साउदीको जेद्दा क्षेत्रमा ३६ जना नेपालीलाई कोरोना सङ्क्रमण, चिन्ता नलिन महावाणिज्यदूत पौडेलको आग्रह

 बैशाख २१, २०७७ आइतबार १८:४५:२८ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाण्डौ – साउदीको जेद्दा क्षेत्रमा ३६ जना नेपाली श्रमिकमा कोरानो सङ्क्रम देखिएको छ । जसमध्ये दुई जना निको भएको र बाँकी ३४ जनाको उपचार भइरहेको जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्य दूत रेवती पौडेलले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमितमध्ये ३४ जना पुरुष र २ जना महिला रहेका छन् ।

१५ जनाको अस्पतालमा उपचारपछि अहिले होटल र मदरसामा राखिएको छ । उनीहरुलाई अस्पतालको सेवा नचाहिने तर पूर्ण रुपमा निको नभइसकेकाले आइसोलेशनमा राखिएको महावाणिज्य दूत पौडेलले बताउनुभयो ।

९ दिन अस्पताल बसेपछि दुई महिलामध्ये एक जना पनि निको हुने क्रममा हुनुहुन्छ । अहिले १९ जनाको भने अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा उपचारतमध्ये एक जनाको आईसीयूमा र बाँकी १८ जनाको अवस्था सामान्य छ ।

सङ्क्रमित सबैजसोसँग नियमित आफूले फोनमार्फत स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको र सबैको अवस्था सामान्य नै रहेको महावाणिज्य दूत पौडेलले बताउनुभयो ।

उहाँका अनुसार, उपचारत सबै नेपालीलाई खान, बस्न र अन्य आवश्यक सुविधामा साउदी सरकारले आफ्ना नागरिक र विदेशी भने विभेद गरेको छैन । निको हुने चरणमा रहेकालाई पनि खाना, फलफूलदेखि तातोपानी लगायत सबै व्यवस्था साउदीले नै गरेको छ ।

‘म आफैंले फोनमा कुरा गर्दा पनि उहाँहरुले हामीले राम्रो उपचार पाइरहेको बताउनुभएको छ,’ महावाणिज्य दूत पौडेलले भन्नुभयो, ‘आशा छ उहाँहरु पनि चाँडै नै निको हुनुहुनेछ ।’

साउदी सरकारले गुणस्तरीय उपचार गरिरहेकाले साउदीमा सङ्क्रमित हुने नेपालीका परिवारलाई नआत्तिन र चिन्ता नलिन उहाँले आग्रह गर्नुभएको छ ।

बरु आफ्ना मानिसलाई साउदी सरकार र दूतावासले जारी गरेका सूचना पढ्न र नियम मान्नका लागि हौसला दिन उहाँले आग्रह गर्नुभयो ।

‘साउदीमा सङ्क्रमित नेपालीको सङ्ख्या थोरै छ, तपाईँको आफन्तलाई नआत्तिन, नडराउन भन्नुहोस्, सङ्क्रमण भइहाले तत्काल उपचार हुन्छ,’उहाँले आग्रह गर्दै भन्नुभयो, ‘आफ्ना मानिसलाई आँट भरोसा दिनुहोस्, सम्झाउनुहोस्, सङ्क्रमण भए पनि निको हुन्छ, यहाँको उपचार पद्धती राम्रो छ ।’

साउदीको अन्य क्षेत्रमा अहिलेसम्म पाँच नेपालीमा कोरोना सङ्क्रमण भएको र पाँचै जना निको भएको साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ ।

थप नेपालीमा कोरोना सङ्क्रमण भएको आधिकारिक जानकारी नआएको दूतावासको भनाई छ । कुनै समस्या परेका दूतावासमा सम्पर्क गर्न र नआत्तिन साउदीमा कार्यरत सबै नेपालीलाई दूतावासले आग्रह गरेको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया