मिति तोक्न त सकिंदैन, तर विदेशमा समस्यामा परेका नेपालीलाई फर्काउँछौं : मन्त्री ज्ञवाली

 बैशाख २३, २०७७ मंगलबार १८:५०:४ | प्रदीप ज्ञवाली
unn.prixa.net

अहिले विदेशमा चार प्रकारका नेपालीहरु हुनुहुन्छ । सबैभन्दा धेरै वैदेशिक रोजगारीमा रहेका साथीहरु हुनुहुन्छ । त्यो सङ्ख्या झ्ण्डै २१ लाखको हाराहारीमा छ । दोस्रो उल्लेख्य सङ्ख्या विद्यार्थीहरुको छ ।

जापान, अष्ट्रेलिया, अमेरिका लगायतका देशमा निकै ठूलो सङ्ख्यामा विद्यार्थीहरु हुनुहुन्छ । तेस्रो छोटो भ्रमणमा जानुभएका । कोही आफन्त भेट्न जानुभएका या टुरिष्टको रुपमा जानुभएका, कार्यक्रममा गएर उतै बस्नुभएका नेपालीहरु सङ्ख्या पनि ठूलो छ ।

यस्तै चौथो जो महत्वपूर्ण छ, जसको सामान्यतया बसोवास क्रमशः उतै सेटल हुँदैछ या उहाँहरु त्यहाँको नागरिक भइसक्नुभएको छ या नागरिक हुने क्रममा हुनुहुन्छ । यी चार खालका नेपालीहरु हुनुहुन्छ । चारै खालका नेपालीहरुसँग हामी निरन्तर सम्पर्कमा छौं । 

समस्या समाधानका लागि पहल 

अहिले नेपालीहरु रहेका सबै देशमा कोरोनाको प्रभाव छ । कोरोनाको प्रभाव पर्न थालेदेखि नै हामीले सबैभन्दा पहिले हाम्रा दूतावासलाई सतर्क बनायौं । उहाँहरुलाई स्थितिको नियमित अनुगमन गर्न र त्यसको रिपोर्ट गर्न हामीले भनेका छौं । गएको एक महिनादेखि उहाँहरुले दैनिक रिपोर्ट दिनुहुन्छ र परेको बेला इमर्जेन्सीमा पनि तत्कालै रिपोर्ट उपलब्ध गराउनुहुन्छ, पहिलो ।

दोस्रो दूतावासमा भौतिक रुपमा जान नसकिने अवस्था छ । त्यस्तो बेला चाहे दूतावास खोलेर होस् या चाहे कोठाबाटै सञ्चालन गर्नुपर्ने नै किन नहोस्, जहाँबाट भए पनि तपाईंहरु चौबीसै घण्टा हटलाइनमा बस्नु, अनलाइन खुला गरिरहनु र नेपालीहरुसँग नियमित सम्पर्कमा रहिरहनु भनेर हामीले निर्देशन गर्यौं ।

तेस्रो त्यहाँ सचेतना र परामर्शको लागि हामीले दूतावासहरुलाई भन्यौं र उहाँहरुले हरेक दिन ठूलो मात्रामा ती गुनासाको सम्बोधन गर्नुभएको छ । धेरैले फेसबुक र अन्य विभिन्न माध्यमबाट लाइभ कार्यक्रम पनि चलाउनुभएको छ । कुनैकुनैमा डेढ लाखभन्दा बढीले भिजिट गरेका सूचना पनि हामीले प्राप्त गरेका छौं । 

अनि चौथो र सबैभन्दा बढी महत्वपूर्ण कुरा, हामीले सम्बन्धित देशका सरकार प्रमुख र विदेश मन्त्रीसँग नियमित रुपमा सम्पर्क र संवादमा छौं । प्रधानमन्त्रीको तहबाट उहाँले यूएई, कतार, ओमान, बहराइन कुवेत र साइप्रसका सरकार प्रमुख र राष्ट्रप्रमुखहरुसँग प्रत्यक्ष रुपले कुराकानी गर्नुभएको छ भने मैले पनि साउदी अरबिया लगायत विभिन्न देशका समकक्षीसँग कुराकानी गरेको छु । 

हामीले तीन मुख्य कुरामा विशेष गरेर आग्रह गरेका छौं । पहिलो, कतिपय साथीहरुको भिसाको अवधि सकिएको छ, कतिपयको करारको अवधि सकिएको छ । तर अहिले अन्तर्राष्ट्रिय उडानहरु बन्द भएकाले उहाँहरु अहिले नेपाल आउन सक्ने अवस्था छैन ।

हामीले थाहा पाएका छौं ती देशहरुमा नेपाली बिरामी भनेर उपचारमा भेदभाव गरिएको छैन । उहाँहरुले समान ढंगले उपचार पाइरहनुभएको छ । त्यही भएर यूएई, बहराइन र अन्य थुप्रै ठाउँमा निको भएर पनि साथीहरु फर्किनुभएको छ ।

भिसा सकिएकै कारणले उहाहरुलाई कुनै झमेला नपरोस् भनेर ती देशहरुलाई आग्रह गर्यौं । ती देशहरुले तुरुन्तै त्यसलाई रेस्पोन्स गर्नुभयो । अहिले सबै देशहरुले भिसाको म्याद बढाइदिएर त्यो समस्या समाधान भएको छ । 

दोस्रो हामीले उहाँहरुलाई त्यहाँ रहेका हाम्रा नागरिकलाई आफ्ना नागरिकसरह सुरक्षा गरिदिनुहोला, उपचारमा, खानपिनमा, बसोबासमा ध्यान दिनुहोला भनेर आग्रह गरेका छौं । र उहाँहरुको रोजगारीको पनि सुरक्षा गरिदिनुहोला भनेका छौं । उहाँहरुले पनि नेपालीहरु मेहनती भएको, काममा जिम्मेवार भएको भन्दै नेपाली श्रमिकलाई पनि आफ्ना श्रमिकसरह हेरविचार गर्ने भन्नुभएको छ ।

हामीले थाहा पाएका छौं ती देशहरुमा नेपाली बिरामी भनेर उपचारमा भेदभाव गरिएको छैन । उहाँहरुले समान ढंगले उपचार पाइरहनुभएको छ । त्यही भएर यूएई, बहराइन र अन्य थुप्रै ठाउँमा निको भएर पनि साथीहरु फर्किनुभएको छ ।

 अब तेस्रो समस्या कस्तो देखिएको छ भने लामो अवधिको बिदा दिएको छ । बिदा नदिए पनि कम्पनीहरु बन्द छन् । कतिबेला फर्काउँछ थाहा छैन । या तलब कटौती गरेको छ, या कतिपय ठाउँमा अन्यौलको स्थिति छ ।

क्रमशः यो महामारी बढ्दै जाँदा यसले निम्त्याउने आर्थिक मन्दीसँगै संसारका धेरै देशमा ठूलाठूला कम्पनीहरु टाट पल्टिसक्ने, तिनीहरु बन्द हुनसक्ने र त्यसले नेपालको श्रम बजार नराम्रोसँग खलबलिने र लाखौं नेपालीहरुलाई बेरोजगार बनाउने त्यो खतरा छ । तर आजकै मितिमा एकदमै ठूलो संख्यामा कामदार कटौती भयो भन्ने होइन । 

यस्तो अवस्थामा हामीले तीनवटा व्यवस्था गरेका छौं । एउटा कामदार कटौती भए पनि अन्तर्राष्ट्रिय उडानहरु नखुलेम्म उहाँहरुलाई खान, बस्नको व्यवस्था त्यहीँ होस् भनेका छौं र धेरै कम्पनीले त्यस्तो गरेका पनि छन् । यदि भएको छैन भने त्यहाँका श्रम सम्बन्धी मन्त्रालयहरुसँग कुराकानी गरिरहेका छौं । गैरआवासीय नेपाली संघले यसमा सहयोग गरिरहेको छ । अरु विभिन्न च्यारिटीहरुलाई जुटाइएको छ । यी सबै काममा दूतावासले समन्वय गरिरहेको छ । 

नेपालका नागरिक जुन देशमा छन्, त्यहाँ संरक्षण गर्ने दायित्व सम्बन्धित देशको हो ।  हाम्रो सबैभन्दा बढी जोड भनेको सम्बन्धित देशसँग कुराकानी गरेर उहाँहरुलाई बढी सहज बनाउने हो । 

दूतावासले केही गरेन भन्नेहरु पनि छन् ।   दूतावासले गर्ने भनेको कोअर्डिनेसन नै हो । जस्तो नेपालमा अहिले कुनै देशको दूतावास आएर घरघर गएर राहत बाँड्न थाल्यो भने त्यसलाई हामीले सहज मान्छौं कि असहज ? त्यसकारणले अन्तर्राष्ट्रिय संकटको बेलामा पनि बहन गर्नुपर्ने न्यूनतम मर्यादाका विषयहरु पनि हुन्छन् । त्यही भएर आफ्नो देशको भूभागभित्र रहेका आफ्नो होस या विदेशी होस्, ती नागरिकहरुको जिम्मेवारी त्यही देशको हुन्छ । 

जस्तो हामीले १२ सयभन्दा बढी भारतीय नागरिकलाई हामीले नेपालको क्वरेण्टीनमा राखेका छौं । उहाँहरु सबैलाई खाने प्रबन्ध हामीले गर्छौं ।  तर एक अर्ब ३० करोड जनसंख्या भएको भारतले आफ्ना १२ सय नागरिकलाई नेपालमा आएर राहत वितरण गर्न नसक्ने भन्ने त होइन नि । तर त्यो गर्न किन मिल्दैन भने त्यो हाम्रो दायित्व हो । अन्तर्राष्ट्रिय मूल्य, मान्यताका आधारमा नेपालको भूभागभित्र रहेका विदेशी नागरिकलाई संरक्षण गर्ने दायित्व हाम्रो हो । 

यस्तै नेपालका नागरिक जुन देशमा छन्, त्यहाँ संरक्षण गर्ने दायित्व सम्बन्धित देशको हो ।  हाम्रो सबैभन्दा बढी जोड भनेको सम्बन्धित देशसँग कुराकानी गरेर उहाँहरुलाई बढी सहज बनाउने हो । 

यति हुँदाहुँदै पनि म के कुरा स्वीकार गर्छु भने, कहीँ कतै ध्यान पुगेको छैन । कतै साथीहरुले खाद्यान्न पाइरहनुभएको छैन भन्ने रिपोर्टहरु पनि पाएका छौं र रिपोर्ट पाउनेबित्तिकै हामीले दूतावासहरुलाई जानकारी गराएका छौं । 
अर्को कुरा हामीलाई अलिकति समस्या थपिएको छ । त्यो भनेको गैरकानुनी बसेकाहरुलाई  अहिले कुवेतले दर्ता गरेर फर्काउने काम गरिरहेको छ । साउदी अरबले पनि यस्तै खालको सूचना निकालेको छ ।

मलेसिया सरकारले पनि १४ दिनको सूचना दिएको छ र हामी फर्काउँछौं भनेको छ । यसो गर्दा यो संख्या निकै ठूलो हुने हामीले अनुमान गरेका छौं । ३०, ३५ हजारभन्दा बढी संख्यामा ओभरस्टे बसेकाहरुलाई हामी वैध बनाएर आफ्नै जहाजमा फर्काइदिन्छौं भन्दा हामीले रेस्पोन्स गर्नुपर्ने नै हुन्छ । यद्यपि त्यो कुरा हाम्रो लागि निकै चुनौतीपूर्ण हुन्छ । 

यस्तै विदेशमा विभिन्न कारणले ज्यान गुमाएकाहरुको शव ल्याउने कुरा, यस्तै गर्भवती र सुत्केरीहरु, अनि घरमा कोही बितेर आउनुपर्नेहरु पनि हुनुहोला । यस्तो अवस्थामा रहेकाहरुलाई कसरी स्वदेश फर्काउन सकिन्छ भन्ने बारेमा हामीले गृहकार्य गरिरहेका छौं । 

अर्को महत्वपूर्ण कुरा भनेको यो महामारीले ल्याउने आर्थिक मन्दीपछि जुन रोजगारी गुम्ने खतरा छ, यसरी रोजगारी गुमाएर आउने श्रमिकहरुलाई नेपालको श्रम बजारमा कसरी जोड्न सकिन्छ, त्यसको लागि हामीहरुले एनआरएनएसँग मिलेर उहाँहरुको सीपको अभिलेख पनि राख्दैछौं । कसले के के सिकेर आउनुभएको छ भनेर अभिलेखमा विवरण हुन्छ । 

उहाँहरुको सीपलाई हामीले रेकर्ड गर्न सक्यौं भने उहाँहरु फर्किएपछि नेपालको श्रम बजारमा हामीले उहाँहरुलाई जोड्न सक्छौं । यो वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि यसलाई समावेश गर्नेगरी छलफल भैरहेको छ ।

यसकारण विदेशमा रहेका नेपालीको समस्याबारे सरकार बेखबर भयो भन्ने बिल्कुलै होइन । तर हामीले बुझ्नुपर्ने हुन्छ, भारतबाहेक अरु देशमा रहेका ४० लाखभन्दा बढी नेपाली एकैपटक फर्कन चाहनुभयो भने हामीले व्यवस्था गर्न सक्छौं कि सक्दैनौं ?  

अहिले हामी भन्दा तुलनात्मक रुपमा क्षमतावान बंगलादेश, पाकिस्तान, भारत लगायतका देशहरुले पनि आफ्ना सबै नागरिकलाई स्वदेश फर्काउन सकेका छैनन् । अहिले जो जहाँ छ, त्यहीँ सुरक्षित राख्ने गरेको छ । 

नेपालभित्र सबै व्यवस्था भइसकेपछि प्राथमिकताको आधारमा सबैभन्दा बढी समस्यामा रहेका, रोजगारी गुमाएका, आफन्त गुमाएका लगायतका समस्या भएकाहरुलाई नेपाल ल्याउने, सुरक्षित ढंगले क्वरेण्टीनमा राखेपछि घर पठाउने र त्यसपछि रोजगारीमा जोड्ने यी सबै विषयमा हामीले गृहकार्य गरिरहेका छौं ।

यूएईले पछिल्लो समय आफ्नो देशमा रहेका विदेशी श्रमिकलाई नफर्काउने देशहरुको श्रम समझदारीमा पुनर्विचार गर्ने भनेको छ । तर त्यो उहाँहरुको सामान्य घोषणा मात्र हो । त्यसपछि प्रधानमन्त्रीज्यूले आफ्नो समकक्षीसँग कुरा गर्नुभएको छ र नेपाली श्रमिकलाई समस्यामा पार्ने काम नगर्ने भनेर हामीलाई विश्वस्त पार्नुभएको छ । 

कुनै देशले आग्रह गर्यो भने हामी निर्णय गर्छौं नै । जस्तो कुवेतले आग्रह गर्यो, तपाईंहरुको झण्डै सात हजार जति अवैधानिक हुनु हुँदो रहेछ, अहिले हामीलाई रजिष्टर गर्न सहयोग गर्नुस् भन्यो । रजिष्टर हुनुभयो ।

अहिले उहाँहरुलाई क्याम्पमा राखेको छ । पछि हामीहरु उहाँलाई पठाउँछौं, फर्काउने तयारी गर्नुुस् भनेर भनेको छ । यो ढंगले रिक्वेस्ट गर्दा हामी विशेष निर्णय गर्छौं नै । तर यूएईले अहिलेसम्म त्यस्तो निर्णय गरेको छैन । तर सबै देशहरुले आवश्यक तयारी गरुन् भनेर सामान्य घोषणा गरेको मात्र हो भन्ने मलाई लाग्छ । नेपाललाई लक्षित गरेर भनेको होइन । 

कहिले ल्याउने भनेर त यकिन भन्न सकिन्न, तर हामी त्यो खालको सोचमा छँदैछौं । 

हामी तुलनात्मक रुपमा सुरक्षित नै छौं । यस्तो बेलामा एउटा मनोवैज्ञानिक त्रास पनि छ । यस्तो बेलामा आफ्नै देशमै पुग्न पाए सुरक्षित हुन्थ्यौं भन्ने छ ।

वास्तविक समस्या पनि छ, त्यो भनेको केहीको रोजगारी गुम्ने खतरा छ, कसैको समयमा तलब नमिल्ने अवस्था पनि छ । यो कुराले गर्दा गुजारा चलाउन समस्या छ । त्यही भएर वास्तविक समस्या परेकाहरु र मनोवैज्ञानिक त्रास भएकाहरुको अवस्थालाई हामीले हेर्नुपर्छ । 

अहिले मे १५ तारिखसम्म त अन्तर्राष्ट्रिय सबै उडानहरु बन्द छन् र वैशाख २५ सम्म नेपालमा पनि लकडाउन छ । अन्तर्राष्ट्रिय उडान कहिले खुल्छ भनेर यकिन भन्न सकिंदैन । त्यही भएर अनतर्राष्ट्रिय उडान नखुल्दासम्म कहिले ल्याउने भनेर सकिने अवस्था छैन ।

तर प्रवासमा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीको पीडालाई हामीले बुझेका छौं । उहाँहरुलाई सुरक्षितसाथ ल्याउन सकिन्छ र उहाँको परिवार पनि सुरक्षित हुन्छ भन्ने पक्कापक्की व्यवस्था गरिसकेपछि एउटा नियन्त्रित र व्यवस्थित संयन्त्रमा हामी उहाँहरुलाई ल्याउँछौं । कहिले ल्याउने भनेर त यकिन भन्न सकिन्न, तर हामी त्यो खालको सोचमा छँदैछौं । 


(सोमबार श्रम रोजगार पत्रकार समूहसँगको छलफलमा आधारित)

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रदीप ज्ञवाली

ज्ञवाली नेपाल सरकारका परराष्ट्र मन्त्री हुनुहुन्छ ।

3 Comments

  • Arbind kumar Mishra

    May 7, 2020, 7:42 p.m.

    Sir we students are facing unbearable pain due to this lockdown in India. Other countries like India are evacuating their citizens from abroad then why we Nepalese are helpless here. Our government is taking help of India in medical assistance then India will definitely help Nepal in evacuating Nepalese from here but our government should ask for help on this matter first. Please sir, we students are future of Nation not an issue of politics on which dicision is not finalising clearly.

  •  0 Reply
  • Brijesh kumar kurmi singh

    May 5, 2020, 11:16 p.m.

    Please take care of us ,we students are being afraid of this pandemic and the situation in india is going worst.

  •  0 Reply
  • तेन्जिङ वलि हाल मलेसिया

    May 5, 2020, 7:15 p.m.

    नेपाल मा नेताहरु कुर्सिमा बसेर बाेले जस्ताे हुँदै हुदैन त्याे हामिलाई मात्र थाहा छ भिसा सकियका र राेजगार गुमायका नागरिक लाई क्वारेनटिनकाे ब्यबस्था गरि तुरुन्त नेपाल झिकाइयाेस, यहाँ काेराेना ले भन्दा भाेकले मर्छ, न त पैसा छ न त राेजगार नेपाल सरकारले तुरुन्त बेलैमा साेच्नु पर्छ,

  •  0 Reply

तपाईको प्रतिक्रिया