बर्दियामा थप कडाइ, प्रहरीद्वारा माइकिङ, मुख्य चोकमा सेना परिचालन

 बैशाख १२, २०७७ शुक्रबार १०:५२:१ | भावुक योगी
unn.prixa.net

बर्दिया – नेपाल–भारत सीमामा पर्ने बर्दिया जिल्लासँग जोडिएको बहराइचमा एक जना नेपालीसहित आठ जनामा कोरोना भाइरस (कोभिढ १९) को सङ्क्रमण पुष्टि भएपछि थप कडाइ गरिएको छ । भारतसँग सीमा जोडिएको सीमा क्षेत्रमा उच्च सतर्क रहन सुरक्षाकर्मीलाई निर्देशन दिइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो । 

भारतको बहराइचमा बिहीबार दिउँसो कोरोना सङ्क्रमण पुष्टि भएका एक जना नेपाली बर्दिया ठाकुरबाबा नगरपालिकाका रहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो । 

बर्दियाको छिमेकी जिल्ला भारतको बहराइचमा आठ जनामध्ये भारत लखनउको कानपुरमा काम गर्ने ठाकुरबाबा २ सुजनपुरका एक जना र राजापुर, मधुवन नगरपालिका आसपासमा काम गर्ने दुई जना भारतीय नागरिकमा कोरोना पुष्टि भएको बताइएको छ । 

ठाकुरबाबा नगरपालिकाका उनी भारतको कानपुरबाट घर आउने क्रममा बहराइचको क्वरेण्टीनमा राखेर कोरोना भाइरस परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । 
यस्तै आठ जनामध्ये दुई जना भारतीय नागरिक मधुवन नगरपालिका र राजापुर नगरपालिका कोठियाघाटबाट हिँडेर भारतको बिछिया हुँदै बहराइच पुगेपछि उनिहरुलाई क्वारेन्टाइनमा राखिएको बहराइचबाट आफ्ना आफन्तले जानकारी गराएको ठाकुरबाबा स्वास्थ्य शाखाका डा. कुलदीप यादवले बताउनुभयो । 

कोरोना पोजेटिभ पुष्टि भएका व्यक्तिसँग भारतको बहराइमासँगै बस्दै आएका उनका भाइ एक महिनाअघि सुजनपुर आएकाले उनको आरडीटी र स्वाब परीक्षण गरिएको ठाकुरबाबा नगरपालिकाका प्रशासकीय अधिकृत रामहरि रिजालले जानकारी दिनुभयो । 

कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन लकडाउनलाई प्रभावकारी बनाउन बिहीबार बेलुकादेखि बर्दियामा थप कडाइ गरिएको छ । शुक्रबार बिहानैदेखि बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका मुख्य बजार, चोक र गाउँमा नेपाली सेना पनि खटिएको छ । 

सुजनपुर गाउँ आसपासमा प्रहरी परिचालन गरी गाउँ सिल गरिएको छ । स्थानीय एफएम, रेडियो र इलाका प्रहरी कार्यालयले माइकिङ पनि गरिरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक (इन्सपेक्टर) वसन्त पाण्डेले बताउनुभयो । 

यस्तै अहिलेदेखि सङ्क्रमित युवाको घरसँगै सुजनपुर र खुलपुर पूरै गाउँ लक गरिएको छ । अर्को सुचना नआएसम्मका लागि शुक्रबारदेखि ठाकुरबाबा नगरभित्र मेडिकलबाहेक अन्य सबै पसलहरु आकस्मिक निर्णय गरेर बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

ती पुरुषको आरडीटी र स्वाब परिक्षणको रिपोर्ट नआउँदासम्मका लागि वडा नम्बर २ को सुजनपुर र खुलपुर गाउँ सिल गरी आउजाउ बन्द गरिएको छ । अर्को सूचना नआउञ्जेल मेडिकलबाहेकका सबै पसलहरु पनि बन्द गर्ने निर्णय गरिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिनुभयो । 
यस्तै मधुवन र राजापुरसहित बर्दिया जिल्लाभरिका सम्पूर्ण पालिकाहरुले उच्च सतर्कता अपनाएर लकडाउनको पालना गराउन र सम्भावित क्वरेण्टीन स्थल तथा व्यक्तिको कोरोना परीक्षणमा पहल गर्न आवश्यक देखिन्छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया