‘कालोबजारी गर्ने, अफवाह फैलाउनेलाई सरकारले कडा कारबाही गर्नुपर्छ’

 चैत १०, २०७६ सोमबार १२:३६:५३ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – मोरङका राजनीतिक दलहरुले कोरोना भाइरसको मौका छोपेर कालोबजारी गर्नेलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । 

सम्वाद समूह मोरङमा दलहरुले साझा धारणा बनाउँदै अफवाह फैलाउनेलाई पनि कारबाही गर्न सरकारसँग माग गरेका छन् । यसमा दलहरुले सरकारलाई सहयोग गर्ने पनि जनाएका छन्  ।

यस सन्दर्भमा प्रदेश सरकार, स्थानीय सरकार र स्थानीय प्रशासनसँग छलफल गरेर अघि बढ्ने दलहरुको भनाइ छ ।  

राजनीतिक दलहरुले मानव स्वास्थ्यको सम्बन्धमा सचेतना र जागरुकता बढाउन संचारमाध्यमको प्रयोग गरेर नागरिकसम्म सूचना पुर्याउने बताएका छन् । 

नेकपाका नेता विनोद ढकालले आरोप प्रत्यारोपभन्दा पनि दलहरु एकजुट भएर जानुको विकल्प नभएको बताउनुभयो ।  

स्वास्थ्यमा विश्वको दोस्रो शक्तिशाली देश इटालीले हात उठाइसकेको अवस्थामा नेपालमा कोरोनाको सङ्क्रमण देखिनेबित्तिकै  सरकारसँग कुनै उपाय नहुने उहाँले स्पष्ट पार्नुभयो ।  

त्यस्तै नेकपाका जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले कोरोनाबाट बच्नको लागि सचेतना र जागरुकता नै पहिलो उपचार भएको बताउनुभयो ।   

आम रुपमा हिँडडुल र भेटघाट नगर्न सरकारले भनेकोले नागरिकमा एक खालको त्रास भएपनि नेपालजस्तो देशमा कोरोनाबाट बच्नुको पहिलो उपाय नै सचेतना र आनीबानीमा परिवर्तन गर्नु रहेको बताउनुभयो । 

नेपाली कांग्रेसका जिल्ला सचिव नागेश कोइरालाले जनतालाई राहत दिन अहिलेदेखि नै तयारी थाल्न सरकारलाई आग्रह गर्नुभयो ।  

नेपाली कांग्रेसका अर्का सचिव मोदराज घिमिरेले अहिले पनि खुला सिमानाका कारण आवतजावत भइरहेको स्मरण गराउनुभयो । 

अहिलेजस्तै सीमा खुला रहने हो भने अवस्था भयावह हुने भएकोले यसलाई तत्काल रोक्न सरकारसँग घिमिरेले आग्रह गर्नुभयो । 

राजपाका अध्यक्ष मोहम्मद कादिरले कालोबजारी नियन्त्रण गर्न स्थानीय प्रशासनले कडाइका साथ लाग्नुगर्ने बताउनुभयो । 

राप्रपाका स्थानीय नेता टंक गुरागाईंले अप्ठ्यारोमा जनताले दलहरुको साथ खोजेको बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया