कतारबाट यात्रु र शव लिएर आएको जहाज काठमाण्डौमा अवतरण, आजै मात्रै आयो २४ नेपालीको शव

 असार ५, २०७७ शुक्रबार १२:५६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कतारबाट ४३ जना नेपाली स्वदेश फर्किएका छन् । कतारमा समस्यामा परेका ४३ जना नेपाली र २० वटा शव लिएर आएको कतार एअरवेजको चार्टर्ड जहाज केहीबेरअघि त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार बर्दिया मोतिपुरका सिकराम थारु, सर्लाहीको ईश्वरपुरका अरुनकुमार पजियार, महोत्तरीका शिवशंकर रावत, धनुषाका छुत्रवा मण्डर खत्वे, मकवानपुरका जितेन्द्र थापामगर, रुपन्देहीका यामबहादुर थापा, सिरहाका कसिन्द्र यादव, सर्लाहीका कसिन्द्र यादव र मनोज पासवान र महोत्तरीका अनिल चौधरीको शव आएको छ ।

यस्तै कपिलवस्तुका मोहम्मद अलाम मुसलमान, सिरहाका मुस्तक सैश र रुपेशकुमार मण्डल, लमजुङका कुम्बा तामाङ, बाँकेका भक्तबहादुर थापा मगर, सप्तरीका राजेन्द्रप्रसाद मण्डल, मोरङ्का युवराज अधिकारी, भोजपुरका धर्मकुमार थापा, उदयपुरका मिनबहादुर थापा, सुर्खेतका निरबहादुर कामी र भोजपुरका मंगलबहादुर तामाङको शव आएको कार्यकारी निर्देशक श्रेठले जानकारी दिनुभयो ।

यस्तै आजै कुवेतबाट नेपाली लिएर आउने जजिरा एअरले पनि २ वटा शव ल्याएको छ । नुवाकोटकी सोनी तामाङ र संखुुवासभाका मानबहादुर आलेको शव कुवेतबाट आएको हो ।

यूएईबाट पनि सिन्धुपाल्चोकको पेम्बा नुर्बू शेर्पाको शव नेपाल एअरलाइन्समार्फत आजै स्वदेश ल्याइएको छ । आजै साउदीको दमामबाट आएको हिमालय एअरलाइन्सको चार्टर्ड जहाजले पनि एउटा शव ल्याएको छ । सअघि कुवेतबाट ३, ओमानबाट १ र यूएईबाट १ जनाको शव ल्याइएको छ ।

शव घरसम्म बोर्डले पुर्‍याइदिने

विदेशबाट ल्याइएका शव वैदेशिक रोजगार बोर्डले निःशुल्क घरसम्म पुर्‍याउने गर्छ । त्यसका लागि परिवारले नै काठमाण्डौ आएर निःशुल्क शव ढुवानीका लागि निवेदन दिनुपर्ने व्यवस्था छ । तर अहिले कोरोनाको कारण उपत्यका बाहिरबाट काठमाण्डौ आउन सम्भव नभएकाले बोर्ड आफैंले विदेशबाट ल्याइएका शव बुझेर सम्बन्धित घरसम्म पुर्‍यायइदिने बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार बोर्डले मृतकको आफन्तसँग समन्वय गर्नेछ । 

‘विभिन्न जिल्लाबाट शव बुझ्न काठमाण्डौसम्म आउन सम्भव नहुन सक्छ, त्यसैले बोर्डको तर्फबाट शव बाहनका चालकले नै शव बुझ्नुहुन्छ र पूर्ण सुरक्षासहित परिवारले भनेको ठाउँसम्म पुर्‍याइदिनुहुन्छ’ कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो ‘सम्बन्धित ठाउँमा पुगेपछि स्थानीय प्रहरीको रोहबरमा चालकले शव आफन्तलाई बुझाएर फर्कनुहुनेछ ।’ काठमाण्डौमा आफन्त हुनेले भने विमानस्थलमा गएर शव बुझ्न सक्छन् । निःशुल्क शव ढुवानी आवश्यक परेमा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ ।

बोर्डले एक दिनमा २० वटासम्म शव ढुवानी गर्न सक्नेगरी व्यवस्थापन गरेको छ । तर परिआएको दिनको ४० वटासम्म पनि व्यवस्थापन गर्ने गरी तयारी थालेको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । सामान्य अवस्थामा दिनमा १० वटासम्म शव ढुवानी गर्ने गरिएको थियो । तर अहिले साढे दुई महिनादेखि शव विदेशमै रोकिएकाले एक दिनमै आउने संख्या धेरै भए पनि त्यही अनुसार व्यवस्थापन गर्न शव ढुवानी गर्ने गाडी तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ ।

 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया