भरतपुर कोरोना अस्पतालमा जुत्ता चप्पल बाटा र बाल्टिन खरिद खर्च ११ लाख !

 बैशाख २४, २०७७ बुधबार १९:५४:३६ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - चोरी र अनियमितताको विषयमा विवादमा तानिएको भरतपुर कोरोना विशेष(अस्थायी)अस्पतालमा ११ लाख रुपैयाँको जुत्ता(बुट), चप्पल खरिद गरिएको विवरण सार्वजानिक गरिएको छ ।

कोरोना अस्पतालबाट भरतपुर अस्पतालमा बुझाइएको सामानको विवरणमा खरिद गरिएको भनिएको छ तर सामानको विवरण उल्लेख छैन । वाग्मती प्रदेश सरकारको सशर्त अनुदानमा प्राप्त एक करोड र भरतपुर महानगरपालिकाको ६ लाख ५० हजार गरी १ करोड ६ लाख ५० हजार रुपैयाँ अस्पतालमा खर्च भएको आर्थिक विवरणमा उल्लेख छ । 

भरतपुर कोरोना नियन्त्रण कार्यदलमार्फत सार्वजानिक गरिएको विवरणमा कार्यालय सञ्चालन तथा व्यवस्थापन खर्च अन्तर्गत ११ लाख ८६ हजार ८ सय २३ रुपैयाँ बराबरको जुत्ता(बुट),चप्पल, बाटा, बाल्टीन र स्टेशनरी सामान खरिद गरिएको देखिएको छ । 

१४ लाख ५० हजार रुपैयाँ बराबरको बजेट शिलिङ राखिएको कार्यालय सञ्चालन तथा व्यवस्थापन शीर्षकबाट यो रकम विभिन्न सप्लायर्सलाई भुक्तानी गरिएको विवरणमा उल्लेख छ ।

कोरोना अस्पतालबाट भरतपुर अस्पतालले सामाग्री बुझेको विवरणमा यो शीर्षक अन्तर्गत २८ वटा प्लाष्टिकका बाटा, २० वटा प्लाष्टिकका बाल्टी र ७ वटा जग किनेको विवरण छ । 

५० जोर चप्पल बुझेको विवरण छ तर,जुत्ता(बुट) खरिद गरिएको विवरण कहीँ कतै भेटिएको छैन । कोरोना अस्पतालबाट भरतपुर अस्पताललाई सामानको विवरण बुझाएको विवरणमा जुत्ता(बुट) खरिद भएको,प्रयोग गरिएको वा मौज्दात रहेको भन्ने कुनै विवरण छैन । 

भरतपुर कोरोना विशेष अस्पताल सञ्चालनका लागि बनाइएको ‘भरतपुर कोरोना नियन्त्रण कार्यदल’ले विज्ञप्तिमार्फत खर्च अनुमोदन गरेको जानकारी गराएपनि कार्यदलका सदस्यहरुले आफूहरुलाई जानकारी नभएको बताउँदै आएका छन् । 

अस्पतला सञ्चालन तथा व्यवस्थापनका लागि वाग्मती प्रदेश सरकारबाट चैत २० गते आएको शशर्त अनुदानको एक करोड रुपैयाँ रकम कोरोना अस्पतालको खातामा नै पठाइएको थियो । 

अस्पतालले दिएको विवरणअनुसार वैशाख १४ गतेसम्म ७४ लाख ४४ हजार ९९ रकम भुक्तानी भएको देखिएको छ । करेन्टीन खर्च ६ लाख ५७ हजार ५ सय, ट्वाइलेट बाथरुम पार्टेसन गर्दाको २५ लाख ४४ हजार ५ सय ४८, एयर कण्डिसनको ६ लाख २५ हजार, कर्मचारी पारिश्रमिक बापत १३ लाख ७७ हजार ५ सय ८० रकम गरी जम्मा ५२ लाख ४६ हजार २८ रकम भुक्तान गर्न बाँकी छ ।

अस्पतालले पीपीई र एन ९५ मास्कमा मात्रै भ्याटसहित करिब ३४ लाख खर्च गरेको देखाइएको छ । अस्पतालले दिएको जानकारीअनुसार अहिलेसम्म कार्यालय सञ्चालनमा ११ लाख ८६ हजार, औषधि खरिद मेसिनरी औजारमा सबैभन्दा धेरै ५२ लाख २८ हजार २ सय १० खर्च भएको छ । तर, ५२ लाख २८ हजारमध्ये करिब १८ लाखको हिसाब अस्पतालले देखाएको छैन ।

नेपाली कांग्रेस चितवनले सर्वपक्षीय अधिकार सम्पन्न छानविन समिति गठन गरी अस्पतालमा अहिलेसम्म भएका आर्थिक गतिविधिहरूको विवरण सार्वजनिक गर्न माग गरेको छ ।

कोरोना नियन्त्रण कार्यदलको बैठकले घटनाबारे छानबिन गर्न चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

राजनीतिक हिसाबले वक्तब्य तथा टिकाटिप्पणी र सूचनाहरू सार्वजनिक भइरहेको भन्दै छानविन संयोजक पदमा रही काम गर्न आफू असमर्थ रहेको पौडेलले बताएका छन् ।

कोरोना सङ्क्रमितको उपचारका लागि भरतपुर महानगरपालिकाले बनाएको भरतपुर कोरोना विशेष अस्पतालका सामान राति कर्मचारीहरूले पोको पारेर लगेको भिडियो सार्वजनिक भएको थियो ।

कर्मचारीहरूले सामान चोरी गरेको भनेर समाचार सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया