तरकारी बाेक्ने गाडीमा मान्छे बाेकेको पाइएपछि चालकसहित क्वरेण्टीनमा

 जेठ २, २०७७ शुक्रबार २०:५६:२७ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – विश्वभर कोरोना भाइरस (कोभिड-१९) को सन्त्रास बढिरहेको बेला नेपालमा पनि लकडाउन घाेषणा गरिएकाे छ । तर लकडाउनको समयमा सङ्खुवासभाको सदरमुकाम खाँदबारी बजारमा सामान बोक्ने गाडीमा तीन जना मानिसहरु लुकाएर ल्याएको पाइएको छ । 

खाँदबारीको पोखरी बजारमा तरकारी पसल सञ्चालन गरिरहेका धिरज चौधरीले तरकारी ल्याएको बहानामा गाडीभित्र तीन जना मानिस लुकाएर ल्याएको पाएपछि उनीहरुलाई खाँदबारीको क्वरेण्टीनमा राखिएको हो ।

उनले यसअघि पनि यात्रु ओसारप्रसार गर्ने गरेको स्थानीयले आरोप लगाएपछि फलफुल तथा तरकारीसहित तीन जनालाई जिल्ला बाहिरबाट ल्याएको अवस्थामा प्रहरीले उनीहरुलाई नाकामा समातेको हो । 

खाँदबारी नगरपालिका र चैनपुर नगरपालिकाको सिमानामा रहेको सभाखोलाको प्रहरी चेक पोस्टमा गाडी जाँच गर्ने क्रममा उनले अरुण तेस्रोमा काम गर्ने दुई जना र अन्य एक जनालाई तरकारी बोकेको गाडीमा लुकाएर ल्याएका हुन् ।  

उनीहरु तीन जनालाई नै खाँदबारीको वरुण बहुमुखी क्याम्पसको क्वरेण्टीनमा राखिएको खाँदबारी नगरपालिकाका नगर स्वास्थ्य संयोजक दिलिप श्रेष्ठले जानकारी दिनुभयो ।

पछिल्लो समय सङ्खुवासभामा निर्माणाधीन नाै सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत कामदारहरु तराईँका विभिन्न जिल्ला र भारतबाट आवत जावत गरिरहेको स्थानीयहरुले आरोप लगाएका छन् । उनीहरुको आवात जावत पूर्णरुपमा बन्द गर्नुपर्ने उनीहरुको भनाइ छ । 

यसअघि भोटखोला र मकालु गाउँपालिकाबाट सामान बोक्ने ट्र्याक्टरकाे बोराभित्र मानिस लुकाएर ल्याउँदै गर्दा चिचिला चेक पोस्टमा रहेका प्रहरीले समातेका थिए ।

अहिले सदरमुकाम खाँदबारीको क्वरेण्टीनमा १७ जना राखिएको छ । जिल्लाभर क्वरेण्टीन बेडकाे सङ्ख्या एक सय २७ छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया