‘लकडाउन’ का बेला के गर्ने, के नगर्ने ?

 चैत ११, २०७६ मंगलबार ८:३०:२८ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डौ – कतिपयले ‘लकडाउन’ लाई कर्फ्यु भन्ने सोचेका छन् । तर ‘लकडाउन’ भनेको कर्फ्यु होइन । यो बेलामा अत्यावश्यक बाहेकका काम गर्न, यात्रा गर्न र गाडी चलाउन रोक लगाइन्छ । मानिसलाई घरबाहिर निस्किन नदिने र अत्यावश्यक सेवा सञ्चालन मात्र गर्न दिने निर्णय कतिपयलाई कर्फ्यु जस्तै लाग्न सक्छ । उस्तै उस्तै लागे पनि कर्फ्यु र ‘लकडाउन’ फरक कुरा हुन् । 

सुरक्षामा चुनौती देखिए कर्फ्यु लगाइन्छ । तर सुरक्षा बाहेकका अरु कारणले मानिसको ओहोरदोहोरमा रोक लगाउनु परे लकडाउन गरिन्छ । लकडाउन सङ्क्रामक रोग ऐन (२०२०) अनुसार केन्द्रीय सरकार तथा प्रदेश सरकारले गर्न सक्छ भने कर्फ्यु स्थानीय प्रशासन ऐन अनुसार जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले लगाउन सक्छ ।

लकडाउन कर्फ्यु जस्तो कडा हुँदैन । तर ‘लकडाउन’ को आदेश पालना नगर्नेलाई कानुनी कारबाही हुन्छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न यो बेला घरमै बस्नुपर्छ । अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कन हुँदैन ।

लकडाउनका बेला के गर्ने, के नगर्ने ? 

- यो बेलामा औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाइन्छ । 
- अनुमति प्राप्त गाडी, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी गाडी चलाउन पाइने छैन ।
- सुरक्षा निकायबाट प्रयोग हुने वायु यान र तोकिएका अन्य उडान बाहेक अन्य सबै आन्तरिक व्यावसायिक उडान बन्द हुन्छ ।
- स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अत्यावश्यक     सेवा बाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी बाहेकलाई बिदा दिइन्छ । 
- औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगबाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानामा   काम गर्ने श्रमिक, कर्मचारीलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउँछ । 
- व्यवसायीले औषधि र औषधिजन्य सामग्रीको नियमित आपूर्तिको व्यवस्था गर्ने, अभाव देखाइ मूल्यवृद्धि गर्ने वा कालोबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम नियन्त्रणमा लिने, सामग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने ।

(२). (क) विशेष व्यवस्था गर्ने प्रदेशको अधिकार

सङ्क्रामक रोग ऐन, २०२०

१. प्रदेशभर वा त्यसको कुनै भागमा कुनै संक्रामक रोग उब्जेमा वा फैलिएमा वा फैलिने सम्भावना देखिएमा प्रदेश सरकारले त्यो रोग निर्मूल गर्न वा रोकथाम गर्न आवश्यक कारबाही गर्न सक्नेछ र सर्वसाधारण जनता वा व्यक्तिहरुको समूह उपर लागु हुने गरी आवश्यक आदेश जारी गर्न सक्नेछ ।
२. प्रदेश सरकारले प्रदेशमा उब्जेको वा फैलिएको वा फैलिने सम्भावना भएको कुनै सङ्क्रामक रोग निर्मूल गर्न वा त्यो रोग रोकथाम गर्नको लागि आवश्यक व्यवस्था मिलाउन कुनै अधिकारीलाई मुकरर गरी आवश्यक अधिकार सुम्पन सक्नेछ ।
३. उपदफा १ वा २ को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी प्रदेश सरकारले पैदल वा जुनसुकै सवारीको साधनबाट यात्रा गर्ने यात्रुको जाँच गर्न र त्यस्ता   यात्रुलाई कुनै सङ्क्रामक रोग लागेको छ भन्ने शङ्का लागेमा जाँचबुझ गर्न खटिएको कर्मचारीले त्यस्तो यात्रुलाई अस्पताल तथा अन्य स्थानमा अलग गरी   राख्न वा कुनै किसिमबाट ल्याउन लैजान वा यात्रा गर्नमा समेत निरीक्षण र नियन्त्रण गर्नको लागि आवश्यक आदेशहरु जारी गर्न सक्नेछ ।
४. यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा २ बमोजिम नेपाल सरकारले आदेश जारी गरिसकेको अवस्थामा प्रदेश सरकारले यस दफा बमोजिम आदेश जारी गर्नुपर्ने छैन र त्यस्तो आदेश प्रदेश सरकारले समेत कार्यान्वयन गर्नेछ ।
५. यस दफा बमोजिम प्रदेश सरकारले आदेश जारी गरेको जानकारी नेपाल सरकारको सम्बन्धित मन्त्रालयलाई तुरुन्त दिनु पर्नेछ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया