नेताको पीसीआर परीक्षण : नेगेटिभ दाइरस, पोजिटिभ भाइरस !

 बैशाख २७, २०७७ शनिबार ९:४:५ | मिलन तिमिल्सिना
unn.prixa.net

काठमाण्डौ - मुख भित्रबाट निकाल्न थाल्नासाथ नेताको स्वाब, तर मुख आँ गर्नेबित्तिकै ठसठस गन्हाउन थाल्यो अमिलो, पिरो र गन्धे झोल मिसिएको स्वाश । यसअघि स्वास्थकर्मीले समेत थाहा नभएको अमिलो, पिरो, उकुसमुकुस बनाउने नमिठो सास !

व्यापारीको छोईलादेखि ठेकेदारको ऐलासम्म, अलकत्रादेखि कोरोना अस्पतालका सामान समेत के के मात्रै खाएको, के के मात्रै गन्हाएको हो भनेर छुट्याउनै नसकिने गन्ध !  

जति पनि आँ गर्न सक्ने, जे पनि अट्ने अचम्मको ठूलो मुख । दशथरी आवाजमा फड्कारिने र लर्बराउने, बोल्न हुने÷नहुने सबै भन्न सक्ने जिब्रो । गाली, आलोचनादेखि खान हुने, नहुने सबै कुरा चपाउन सक्ने तिखा र धारिला दाँत । 

साधारण मान्छेको स्वाब निकाल्दा त यस्तो देखिंदैनथियो । तर नेताका स्वाब निकाल्दा सासको गन्ध अनि मुख, जिब्रो र दाँतको स्वरुप देख्दैमा डाक्टर तीनछक परे । अरुको त सजिलै निकाल्न सकिन्थ्यो, तर नेताको स्वाब निकाल्न गाह्रो । मुखभित्र छेस्को पसाउन नपाउँदै जिब्रो नै थुत्न लागेझैं गरी ऐया र आत्था गर्छन् । दाँत नै निस्केला जस्तो असजिलो मानेर दाह्रा किट्छन् । मुखै थुन्न लागेझैं मरेंमरें, भयो भयो, छिटो भन्छन्, कराउँछन्, मुख बिगार्छन् ।

बल्लतल्ल ठसठसी गन्हाउने स्वाशको बीचबाट नेताको स्वाब निस्कियो । ल्याबमा परीक्षण गरियो ।

यसअघि आरडीटी अर्थात रहर, दिन्छन् र टिकाउँछन् भन्ने तथ्य पीसीआरमा उल्टियो । अझ विस्तारमा भन्दा नागरिक र देशलाई केही दिन्छन्, विकास र समृद्धिको बाटोमा देशलाई टिकाउँछन् भन्ने आमनागरिकको रहर पीसीआर परीक्षणमा अर्कै देखियो ।

हुन त मान्छेहरुले जनतालाई चाहिँ आरडीटी, सांसद र नेतालाई चाहिँ पीसीआर परीक्षण किन भनेर आलोचना पनि गरे । तर नेताको कोरोना आउनुभन्दा पहिल्यै आरडीटी परीक्षण भएको हो । त्यतिबेलाको परीक्षणमा भाइरसभन्दा पनि थोरै दाइरस, धेरै कमरेडरस देखिएको थियो । पीसीआर परीक्षणमा चाहिँ कोरोनाभन्दा पनि डरलाग्दो भाइरस फेला परेको छ । कोरोनाको भाइरस देखिएको भए त समयमै उपचार गर्न मिल्छ, आइसोलेसनमा राखेर अरुलाई सर्नबाट रोक्न सकिन्छ । तर कोरोनाभन्दा डरलाग्दो यो भाइरसको उपचार नै गाह्रो छ ।

कोरोनाभन्दा डरलाग्दो भाइरस, अनि आरडीटीमा दाइरस र कमरेडरसको कुरा सुन्दा तपाईं अलमलमा पर्नुभयो होला । तपाईंको अलमल हटाउन अब नेताहरुका आरडीटी र पीसीआर परीक्षणको नालिबेली हेरौं ।

सबैभन्दा पहिले आरडीटी परीक्षणको कुरा । कोरोनाको जाँचमा आरडीटी भनेको भाइरस छ कि छैन भनेर छिटो नतिजा दिने विधि । तर नेताको आरडीटी चाहिँ भाइरसभन्दा पनि दाइरस र कमरेडरस कति छ भनेर चुनावमार्फत परीक्षण गर्ने विधि हो ।

आर भनेको रहर । डी भनेको दिन्छन, देलान् । टी भनेको टिक्छन्, टिकाउँछन् । अर्थात चुनावताका सबैको रहर र आश थियो कि नेताहरुले देश र आमनागरिकलाई केही दिन्छन्, देलान् । पाँच वर्षसम्म झैझगडा र लोभ नगरी कुर्सीमा टिक्छन् र देशलाई विकास र समृद्धिको बाटोमा टिकाउँछन् ।

कस्तो आयो त पीसीआर परीक्षणको नतिजा ? नतिजा थाहा पाउनु पहिले पीसीआरको अर्थ केलाऔं । पी भनेको पद, पावर र पैसा । सी भनेको चेन (सत्ताको चेन, गुटबन्दीको चेन, परिवार र आफन्तको चेन, आसेपासेको चेन)  । अनि आर भनेको रियाक्सन, रिजल्ट ।

आरडीटी अर्थात रहर, दिन्छन् र टिकाउँछन् । चुनावमा भएको यो आरडीटी परीक्षणमा भाइरस देखिएन । कतैकतै दाइरस देखियो, धेरै कमरेडरस भेटियो । 

यो त भयो चुनावताका गरिएको आरडीटी परीक्षणको नतिजा । अब अहिले गरिएको पीसीआर परीक्षणको चर्चा गरौं । अरु मान्छेको पीसीआर परीक्षण गर्दा शरीरभित्र कोरोना भाइरस छ कि छैन भन्ने यकिन नतिजा थाहा हुन्थ्यो । तर नेताको पीसीआर परीक्षणमा कोरोनाभन्दा डरलाग्दो भाइरस फेला परेको छ ।

यसअघि आरडीटी अर्थात रहर, दिन्छन् र टिकाउँछन् भन्ने तथ्य पीसीआरमा उल्टियो । अझ विस्तारमा भन्दा नागरिक र देशलाई केही दिन्छन्, विकास र समृद्धिको बाटोमा देशलाई टिकाउँछन् भन्ने आमनागरिकको रहर पीसीआर परीक्षणमा अर्कै देखियो ।

कस्तो आयो त पीसीआर परीक्षणको नतिजा ? नतिजा थाहा पाउनु पहिले पीसीआरको अर्थ केलाऔं । पी भनेको पद, पावर र पैसा । सी भनेको चेन (सत्ताको चेन, गुटबन्दीको चेन, परिवार र आफन्तको चेन, आसेपासेको चेन)  । अनि आर भनेको रियाक्सन, रिजल्ट । 

पद, पावर र पैसामा मात्रै अल्झिएर आफ्नै चेनभित्र घुम्दा रियाक्सन अर्कै आयो, रिजल्ट उल्टो देखियो । आरडीटीको आर अर्थात नागरिकको रहर पीसीआरको पी अर्थात पद, पावर र पैसामा खुम्चिएछ । 

आरडीटीको डी अर्थात दिन्छन् र देलान् भन्ने कुरा पीसीआरको सी अर्थात चेन (आफन्त, आसेपासे, सत्ता र गुटबन्दी)मा अड्किएछ । आरडीटीको टी अर्थात देशलाई समृद्धि र विकासको बाटोमा टिकाउँछन् भन्ने आशा पीसीआरको आर अर्थात रियाक्सन र रिजल्टले निराशामा बदलियो ।

पीसीआरको यो रिपोर्ट कोरोना भाइरसभन्दा डरलाग्दो छैन त ? रिपोर्टमा कोरोना देखियो भने त आइसोलेसनमा बस्ने, तर यस्तो रिपोर्ट देखिंदा कहाँ बस्ने ? फेरि आरडीटी परीक्षणको लागि अर्को चुनावसम्म पर्खने कि अहिल्यै पीसीआरको रिपोर्ट हेरेर खानपान, उठबस, बानीव्यहोरा, बोलीचाली र आचरण सुधार्ने ? 

त्यो त तपाईंलाई र मलाईभन्दा सांसद भवनमा गएर पीसीआर परीक्षण गर्नेले नै बुझ्ने कुरा हो । तर परीक्षण गर्नुअघि नै नतिजा यस्तै हो भनेर बुझिसकेकाहरुले फेरि बुझ्छन् र आफूलाई सुधार्छन् भनेर आश गर्ने तपाईं त मुर्ख हो नै । अनि पीसीआर परीक्षणको वास्तविकता भन्ने झन् महामुर्ख !

अन्तिम अपडेट: बैशाख १३, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया