चीनबाट ल्याइएको स्वास्थ्य उपकरण र औषधि विभिन्न प्रदेशमा पठाउन थालियो

 चैत १७, २०७६ सोमबार १०:१३:४७ | सजना तिमल्सिना

काठमाण्डौ – सरकारले चीनबाट ल्याइएको स्वास्थ्य उपकरण र औषधि विभिन्न प्रदेशमा पठाउन थालेको छ । स्वास्थ्य राज्यमन्त्री नवराज रावत केही सामग्री र उपकरण लिएर सेनाको स्काई ट्रकमा सुर्खेत जानुभएको छ ।

यस्तै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ सहितको टोली प्रदेश १ को राजधानी विराटनगर गएको छ । चीनबाट ल्याइएका पाँच वटा पीसीआर मेसिनमध्ये चार वटा विभिन्न प्रदेशमा पठाउने र एउटा काठमाण्डौमै तयारी अवस्थामा राख्ने सरकारले जनाएको छ ।

प्रदेश दुई, प्रदेश पाँच, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा एक/एक वटा पीसीआर मेसिन सहित उपकरण र औषधि पठाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको योजना अनुसार औषधि र उपकरण पठाउन थालिएको हो ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको आपूर्ति व्यवस्थापन शाखाका निर्देशक भोगेन्द्र राज डोटेलका अनुसार लामा दुरीमा हवाई मार्गबाट र छोटो दुरीमा स्थल मार्गबाट सामान पठाउने तयारी छ । गएको शनिबार चीनबाट पाँच वटा पीसीआर मेसिन ल्याएको सरकारले आज चार प्रदेशमा एक/एक वटा पठाउने तयारी गरेको हो ।

उपकरण पठाएपछि सम्बन्धित प्रदेशमा कोरोनाको परीक्षण गर्न सुरु गरिनेछ । यसअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट पनि कोरोनाको परीक्षण सुरु गरिएको छ । यस्तै प्रदेश ३ को हेटौँडामा पनि परीक्षण केन्द्रका लागि आज सामान पुग्ने प्रदेश सरकारले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया