काेराेना सङ्क्रमणकाे आशङ्कामा बर्दियाकाे लालपुर सिल

 जेठ ३, २०७७ शनिबार १९:१८:५४ | भावुक योगी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य मन्त्रालयले कोरोना सङ्क्रमितको ठेगाना र सङ्ख्यासहित शनिबार बिहान निकालेको विज्ञप्ति अनुसार बर्दियाको नार्खु ११ भन्ने ठाउँ लालपुर हुनसक्ने आशङ्कामा गाउँ नै सिल गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बर्दियाको नार्खु ११ मा एक महिलामा कोरोना पोजेटिभ देखिएको भनी प्रेस विज्ञप्ति निकालेपछि बर्दियामा नार्खु भन्ने ठाउँ नभएकाले गुलरिया नगरपालिकाको हो कि भन्ने आशङ्कामा लालपुर गाउँ सिल गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो ।

‘नार्खु भन्ने ठेगाना अझै पत्ता लागेन, नार्खु चाहिँ होइन । स्थानीयसँग सोधपुछ गर्दा गुलरियाको लालपुर हो कि भन्ने आशङ्का गरिएको छ, अझै यकिन भएको छैन, तर पनि आशङ्कामा अहिले लालपुर गाउँ सिल गरी स्वास्थ्य मन्त्रालयमा थप बुझिरहेका छौँ',  स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताउनुभयो ।

काठमाण्डाैमा बस्दै आएका, बर्दियाको गुलरिया नगरपालिका ११ लालपुर गाउँमा घर भएका र मासु पसल सञ्चालन गर्दै आउका उनी काठमाण्डाैमा छन् । लकडाउन सुरु हुनुअघि ट्रक चढेर काठमाण्डाैबाट बर्दिया आएका र वैशाख मसान्ततिर काठमाण्डाै फर्केका उनको जाँच गर्दा कोरोना पोजेटिभ देखिएको जानकारी प्राप्त भएको जनाइएको छ ।

अझै पुष्टि भएको छैन, टेलिफोनबाट सोधपुछका क्रममा हुनसक्ने देखिन्छ, पुष्टि भएमा जोखिम बढ्न सक्ने भन्दै अहिले गुलरिया नगरपालिका ११ को लालपुर गाउँलाई सिल गरिएको छ र लालपुर गाउँमा कोरोना परीक्षण गर्ने तयारी थालिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो ।

बर्दियामा शनिबार बिहान कोरोना सङ्क्रमण भेटिएको भनिएको व्यक्ति महिला नभएर पुरुष हुनसक्ने आशङ्का पनि गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बर्दियाको नार्खु ११ की २८ वर्षीया महिलामा कोरोना सङ्क्रमण भेटिएको प्रेस विज्ञप्तिमार्फत जनाएको थियो । मन्त्रालयले भने अनुसार बर्दियामा नार्खु नाम गरेको कुनै गाउँ नै नरहेको र सङ्क्रमित व्यक्ति पनि महिला नभएर बर्दिया गुलरिया ११ लालपुर गाउँका पुरुष भएको हुनसक्ने स्थानीयसँगको सोधपुछपछि आशङ्का गरिएको गिरीले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयले शनिबार बिहान बर्दियाको नार्खु ११ की एक महिलामा कोरोना पोजेटिभ देखिएको प्रेस विज्ञप्ति निकालेपछि बर्दियामा नार्खु भन्ने ठाउँ पत्ता नलागेपछि स्थानीयमा त्रास फैलिएको छ । स्वास्थ्य मन्त्रालयले निकालेकाे प्रेस विज्ञप्तिमा बर्दिया नार्खु ११ की सङ्क्रमित भन्ने अपुष्ट ठेगानाले जिल्लाभर त्रास फैलिएको बर्दियाका प्रजिअ लामिछानले बताउनुभयो ।

ठेगाना अपुष्ट भए पनि मन्त्रालयले निकालेको विज्ञप्ति अनुसार कोरोना सङ्क्रमित बर्दियाकै रहेको वा नरहेको पुष्टि भने अझै भएको छैन । यसअघि सोमबार बर्दियाको राजापुर ५ मा ११ वर्षीया बालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अहिले उनको बाँकेको खजुरामा रहेकाे कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ । उनीसँगै रहेकी हजुरआमासहित उनको सम्पर्कमा रहेका ३९ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया