अङ्ग्रेजसँगको युद्धमा वीरगति प्राप्त गरेका योद्धाहरुमा प्राण भर्दै मूर्तिकार तुलाधर

 असार २, २०७७ मंगलबार ९:१५:४७ | कुमार रञ्जित
unn.prixa.net

काठमाण्डौ - मूर्तिकार राजु तुलाधरले सुगौली सन्धिअघि नेपालकातर्फबाट लडेर वीरगति प्राप्त गरेका योद्धाहरुको प्रतिमा बनाउनु भएकाे छ ।

नेपालले आफ्नो भूमि रक्षाका लागि गरेको युद्ध र सम्झौताको इतिहासमा सधैँ चर्चित र आलो घाउजस्तै बनिरहेको नेपाल–अङ्ग्रेज युद्ध र त्यसपछि भएको सुगौली सन्धिअघि नेपालकातर्फबाट लडेर वीरगति प्राप्त गरेका योद्धाहरुको प्रतिमा बनाएर तुलाधरले वीर आत्माहरुमा प्राण भर्नुभएको हाे ।

इस्वी सन् १८१४ देखि १८१६ सम्म दुई वर्ष तात्कालीन नेपाल अधिराज्य र ब्रिटिश इस्ट इण्डिया कम्पनीबीच भएको युद्ध र त्यसपछि भारतीय भूमि सुगौलीमा सन्धि भएर नेपालले आफ्नो एक तिहाई भूभाग बेलायतलाई सुम्पनु परेकोलाई ‘एङ्ग्लो–नेपाल युद्ध’ भन्ने गरिएको छ । 

वीरगति प्राप्त सैनिकहरुका ढलोटबाट बनेका अर्धकदका ५० केजीभन्दा बढीका प्रतिमाहरु मूर्तिकार तुलाधरले बढीमा दुई महिना र घटीमा १८ दिनमा तयार गर्नुभएको थियो । 

त्यसअघि नेपालमाथि ब्रिटिश इस्ट इण्डिया कम्पनी सरकारले मोरङ, मकवानपुर, बुटवल, अल्मोडा, कुमाउँ, नाहन, जैथक, मलाउँ, देउथल र नालापानी जस्ता स्थानमा आक्रमण गरेको थियो ।

त्यस युद्धमा वीरगति प्राप्त गरेका वीर नेपाली सैनिकहरुको अर्धकदको प्रतिमा बनाइएको छ । ती प्रतिमालाई युद्धभूमि जीतगढमा स्थापना गरेर देशको सैन्य इतिहासकै गौरव बढाउने निर्णय गरिए अनुरुप नेपाली सेनाको मुख्यालयले १३ जना वीरहरुको नामावली पठाएकोमा ६ जनाको प्रतिमा पूर्णरुपमा तयार भइसकेको छ । यी प्रतिमालाई स्थापना गर्न जीतपुर पठाउने अन्तिम तयारी गरिएको छ ।

काठमाण्डौको बाफलका युवा मूर्तिकार राजु तुलाधरले बनाएका ती प्रतिमा वीरगति प्राप्त योद्धाहरु जूठे बस्नेत, कुम्भेदान कृपासुर थापा, हवल्दार रनसुर बानिया, जम्दार सुरवीर बोहरा, सिपाही हंसवीर अधिकारी, थरधर नहकुल बानिया, समशेर रानामगर, लेफ्टिनेन्ट अम्बर अधिकारी, काजी वीरमञ्ज पाँडे, दलखम्भ थापा, सरदार सुर्जे थापा, कुम्भेदान वृषसुर थापा र जम्दार भीमसेन देउजाका छन् । 

यसअघि उहाँले बनाएको काजी उजीरसिंह थापाको प्रतिमा एक वर्षअघि नै जीतपुरको गौरवका रुपमा सजाइसकिएको छ । चर्चित ‘एङ्ग्लो–नेपाल युद्ध’ मा वीरगति प्राप्त गरेका यी सबै योद्धाका नाम इतिहासका विद्यार्थीले पनि सहजै पढ्न पाएका थिएनन् । प्राप्त विभिन्न स्रोत सामाग्रीहरुमा उपल्लो दर्जाका केही वीरहरुका नाम मात्रै उल्लेख थियो । 

अब ती सबै वीरहरुका नाम साथै प्रतिमाहरुसमेत सबैका लागि सुलभ हुने भएकाले यो नेपाली सैनिक इतिहासकै महत्वपूर्ण पक्ष बन्ने निश्चित छ । 

वीरगति प्राप्त सैनिकहरुका ढलोटबाट बनेका अर्धकदका ५० केजीभन्दा बढीका प्रतिमाहरु मूर्तिकार तुलाधरले बढीमा दुई महिना र घटीमा १८ दिनमा तयार गर्नुभएको थियो । 

त्यसका लागि उहाँले नेपाली सेनाबाट पठाइएको वीर योद्धाहरुका स्केचका साथै युद्ध इतिहासको समेत अध्ययन गर्नुभएको थियो । 
त्यसक्रममा उहाँले तात्कालीन सेनाका दर्जा अनुरुपका वेषभूषा र दज्र्यानी चिह्नहरुको स्पष्ट पहिचान गरेर प्रतिमाहरुमा झल्काउनुपर्ने हुँदा सेनाको इतिहासविज्ञहरुका सुझाव पनि लिनुभएको थियो । 

मूर्तिकार तुलाधरले बनाएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा छिमेकी देश चीनको स्वशासित प्रान्त ल्हासामा राखिएको छ भने श्रीजङ्ग सुब्बाको प्रतिमा भारतको दार्जीलिङमा राखिएको छ । 

विज्ञहरुका अनुसार दर्ज्यानी चिह्नहरुमा चन्द्र, सूर्य, सुन र चाँदीका विशेष प्रतीक सजाइएका हुन्थे । 

ती वीरहरुले आफूहरु तालिमप्राप्त सैन्य नभए पनि भर्खरै सुदृढ हुँदै गरेको थोरै मात्र जनसङ्ख्या भएको नेपालका तर्फबाट बहादुरीपूर्वक लडेका थिए । 

त्यस युद्धमा नेपाली योद्धाहरुका बहादुरीबारे अङ्ग्रेज जनरल अक्टर लोनी, जनरल जिलेस्पी, जनरल मार्ले र जनरल वुडले प्रशस्तै शब्द खर्चेर प्रशंसा गरेका कुरा इतिहासकारहरुले उल्लेख गर्ने गरेका छन् । 

त्यस युद्धमा नेपालविरुद्ध लडेर भन्दा नेपालसँग सन्धि गरेर बढी फाइदा लिन सकिने देखेर अन्ततः अङ्ग्रेजहरुले सन्धिको प्रस्ताव राखेका थिए । थोरै सैन्यशक्ति र संसाधन लिएर लडेको नेपालले सुदूरपश्चिममा बहादुरीपूर्वक लड्दै युद्ध हार्नुपरे पनि मकवानपुरमा भने अङ्ग्रेज सेनालाई हराएको थियो । 

सुगौली सन्धिमार्फत् युद्धको समाप्ति भएपछि नेपाली वीर योद्धाहरुको सम्मान अङ्ग्रेज सरकारले समेत गर्नुपरेको थियो । 

त्यसै युद्धको समाप्तिपछि अङ्ग्रेजहरुले बहादुर नेपाली सेनालाई आफ्नो सेना (शिरमोर बटालियन) मा भर्ती गर्ने कार्यको थालनी लाहोरबाट सुरु गरेको थियो । त्यसैबेलादेखि नेपाली समाजमा ‘लाहुरे’ शब्दले प्रवेश पाएको बताइन्छ । 

यसअघि चर्चित मधेश आन्दोलनका शहीदहरुका प्रतिमा पनि बनाएका मूर्तिकार तुलाधरले बाल्यकालदेखि नै आफ्ना पिता बालकृष्ण तुलाधरबाट मूर्तिकला सिक्दै आएनुभएको हो । 

विभिन्न राष्ट्रिय प्रतियोगिताहरुमा पनि भाग लिइसक्नुभएका मूर्तिकार तुलाधरले बनाएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा छिमेकी देश चीनको स्वशासित प्रान्त ल्हासामा राखिएको छ भने श्रीजङ्ग सुब्बाको प्रतिमा भारतको दार्जीलिङमा राखिएको छ । 

मूर्ति र प्रतिमाहरु बनाएर थुप्रै सम्मान प्राप्त गरिसक्नुभएका तुलाधरले राष्ट्रिय स्तरका कुनै पुरस्कार भने प्राप्त गर्नुभएको छैन । त्यसका लागि आफू कतै नधाएको पनि उहाँ बताउनुहुन्छ ।

ऐतिहासिक ‘एङ्ग्लो–नेपाल युद्ध’ मा वीरगति प्राप्त गरेका योद्धाहरुका प्रतिमा बनाउँदा आफूलाई अत्यन्तै सन्तुष्टि महसुस भएको बताउँदै मूर्तिकार तुलाधरले अहिले भैरहेको सुगौली सन्धिको चर्चाले आफ्नो कलाकृतिलाई जीवन्तता प्रदान गर्ने साथै अमर वीरगाथाको महत्व बढाउने विश्वास व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

कुमार रञ्जित

उज्यालोमा कार्यरत कुमार रञ्जित तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया