ठाकुरबाबा नगरपालिकाले राहतको साटो १ करोड रुपैयाँको रोजगार दिने

 बैशाख २९, २०७७ सोमबार १९:५८:४१ | भावुक योगी
unn.prixa.net

बर्दिया - कोरोना भाइरस महामारीको कारण लकडाउन लम्बिँदै गएको छ । यसले  ज्याला मजदुरी गरेर साँझ बिहानको छाक टार्ने वर्ग समस्यामा परेको छ । त्यस्ता गरिब तथा विपन्न परिवारलाई ठाकुरबाबा नगरपालिकाले राहतको साटो रोजगार दिने योजना ल्याएको छ । 

नगरपालिकाले लकडाउनको कारण रोजगारी गुमाएका र खाद्यान्न अभावमा छाक टार्न समस्या भएकाहरुका लागि पालिकाभित्रै रोजगारको अवसर ल्याएको नगरपालिकाका प्रमुख घननाराण श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकाका ९ वटै वडामा रोजगारसम्बन्धी योजना सञ्चालन गरिने छ । योजनामा आबद्ध हुन नगरपालिकाले सोमबारदेखि ५ दिने सूचना जारी गरेको छ । योजनामा एक घरबाट एक व्यक्ति समावेश गराइने छ । 

रोजगारका लागि आवेदन दिने व्यक्ति स्वयम् नै रोजगारमा सहभागी हुनुपर्ने, १६ वर्ष पूरा भई ५९ वर्ष ननाघेको हुनुपर्ने र प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी नभएका परिवारका व्यक्तिलाई यस योजनामा समावेश गराइने नगरपालिकाका प्रशासकीय अधिकृत रामहरि रिजालले बताउनुभयो । 

रोजगारमा सहभागी हुने व्यक्तिले वडा कार्यालयले तोकेको काम गर्नुपर्ने छ । रोजगारमा सहभागी हुने व्यक्तिहरुलाई वडा कार्यालयबाट श्रमको भुक्तानी दिइने नगरपालिकाले जनाएको छ । काम गर्दा सामाजिक दूरी र व्यक्तिगत सुरक्षालाई पनि ध्यान दिइने जनाइएको छ । 

नगरपालिकाका अनुसार वडा र पालिका स्तरका विकास योजना सम्पन्न नहुञ्जेल रोजगार योजना सञ्चालन गरिने छ । झण्डै १ करोड रुपैयाँको रोजगार योजना रहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । नगरको रोजगार योजनासँगै प्रधानमन्त्री रोजगार कार्यक्रम पनि सञ्चालन गर्ने तयारी भइरहेको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

रोजगार योजनाले गरिब, विपन्न र ज्याला मजदुरी गरेर खाने परिवारलाई निकै सहयोग पुग्ने नगरबासीले बताएका छन् । साँझ बिहानको छाक टार्न समस्या परिरहेको बेला नगरपालिकाले वडामै रोजगार दिने योजना ल्याउँदा ज्यालादारी गर्ने परिवारका सदस्यहरु खुशी भएको वडा नम्बर ७ का अध्यक्ष पदमबहादुर खड्काले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया