अब कोरोनासँगै बाँच्न सिक्नुपर्छ

 जेठ २६, २०७७ सोमबार १०:१०:१२ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डाै - नेपालमा पहिलो कोरोना सङ्क्रमित गएको माघ १० मा भेटिएका हुन् । पहिलो सङ्क्रमित भेटिएको दुई महिनापछि चैत १० मा दोश्रो सङ्क्रमित भेटिए । दोश्रो सङ्क्रमित भेटिएको भोलिपल्टदेखि नेपालमा लकडाउन सुरु भयो । मानिसहरु घरभित्रै थुनिए । 

दोश्रो सङ्क्रमित भेटिएको दुई महिना अर्थात जेठ १० गतेसम्म नेपालमा पाँच सय ८४ जनामा कोरोना पुष्टि भयो । जेठ १३ गतेसम्म पनि नेपालमा दैनिक सयभन्दा थोरै सङ्क्रमित भेटिए ।

जेठ १४ गते एकैदिन एक सय १४ जना नयाँ सङ्क्रमित भेटिएपछि नेपालमा दैनिक सयभन्दा धेरै सङ्क्रमित थपिन थाले । 

जेठ १० पछिको १५ दिनमा मात्रै २८ सय ६४ जना नयाँ सङ्क्रमित थपिएर आइतबारसम्म सङ्क्रमितको संख्या तीन हजार चार सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सङ्क्रमण पुष्टि भएकाहरुमा भारतबाट घर फर्किएकाहरु धेरै छन् भने यहीँ रहेकाहरुमा पनि सङ्क्रमण भेटिएको छ । कतिपय सङ्क्रमितलाई कोबाट भाइरस सर्‍यो भन्ने यकिन समेत भएको छैन । 

नेपालमा कोरोना सङ्क्रमणबाट पहिलोपटक जेठ १ गते राति एक जना सुत्केरीको ज्यान गएको थियो । आइतबारसम्म कोरोना सङ्क्रमण भएर १३ जनाको ज्यान गएको छ । सङ्क्रमित र ज्यान जानेको संख्या थपिने क्रम बढिरहेकै बेला लकडाउन खुकुलो बनाउने तयारी छ ।

सरकारले आधारिक रुपमा लकडाउन खुकुलो भएको नभने पनि सडकमा मानिसको भिड बढेको छ । मानिसको दैनिकी अप्ठ्यारोमा परेकोले घरबाहिर निस्कनु बाध्यता बन्यो । तर यसबाट कतै सङ्क्रमण डढेलोझैँ फैलिने त हैन भनेर धेरैमा चिन्ता थपिएको छ । 

भिडभाडसँगै चुनौती बढ्यो

कोरोना भाइरस मानिसबाट मानिसमा सर्ने भएकोले भिडभाड बढ्नु भनेको कोरोना फैलनका लागि अनुकूल वातावारण हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारी परीक्षणको दायरा बढाइएकोले सङ्क्रमित भेटिने क्रम बढेकोले अरु धेरैमा सङ्क्रमण हुन सक्ने बताउनुहुन्छ ।

धेरैमा सामान्य लक्षण समेत नदेखिने तर त्यस्ता व्यक्तिले भाइरस सार्न सक्ने भएकोले यही अवस्थामा मानिसहरु भिडभाडमा जाँदा भाइरस सर्ने चुनौती हुने राजभण्डारी बताउनुहुन्छ । 

पछिल्लो १५ दिनमा सीमित परीक्षणमै पनि दैनिक २-३ सय सङ्क्रमित भेटिएका छन् । थोरै जनसंख्या भएको र अहिलेसम्म पनि लकडाउनकै अवस्था रहेकोले यो संख्या धेरै हो । नेपालमा ज्यान गुमाउने संख्या पनि चार प्रतिशतभन्दा धेरै छ ।

त्यसैले बढ्दो सङ्क्रमण, ज्यान जाने दर र पछिल्ला दिनमा सङ्क्रमण फैलिएका देशहरुबाट मानिस आउने क्रम बढेकोले अबको एक-दुई महिना नेपालको अवस्था चुनौतीपूर्ण रहेको विज्ञहरु बताउँछन् । 

कोरोनासँगै बाँच्न सिक्नुपर्छ  

नेपालमा कोरोना सङ्क्रमणको अवस्था डरलाग्दो छ । तर पनि मानिसहरुले कोरोना भाइरससँगै बाँच्न सिक्नुपर्ने निर्देशक राजभण्डारी बताउनुहुन्छ । खोप तथा औषधि बनेर ६० प्रतिशतभन्दा बढी मानिसमा पुग्न अझै धेरै समय लाग्छ । झण्डै ४-५ वर्ष नै कोरोना भाइरस समाजमा रहिरहने भएकोले भाइरससँगै बाँच्न सिक्नुको विकल्प नभएको राजभण्डारी बताउनुहुन्छ । 

साढे दुई महिनासम्म घरभित्रै थुनिनुपर्दा खान नपाएर मानिस मर्न थालेका खबरहरु आउन थाले । काम गुमाएका मानिसहरु सयौं किलोमिटर पैदल भोकभोकै हिँड्न बाध्य भए । धेरैको रोजगारी गुम्यो । व्यवसायहरु टाट पल्टिए ।

कतिपय व्यवसायीहरु अब उठ्नै नसक्नेगरी थलिएको बताउँछन् । विश्व बैंकले कोरोनाका कारण विश्वमा गरिबी थप बढ्ने बताएको छ । भाइरसको खोप र औषधि दुवै बनेको छैन । यसको लागि अझै समय लाग्छ । यसैले अब लामो समय घरभित्र थुनिन असंभव भएकोले कोरोनासँगै बाँच्न सिक्नुपर्ने विज्ञहरु बताउँछन् । 

हरेक पाइलामा सावधानी

कोरोना भाइरससँगै बाँच्नको लागि विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले भनेको आधारभूत कुराहरु व्यवहारमा सँधै लागू गर्नुपर्छ । घरबाट बाहिर निस्कंदा हरेक पाइलामा कोरोना हुन सक्ने भन्दै ख्याल गर्नुपर्ने विज्ञहरु बताउँछन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारी भन्नुहुन्छ, “सकेसम्म भिडभाडमा नजाने, आफ्नो व्यवसायमा भिडभाड नहुने गरी दुरी कायम गर्ने वातावारण बनाउने, बाहिर निस्कनै पर्दा मास्क लगाउने, बारम्बार साबुनपानीले मिचिमिची हात धुने, हात नधोई अनुहार नछुने, घरबाहिर गएर फर्किएपछि राम्रोसँग साबुनपानीले हात धोएर मात्रै अरु काम गर्ने, साथीभाइ वा जोसँग पनि सकेसम्म एक-दुइ मिटर दुरी कायम गरेर बस्ने जस्ता आधारभूत उपायहरु अब लामो समय अपनाउनुपर्छ ।”

कोरानोना हाम्रो समाजमा पसिसकेको छ । अब यसलाई निमिट्यान्न पार्न असम्भव जस्तै बनेको विज्ञहरु बताउँछन् । खोप र औषधि पत्ता लगाउनै सकिएको छैन । तयार भएमा पनि हामीकहाँ आइपुग्न अझै एक वर्षभन्दा बढी लाग्न सक्छ । रोगलाई सामान्य अवस्थामा ल्याउन ६० प्रतिशतभन्दा धेरै मानिसलाई प्रतिरोधी बनाउनुपर्ने विज्ञहरु बताउँछन् ।

यसको अर्थ ६० प्रतिशतभन्दा धेरै मानिसलाई खोप लगाउनुपर्छ । यसो गर्न निकै ढिला हुने भएकोले त्यत्तिञ्जेल घरभित्र थुनिन सकिंदैन । आफ्ना दैनिक काम सुरु गर्नुपर्छ । तर सावधानी भने आश्यक छ । यदि कोरोनाको सङ्क्रमण भैहालेमा पनि म कोरोनालाई जित्न सक्छु भन्ने आत्मविश्वास राख्न र सावधानीका आधारभूत उपाय नछाड्न विज्ञहरु सुझाव दिन्छन् । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया