लकडाउन अवज्ञा गरी मेस्सीकाे जन्मदिन मनाउने १५ युवालाई जरिबाना

 असार ११, २०७७ बिहिबार १९:१३:४५ | रासस
unn.prixa.net

काठमाण्डाै – महामारीको समयमा लकडाउनको अवज्ञा गरी अर्जेन्टिनी फुटबलर लियोनल मेस्सीकाे जन्मदिन मनाउने बङ्गलादेशका १५ युवालाई जरिबाना गरिएको छ ।

भारतीय सीमासँग जाेडिएकाे शहर डामुरहुदामा रहेको एक क्याफेमा लकडाउनको उल्लङ्घन गरी १७ वर्षदेखि ३२ वर्ष उमेर समूहका मेस्सीका शुभेच्छुकहरूले उनकाे ३३ औँ जन्मदिन मनाइरहेका बेला बुधबार स्थानीय प्रशासक, कानुनी अधिकारी तथा प्रहरीले छापा मारेको थियो । बङ्लादेशमा अर्जेन्टिनी स्ट्राइकर मेस्सीलाई विश्वकै नमुना खेलाडी मान्ने प्रशंसकहरूको ठूलो सङ्ख्या रहेको बताउने गरिएको छ ।

क्याफेमा जन्मदिन मनाइरहेका ती व्यक्तिहरूलाई क्याफेबाहिर पुगेको घुम्ती (मोबाइल) अदालतमा उपस्थित गराइ प्रतिव्यक्ति १०० टाका (झण्डै १ दशमलव १५ अमेरिकी डलर) जरिबाना गरिएको न्यायाधीश फिराज हुसेनले बताए । महामारीमा भेला भइ निषेधित गतिविधि सञ्चालन गरेको आरोपमा क्याफेलाई ७० अमेरिकी डलर जरिबाना गरिएको उनले बताए । 
'उनीहरूले साँझमा घरबाहिर (क्याफे) मा भेला भइ सामाजिक दुरी कायम गर्नुपर्ने राज्यको नियम तथा लकडाउन आदेशको उल्लङ्घन गरेकोले जरिबाना गरिएको हो', हुसेनले एएफपीलाई बताए । 

बङ्गलादेशको सरकारले गत मार्चदेखि जारी लकडाउनको घोषणालाई क्रमशः सहज बनाउँदै गएको छ । यद्यपि सामाजिक दुरी कायम गर्ने कुरालाई भने कडाइका साथ पालना गर्न आग्रह गरिएको छ ।

बङ्गलादेशमा बिहीबारसम्म कोरोना भाइरस सङ्क्रमित एक हजार पाँच सय ८२ जनाको मृत्यु भएको छ भने एक लाख २२ हजार जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको सरकारको तथ्याङ्क रहेको छ । तर स्वास्थ्यविद्हरूले बङ्गलादेशममा पर्याप्त कोभिड–१९ परीक्षण नभएको भन्दै कोभिड–१९ सङ्क्रमित र मृतकको सङ्ख्या योभन्दा अत्यधिक बढी रहेको बताएका छन् । 

बङ्गलादेशमा फुटबल निकै लोकप्रिय खेल मानिने गरिन्छ । तर राष्ट्रिय टोली तथा खेलाडीहरूले विश्वव्यापीरूपमा व्यावसायिक खेलहरूमा खासै स्थान लिन नसक्दा यहाँका खेलप्रेमीहरूले आफ्नो समर्थन र माया विदेशी समूह वा खेलाडीलाई दिने गर्छन् ।

मेस्सीकाे जन्मदिनको पार्टी गरिएको ‘वर्ल्ड टाउन कफी हाउस’ का मालिक जाहिदुल अलामले आफूले जरिबाना तिर्नुपरेको स्वीकार गर्दै यो बङ्गलादेशी फुटबल फ्यानकाे लागि सहयोग भएको बताए । 

युवाहरूले मेस्सीकाे जन्मदिनको खुसीयाली मनाइरहेकाे समय आफूले उनीहरूलाई बलपूर्वक घर फर्काउन नसकेको अलामले बताए । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया