जो सबैको मलाम गए, उनैले पाएनन् मलामी

 असार ४, २०७७ बिहिबार १७:२१:२१ | सीताराम ओझा
unn.prixa.net

मृतककाे शव व्यवस्थापन गर्ने तयारी गरिँदै

कैलाली – उनी एक व्यवसायीमात्र थिएनन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रतिबद्ध कार्यकर्ता पनि थिए र उनले आफ्नो पहिचान कुनै पार्टीको कार्यकर्ताको रुपमा मात्रै सीमित राखेनन् । उनी भ्याएसम्म सबैको मलाम जान्थे । विवाह तथा सामाजिक कार्यहरुमा सहभागिता जनाउन पनि उनी चुक्थेनन् । कोरोना सङ्क्रमण भइसक्दा पनि उनको सक्रियता कम भएन । किनकि उनलाई आफू सङ्क्रमित भएको थाहा थिएन । त्यहीबीचमा पनि उनी विवाहमा गए, मलाम गए । 

थाहै नपाइ उनलाई कोरोनाले गलाइसकेको थियो तर उनी थाकेका थिएनन् । अन्तिम समयसम्म पनि परिवारले उनलाई काठमाण्डौ लैजाने हरसम्भव प्रयत्न गर्‍याे । परिवारका सदस्यहरुले हेलिकप्टर तथा एअर एम्बुलेन्सको व्यवस्थापनको लागि पालिकालाई गुहारे । प्रदेश सरकारसँग अनुनय विनय गरे । सङ्घीय सरकारसँग आग्रह गरिरहे ।

निकै मेहनतपछि बुधबार उनलाई काठमाण्डौ लैजान वायु सेवा निगमको जहाजको व्यवस्थापन भएको थियो तर त्यतिबेलासम्म निकै ढिला भइसकेको थियो । राति ७ बजेर ५२ मिनेटमा उनले सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा अन्तिम श्वास फेरे । 

गोदावरी नगरपालिका ४ का ४६ वर्षीय बस व्यवसायीको कोरोनाको कारण मृत्यु भएपछि यतिबेला सामाजिक सञ्जालमा उनको मृत्युमा समवेदना र परिवारप्रति सहानुभूति दिने क्रम जारी छ । यद्दपि यति धेरै मान्छेले समवेदना र श्रद्धाञ्जली दिइँरहदा उनको शवमा फूल र धुप चढाउने कोही थिएनन् । उनको शवमा दागबत्ती दिने कोही थिएनन् । जो भ्याएसम्म सबैको मलाम गए, उनकै मलामी कोही थिएनन् ।

मृत्युभन्दा ठूलो क्षति अर्को छैन र योभन्दा ठूलो पीडा परिवार र प्रियजनका लागि अर्को हुँदैन । कोरोना सङ्क्रमण र यसबाट हुने मृत्यु कति पीडादायी हुन्छ, त्यसको उदाहरण हो उनको मृत्यु । 

बिहीबार दिउँसो धनगढी उपमहानगरपालिका २ मोहना नदीको घाटमा उनको शवको अन्त्येष्टि हुँदै गर्दा परिवारका १० जनामात्र त्यहाँ थिए । उनीहरुले पनि नजिकबाट शव हेर्न पाएनन । नेपाली सेनाको टोलीले शवको अन्त्येष्टि गर्‍याे । सेनाले अन्तिम संस्कारको लागि पण्डित पनि सँगै लगेको थियो । केही दिनअघि मात्र कोरोनाको कारण मृत्यु भएकाको शव व्यवस्थापन गर्ने तालिम लिएको नेपाली सेनाको भवानी दल गणको टिमले उनको शवको अन्त्येष्टि गर्‍याे । 

कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव जलाउन जोखिम हुने भएकोले गाड्ने गरिएको छ । त्यही कारण उनको शव जलाइएन । सेनाले नै अन्तिम संस्कारका सबै विधि पुर्‍याएर शव गाडे र सेना ब्यारेकमा फिर्ता भयो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया