अब कोरोना सँगसँगै जिउन सिक्नुपर्छ

 असार ८, २०७७ सोमबार ११:११:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अहिले कोरोनातिर ध्यान दिइरहँदा अरु रोग छायामा परेका छन्, ओझेलमा परेका छन् । गर्मी मौसममा झण्डै ७० प्रतिशत रोगहरु प्रदुषित पानीका कारण हुन्छन् । वर्षायाम भनेको झाडापखालादेखि आउँ, हैजा लगायत विभिन्न प्रकारका रोगहरु बढ्ने समय हो । यस्तै पानी जम्मा भएका ठाउँहरुमा लामखुट्टे बस्ने भएका कारण त्यस्ता क्षेत्रमा डेंगी, मलेरिया, चिकेनगुनिया जस्ता थुप्रै प्रकारका रोगहरु पनि फैलिरहेको अवस्था छ ।

एकातर्फ बढ्दो गर्मी छ भने अर्कोतर्फ वर्षाका कारण हरियो झारपात पनि मौलाइरहेको छ । योबेला यस्ता विभिन्न रोगहरुको सङ्क्रमणको जोखिम बढ्छ । त्यसैले अहिले कोरोनाको कारणले भन्दा पनि बढी यस्तै विभिन्न प्रकारका रोगहरुले मानिसको ज्यान गैरहेको अवस्था छ । तर वर्तमान समयमा कोरोना महामारीको त्रास भएका कारण हामीले अरु रोगहरुलाई ध्यान दिएका छैनौं, अरु रोगले पनि ज्यान गएको भन्ने कुरालाई हामीले नजरअन्दाज गरिरहेका छौं । यसले गर्दा ती रोगहरुमा हाम्रो ध्यान जान सकेको छैन र परिणामस्वरुप कोरोनाको भन्दा पनि त्यस्ता रोगहरुका कारण धेरैले ज्यान गुमाउनु परेको अवस्था छ ।

सरुवा रोग अस्पताल टेकुमै पनि अरु सरुवा रोगका बिरामीलाई भन्दा पनि बढी प्राथमिकता कोरोनाका बिरामीलाई दिइरहेको अवस्था छ । यसले पछि विभिन्न चुनौती तथा अप्ठ्यारो अवस्था निम्त्याउन सक्छ ।

हुन त यो अस्पतालको क्षमतामा पनि भर पर्ने कुरा हो । सरुवाजन्य रोगहरु गर्मी महिनामा बढी हुने गर्छन् । अहिले सरुवा रोग अस्पताल टेकुलाई कोरोना बिरामीहरुको लागि विशेष भनेर तोकिएको छ । त्यही भएर त्यहाँ आउने अन्य सरुवा रोगका बिरामीहरुलाई कोरोना नसरोस् भन्नको लागि उहाँहरुलाई हामीले वीर अस्पताल, पाटन अस्पताल तथा अन्य अस्पतालहरुमा पठाउने गरेका छौं । तर नेपालमा सबै अस्पतालबाट रिफर गर्न सम्भव छैन । त्यही भएर अस्पतालको व्यवस्थापनले कोरोनाको बिरामीलाई छुट्टै सेवा दिनको लागि छुट्टाछुट्टै व्यवस्था गर्ने, आउने–जाने बाटो अलग्गै बनाउने र अन्य सेवालाई पनि छुट्टाछुट्टै गरेर दिन सकिन्छ । यस्तै विभिन्न रोग भएका तथा उच्च जोखिमका बिरामीहरुलाई निश्चित समय तोकेर (सिफ्ट) सेवा दिने गर्न सकिन्छ ।   

अहिले वर्षाको समयमा जल प्रदुषणका कारण झाडापखाला, आउँ, हैजा जस्ता अनेक प्रकारका रोगहरु देखिन्छन् । यस्तै गर्मी मौसममा लामखुट्टेबाट सर्ने रोगहरु जस्तै डेंगु, मलेरिया, इन्सेफ्लाइटिस देखिन्छन् । नेपालमा डेंगीको जोखिम झन् उच्च छ । यस्तै नयाँ नयाँ रोगहरु पनि आइरहेका छन् । यस्तै गर्मीको समयमा सर्पको बिगबिगी पनि बढ्छ । 

कोरोना महामारीका कारणले गर्दा आममानिमा अहिले कहाँ बसौं के गरौं भन्ने अवस्था छ । घरमा आहार बिहारका कुरामा पनि ध्यान दिन सकेका छैनन् । विभिन्न प्रकारका अभावका कारण मानिसमा चिन्ता बढेको छ, जसले गर्दा धुमपान र मद्यपानको लत बढेको छ । धुमपान र मद्यपानका कारण मानिसमा रोगसँग लड्ने क्षमता ह्रास हँुदै जाने र विभिन्न किसिमका रोगहरु लाग्ने हुन सक्छ । 

अहिले कोरोना महामारीलाई नियन्त्रण गर्नको लागि सामाजिक दूरीदेखि क्वरेण्टीनका विषयमा ध्यान दिनुपर्ने हुन्छ । कोरोना एक दुई महिना वा एक दुई वर्षमै पूर्णतया समाजबाट हराएर जाने होइन । लामो समयसम्म रहन सक्छ । त्यही भएर हामीले यो रोग सँगसँगै जिउन सिक्नुपर्छ । यो समयमा हामीले व्यक्तिगत सरसफाइका कुराहरुमा एकदमै ध्यान दिनुपर्ने हुन्छ । आफ्नो वातावरणलाई एकदमै  सफा राख्नुपर्छ । लामखुट्टेहरु बस्ने घर वरपरका पानी जम्ने ठाउँ, खाल्डाखुल्डीहरुलाई पुरिदिनुपर्छ । त्यसो गर्यो भने लामखुट्टेजन्य रोगबाट बच्न सकिन्छ । 

यस्तै अर्को महत्वपूर्ण कुरा भनेको शुद्ध पानी हो । शुद्ध पानी पिउने गर्यौं भने हामी रोगबाट ७० प्रतिशत बच्न सक्छौं । घाँसहरु भएको ठाउँमा बुटहरुको प्रयोग गर्ने, अँध्यारोमा बाहिर जाँदा ध्यान दिएर हिँड्ने गर्यौं भने सर्प तथा किराहरुको टोकाइबाट पनि बच्न सकिन्छ । यदि सावधानी अपनाउँदा अपनाउँदै पनि रोग लागिहाल्यो अथवा किरा, सर्पले टोकिहाल्यो भने विभिन्न उपायहरु अपनाउन सकिन्छ । 

अन्धविश्वासमा परेर सर्पको टोकाइपछि टोकेको ठाउँमुनी कसेर बाँध्ने, कुखुराको मलद्वारमार्फत सर्पले टोकेको ठाउँमा चुस्न लगाउने गरेको देखिन्छ । यस्ता क्रियाकलापले गर्दा सर्पको विषले शरीरमा झनै छिटो असर गर्ने हुनसक्छ । त्यसैले यस्तो अवस्थामा निकै ध्यान दिनुपर्छ ।

अनि अहिले सामान्य ज्वरो आए पनि कोरोना पो लागिहाल्यो कि भनेर धेरैजना डराउने गर्छन् । तर त्यसरी डराउनुपर्ने केही छैन । कोरोना हुनको लागि कि त सम्भावित, उच्च जोखिम भएको ठाउँमा बसेको वा त्यो ठाउँ वरपर सङ्क्रमित भएको हुनुपर्यो । अथवा कोरोनाका लक्षणहरु जस्तै सुख्खा खोकी लाग्ने, गन्ध, स्वाद थाहा नपाउने, सुन्ने शक्ति ह्रास हुँदै गएमा सजक हुनुपर्छ । यी सँगसँगै अहिले कोरोनाका बिरामीमा नयाँ नयाँ प्रकारका लक्षणहरु पनि देखिन थालेका छन् । जस्तो झाडापखाला लाग्ने, छालामा विभिन्न प्रकारका दागहरु पनि देखिन्छन् । 

तर रुघाखोकी लाग्दैमा कोरोना नै हो भन्न सकिंदैन । सामान्य भाइरल ज्वरोहरुबाट राहत पाउनको लागि हामीले घरेलु उपायहरु अपनाउन सक्छौं । त्यसको लागि हामीले तातोपानीमा बेसार हालेर पनि पिउन सक्छौं, यसले हाम्रो शरीरमा तापक्रम बढाउँछ र हामीलाई केही राहत भएको महसुस हुन्छ । यस्तै ज्वरो आएम पारासिटामोल खाएर पनि ज्वरो कम गर्न सकिन्छ । यदि ज्वरोको मात्र बढ्दै गयो भने स्वास्थ्य संस्थामा गएर पनि जँचाउन सकिन्छ ।

कोरोनाको डर जताततै छ । अहिले क्वरेण्टीनमा बसिरहेका मानिसहरु पनि डराएका छन् । किनकी त्यहाँ विभिन्न स्वास्थ्य सुरक्षाका उपायहरु अपनाइएका छैनन् । व्यवस्थित छैनन् । एउटै कोठामा धेरैलाई कोचेर राखेका छन्, त्यस्तो गर्न हुँदैन । दूरी कायम गरेर बस्ने वातावारण निर्माण गर्नुपर्छ । यस्तै शुद्ध पिउने पानी र सफा चर्पीको व्यवस्था नभएका कारण धेरैजसो क्वरेण्टीनमा बसेकाहरुलाई झाडापखाला जस्ता रोगहरु पनि लागेको पाइएको छ । यस्ता कुरामा सम्बन्धित निकायले ध्यान दिनुपर्ने हुन्छ ।

क्वरेण्टीनमा बस्ने व्यक्तिहरुले पनि यो आफ्नै ठाउँ हो भन्ने सोचेर सरसफाइ गर्नुपर्ने हुन्छ । १४ दिन बसेर जाने  त हुँ भनेर लापरबाही गर्नु हुँदैन । यस्तै त्यहाँ भित्र बस्दा मनमा विभिन्न कुराहरु खेल्न सक्छन् । यस्तोमा मनलाई एकाग्र बनाएर राख्नुपर्छ । सकेसम्म किताब पढ्ने, साहित्य सिर्जना गर्ने जस्ता सिर्जनशील काम गर्न सकिन्छ । 

क्वरेण्टीनमा सकेसम्म स्वास्थ्य चिकित्सक राख्नुपर्ने हुन्छ । समस्या परेमा उहाँलाई तत्कालै सम्पर्क गर्न सकियोस् । यस्तै कतिबेला आपतकालीन अवस्था पनि आउन सक्छ, कसैलाई एक्कासी कुनै स्वास्थ्य समस्या भइहाल्यो भने त्यसको लागि एम्बुलेन्स पनि तयारी अवस्थामा राख्नुपर्छ । 

अहिले भारतलगायत विदेशबाट पनि धेरै नेपालीहरु आउनुभएको छ र आउने क्रम पनि जारी छ । तर विदेशबाट आउने कतिपयको स्वास्थ्य परीक्षण गरिएको छैन । नेपाल फर्किएपछि कोरोना सङक्रमण भएको पुष्टि भइरहेका छन् । भारतबाट फर्किनेहरुको अवस्था पनि त्यस्तै छ ।

यसरी स्वदेश फर्किनेहरुलाई व्यवस्थित क्वरेण्टीनमा राखेर स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ । तर विविध कारणले गर्दा अहिले उहाँहरुको स्वास्थ्य परीक्षण गरिएको छैन । यसरी उच्च प्रकोप भएका ठाउँबाट फर्केकाहरुको स्वाब परीक्षण गर्नुपर्ने हुन्छ । परीक्षणको आधारमा उहाँहरुको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

अहिलेको बदलिंदो परिस्थितिमा आफ्नो स्वास्थ्यलाई ध्यान दिएर आफ्नो व्यक्तिगत सरसफाइमा ख्याल गर्नुपर्छ । अहिलेको अवस्थामा धुमपान, मद्यपान तथा सूर्ति गुट्खाजस्ता चिजहरु खानु हँुदैन । यस्ता बानीहरुलाई छुटाउने अवसर पनि हो यो । 

कोरोना सँगसँगै अरु सरुवो रोगहरुको पनि चुनौती छ । त्यसको लागि सरकारले सबै स्वास्थ्य सँस्थाहरुमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मीहरु खटाउनुपर्यो । औषधि उपकरणहरुको पूर्ति गरिदिनुपर्यो । कतिपय ठाउँमा गर्नुपर्ने कामहरु पनि केन्द्र सरकारले गर्छ, प्रदेशले गर्छ वा स्थानीय तहले गरिदिन्छ भनेर त्यत्तिकै रहेका हुन्छन् । यसमा सबैको ध्यान जान जरुरी हुन्छ । यस्तो कुरामा स्थानीय तहकै जिम्मेवारी हुन्छ । यस्तै कोरोना महामारीको बेला अग्रपंक्तिमा उभिएर काम गर्ने, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकारदेखि सबैको हौसला बढाउने काम सरकारले गरिदिनुपर्छ । 

(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीसँगको कुराकानीमा आधारित)


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • Dipesh

    June 22, 2020, 1:34 p.m.

    सर अब कोरोना सँगसँगै जिउन सिक्ने मात्र हैन, मर्न पनि सिकौ न तेसो गरे कसो होला | भन्न त सजिलो छ नि हजुर | ब्यवस्थापन मजबुत पर्ने कुरा राम्रो हो, तर सगै जिउने कुरा नगरौ न पिलिज सर |

  •  0 Reply

तपाईको प्रतिक्रिया