भारतबाट फर्किएकाको अनुरोध : पालिकाले रोजगारीको व्यवस्था गरिदेओस्

 जेठ ५, २०७७ सोमबार २०:५४:३५ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – रोजगारीको सिलसिलामा भारतलगायत अन्य देश गएर फर्किएकाहरुले राेजगारी सिर्जना गरिदिन पालिकालाई आग्रह गरेका छन् । लकडाउनमा गाउँ फर्किएकाहरुले रोजगारीको लागि अन्यत्र जानसक्ने अवस्था नभएको भन्दै आफ्नै गाउँमा रोजगारीकाे कार्यक्रम सुरु गर्न आग्रह गरेका हुन् । 

भारतको रामपुरमा अलपत्र परेका थलारा गाँउपालिकाका ९३ जनालाई सोमबार विभिन्न राजनीतिक दल तथा पालिकाको विषेश पहलमा उद्धार गरिएको थियो । 

भारतमा बस्दा निकै दुःख पाएको बताउँदै उनीहरुले रोजगारीकाे लागि भारत नजाने भन्दै पालिकासँग यस्तो आग्रह गरेका हुन् । झण्डै पाँच वर्ष भारतमा बसेर घर फर्किएका थलाराका प्रकाश बोहोराले भारतमा बस्दा निकै कष्टकर जीवन बिताउनुपरेको गुनासो गर्नुभयो ।  

गाँउपालिकाकै लोकेशबहादुर थापाले पनि घरायसी खर्च टार्न भारत जानुपरेको गुनासो गर्नुभयो । थापा, बोहोराजस्तै एक दशकभन्दा बढी भारत बस्नुभएका भरत थापाले पालिकाले सहयोग गरे गाउँमै  कृषि व्यवसाय गर्ने सोच बनाउनुभएको छ । 

आफूसँग लगानी गर्न रकम नभएका कारण पालिकाले पहल गरिदिनुपर्ने उनीहरुको भनाइ छ । गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले यसका लागि अहिले सरकारले ल्याएकाे प्रधानमन्त्री स्वरोजगारकाे कार्यक्रमहरुलाई आफूहरुले प्राथमिता दिएको बताउनुभयो । 

उहाँले भारतमा रोजगारी गर्ने हजारौँको सङ्ख्यामा भएका कारण पालिकादेखि प्रदेश र सङ्घीय सरकारले यसमा चासो दिन आवश्यक रहेको बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया