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा ५ दिनअघि बसेको सरोकारवालाहरुको बैठकले रामेछाप जिल्ला अस्पताल लगायतका अन्य ३ वटा अस्पताललाई तत्काल आइसाेलेशन कक्ष तयार गर्न निर्देशन दिएको थियो ।

अस्पतालमा १० हजार मास्क र मुलढोकामा पानी

छोटो समयमा आइसाेलेशन कक्ष निर्माण गरिसक्ने व्यवस्थापनमा जुटेको अस्पताल प्रशासनले अस्पताल प्रयोजनका लागि १० हजार थान मास्क व्यवस्थापनको समेत पूर्वतयारी गरिसकेको छ ।

त्यसैगरी अस्पतालमा आउने जाने बिरामी र सर्वसाधारणका लागि आफनो मूल ढोकामा धाराको व्यवस्थासमेत गरेको छ । अस्पताल भित्र आउँदा र बाहिरिँदा साबुनपानीले अनिवार्य हात र गोडा धुनैपर्ने व्यवस्थाको पनि मिलाइसकिएको अस्पताल जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया