लकडाउन कडाइ : प्रदेश ५ सँगको नाका राम्दीमा सडकमै लगाइयो काँडेतार

 बैशाख ७, २०७७ आइतबार १०:२२:२१ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - गण्डकी प्रदेशमा प्रवेश गर्न रोक लगाउने प्रदेश सरकारको निर्णयसँगै सीमा नाकामा कडाइ गर्न सुरु गरिएको छ । 

गण्डकी प्रदेश र प्रदेश नम्बर ५ को सीमा नाकामा सशस्त्र प्रहरीको अस्थायी बिट स्थापना गरिएको छ । प्रहरीले सडकमै काँडेतार राखेर प्रवेशमा कडाइ गरेको हो । 

कोरोना भाइरसको जोखिम बढ्न नदिन गण्डकी प्रदेशमा अन्य प्रदेशबाट प्रवेशलाई सीमा नाकाबाटै निषेध गर्ने निर्णय भएसँगै सीमा नाकामा कडाइ गरिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । 

प्रदेशको निर्णयसँगै जिल्ला सुरक्षा समिति स्याङ्जाको बैठकले राम्दीमा सशस्त्र प्रहरीको अस्थायी बिटको स्थापना गरेर चेकचाँजमा कडाइ गर्ने निर्णय गरेको कुरुम्बाङको भनाइ छ । 

वालिङमा रहेको सशस्त्र प्रहरी बल नम्बर ३० गुल्मबाट तत्कालको लागि ११ जना प्रहरी टोलीलाई सीमा नाका राम्दीमा खटाइएको गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश खरेलले जानकारी दिनुभयो । सशस्त्र प्रहरी नायब निरीक्षक नेतृत्वको प्रहरी टोलीले सीमा नाकामा चौबिसै घण्टा चेकचाँज गर्ने गुल्मपति खरेलले बताउनुभयो । 

प्रदेशमा गठित कोरोना सङ्कट रोकथाम समितिको शुक्रबार बसेको बैठकले जारी लकडाउनलाई प्रदेशमा कडाइका साथ पालना गराउने निर्णय गरेको थियो । 

बैठकले प्रदेशको एक जिल्लाबाट अर्काे जिल्ला वा एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा हुनसक्ने आवतजावतलाई नियन्त्रण गरी सम्बन्धित जिल्ला र स्थानीय तहमा क्वरेण्टीनमा राख्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको थियो ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया