जुम्लाबाट हिँडेरै ७ दिनमा बर्दिया पुगेकाहरु भन्छन्- आफ्नै जिल्ला पुग्यौँ, अब त बाँच्ने आशा पनि पलायो

 बैशाख ६, २०७७ शनिबार ७:५८:३३ | भावुक योगी
unn.prixa.net

बर्दिया - जुम्लामा मजदुरीका लागि गएका बर्दियाको राजापुर नगरपालिकाका १२ जनाको एउटा टोली ७ दिन लगाएर हिँडेरै शुक्रबार दिउसो ठाकुरबाबा नगरपालिकाको भुरिगाउँ बजारमा पुग्यो । 

एक हप्ता लगाएर जुम्लाबाट हिँडेरै आएका १२ जनाको टोली निकै ठुलो जोखिम मोलेर बर्दिया प्रवेश गरेको हो । 

निकै लामो यात्रा पार गरेर आएकाहरुका अनुहार एकदमै थकित जस्ता देखिन्थे । ‘लामो यात्रामा भोकभोकै पार गरियो जुम्लामा मजदुरीका लागि जानुभएका बर्दियाको राजापुर वडा नम्बर २ का स्थानीय अनिल कुमार चौधरीले भन्नुभयो, ‘निकै ठुलो संकटबाट पार लागियो, अब त आफ्नै जिल्ला प्रबेस गर्यौँ, अब त बाँचिन्छ कि भन्ने आशा पलाएको छ ।’ 

लकडाउन खुल्छ भन्ने आशमा यति समयसम्म पर्खिँदा  राहत पनि  नपाएको र लकडाउन लम्बिएकोले अन्तिममा हिँडेरै आएको उनीहरुको भनाइ छ । 
उहाँसँंगै जुम्लामा कामको सिलसिलामा पुग्नुभएका राजापुरकै अर्का स्थानीय दिपेश चौधरीले आफूहरुले निकै कष्टपूर्ण यात्रा गरेको सुनाउनुभयो । 
जुम्लाबाट ७ दिन लगाएर बर्दिया पुगियो, बाटोमा एकदमै समस्या भोग्नुपर्यो, चाउचाउकै भरमा ७ हिँडियोे, उहाँले भन्नुभयो, ‘राति सुत्दा पनि घर सम्झिएर हिँडँुहिँडुँ लाग्थ्यो, जहाँ सुते पनि निद्रा त कहाँ पर्नु । 

लकडाउनले पसल बन्द हुँदा खाना खान नपाएको उहाँले सुनाउनुभयो । ‘दोकान खुले चाउचाउ खाने नत्र बाटोमा धारा भेटिए बोतलमा पानी भर्दै हिड्ने गरेको अनुभव सुनाउनुभयो । 

मजदूरी गरेको पैसा र भएको रासन पनि सकिएपछि घर फर्कनुको विकल्प नरहेको उहाँसँगै रहेका अर्का स्थानीय जिवनकुमार थारुले बताउनुभयो । 
‘कमाउन आएको, भएको पैसा पनि सकिँदै गयो, काम पनि छैन,’ उहाँले भन्नुभयो, ‘गाडी  कहिले खुल्ने पत्तो भएन, अरुको गाउँमा सधैं बसेर पनि के खाने । त्यसैले सबैको सल्लाहमा पैदल यात्रा तय गर्यौँ । 

हिँडेरै चिसापानीसम्म आइपुगेका उनीहरुलाई ठाकुरबाबा नगरपालिकाले ट्याक्टर पठाएर भुरिगाउँसम्म ल्याउने व्यवस्था गरेको थियो । राजापुरबाट ट्याक्टर आएर उनिहरुलाई लगेको ईलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरिक्षक वसन्त पाण्डेले बताउनुभयो ।

भुरिगाउँमा इलाका प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, रेडियो टाइगर टोल लगायतले सहकार्य गरेर खाजा फलफुलको जोहो गरेका थिए । 
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया