बारीमा कुहियो, बजारमा अभाव !

 बैशाख १७, २०७७ बुधबार १३:३:७ | रासस
unn.prixa.net

खोटाङ – खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेललगायत मुख्य बजारमा तरकारीको अभाव छ तर लकडाउनका कारण ढुवानी रोकिँदा बारीका तरकारी कुहिएर नष्ट हुन थालेका छन् । जिल्लाका कतिपय कृषकले उत्पादन गरेको तरकारी बिक्री नभएपछि गाई तथा भैँसीलाई कुँडोको रुपमा पकाएर खुवाउने गरेको पाइएको छ ।

अधिकांश खरिद गरेको तरकारी उपभोग गर्ने दिक्तेल बजारका स्थानीयबासिन्दा अहिले चर्को मूल्यमा खरिद गर्न बाध्य छन् । यसअघिसम्म प्रतिकेजी ५०÷६० रुपैयाँमा पाइने गोलभेँडा लकडाउनका कारण बजारमा नआएपछि अहिले एक सय २० रुपैयाँमा खरिद गरेर उपभोग गरिरहेका छन् । किनमेल गर्ने सर्वसाधारणका कारण निकै व्यस्त रहने दिक्तेल बजारमा यसअघिसम्म दुई दर्जनभन्दा बढी तरकारी पसल सञ्चालनमा थिए । गाउँ तथा शहरबाट ढुवानी गरेर ल्याउन नपाएपछि अहिले अधिकांश तरकारी पसल बन्द नै भइसकेका छन् ।

छिटपुटरूपमा सञ्चालनमा रहेका तरकारी पसलमा पनि ग्राहकले खोजेको तरकारी पाउन मुस्किल छ । दिक्तेल बजारमा सञ्चालित तरकारी पसलमा अहिले लामो समयसम्म टिक्ने दाल, गुन्द्रुक, सिन्की, भटमासको मस्यौरालगायत मात्र पाइन्छ ।

सरकारले लागू गरेको लकडाउनपछि गाउँ तथा शहरबाट तरकारी नआएपछि पसल नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको दिक्तेल बजारस्थित सङ्गमपार्कका तरकारी व्यापारी श्याम पौडेलले बताउनुभयो । ‘जिल्लाका तरकारी व्यापारीलाई प्रशासनले सवारी सञ्चालन अनुमति दिएको छैन’, उहाँले भन्नुभयो, ‘सवारी सञ्चालन अनुमति दिने हो भने दिक्तेल बजारमा आवश्यक तरकारी गाउँबाट ढुवानी गरेर ल्याउन सकिन्छ । तर पटक–पटक अनुरोध गर्दा पनि प्रशासनले सवारी अनुमति दिन मानेन ।’

दिक्तेल बजारमा सञ्चालित तरकारी पसलबाट सर्वसाधारणसँगै निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले खरिद गर्दै आएका थिए । ढुवानीका साधन हुने केही पसलबाहेक दिक्तेल बजारका अधिकांश तरकारी पसल स्थानीय कृषकको उत्पादनले सञ्चालन हुँदै आएको थियो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्रमा पर्ने दिक्तेल बजारमा हप्ताको दुई दिन बुधबार र शनिबार हटिया लाग्दै आएको थियो । विशेषगरी कृषि उपजहरु (दाल, तरकारी, चामल, फलफुल, कुखुराको भाले, सुँगुरको पाठापाठी आदि) खरिद तथा बिक्री हुने हटिया डेढ महिनादेखि अनिश्चितकालीन बन्द छ । 

अधिकांश व्यापारी तथा कर्मचारीको बसोबास रहेको दिक्तेल बजारमा अहिले आसपासका कृषकका बारीमै गएर खरिद गरेर ल्याएको तरकारी उपभोग हुने गरेको छ । लकडाउनका कारण दिनभर बन्द हुने दिक्तेल बजारमा सञ्चालित तरकारी पसल भने बिहान ७ देखि १० बजेसम्म खुलाउन प्रशासनले अनुमति दिएको छ । 

लामो समयको लकडाउनका कारण आफूले उत्पादन गरेको काउली मात्रै दुई सय ५० केजीभन्दा बढी कुहिएर खेर गएको सोल्माका अगुवा कृषक गङ्गाबहादुर विश्वकर्माले बताउनुभयो । ‘अहिले सबै कृषकको बारीमा काउली, बन्दा, गोलभेँडालगायतका सागसब्जी बिक्री गर्ने अवस्थामा छ’, उहाँले भन्नुभयो, ‘लकडाउनका कारण बजार लैजान नपाएपछि बारीमै कुहिएर गइरहेको छ ।’

अन्यबाली लगाउने जमिनसमेत मासेर तरकारी खेती सुरु गरेका कृषक आफूले उत्पादन गरेको तरकारी लकडाउनका कारण बिक्री गर्न नपाएपछि निरास बनेका छन् । जिल्लाका दिक्तेल, सोल्मा, खाल्ले, लफ्याङ, बाम्राङ, याम्खा, नेर्पालगायतका कृषक व्यावसायिक तरकारी खेतीमा लागेका छन् ।

जिल्लामा उत्पादित अर्गानिक तरकारी राजधानी काठमाण्डौलगायत तराईका विभिन्न शहरमा निर्यात हुन थालेको थियो । आफूले उत्पादन गरेको तरकारी बाहिरी जिल्लामासमेत निर्यात हुन थालेपछि जिल्लाका कृषक आधुनिक प्रविधि अपनाएर व्यावसायिक तरकारी खेती गर्न लागिपरेका थिए ।  

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया