बर्दिया : अहिलेसम्म १४१ जनाले जिते कोरोना, अब ३९ जनामात्रै आइसोलेशनमा

 असार १८, २०७७ बिहिबार २०:२७:३९ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दियामा कोरोना भाइरसकाे सङ्क्रमणबाट निको हुनेको सङ्ख्या बढ्दै गएको छ ।

बर्दियामा बिहीबारसम्म एक सय ४१ जना कोरोनामुक्त भएर घर फर्केका छन् । कोरोना जित्नेमध्ये एक सय २७ जना पुरुष र १४ जना महिला छन् । अहिले पाँच जना महिला र ३४ जना पुरुष गरी जम्मा ३९ जनामात्र आइसोलेशनमा रहेका छन् । 

उनीहरुको बर्दियाका विभिन्न आइसोलेशन कक्षमा उपचार भइरहेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्राथमिक स्वास्थ्य केन्द्र मगरागढीको आइसोलेशनमा पाँच जना, बाँसगढीको आइसोलेशनमा एक जना, मैनापोखरमा तीन जना, शिवपुर स्वास्थ्य चौकीमा एक जना र कभर्डहल गुलरियाको आइसोलेशनमा १३ जना उपचारत छन् । 

यसैगरी बाँकेको खजुरा कोरोना विशेष अस्पतालमा चार जना, राजापुरको आइसोलेशनमा तीन जना, ठाकुरबाबा नगरपालिकाको भवनमा पाँच जना र गेरुवा गाउँपालिकाको आइसोलेशनमा चार जना उपचारका क्रममा छन् । 

बर्दियामा अहिलेसम्म आरडीटी विधिबाट १२ हजार तीन सय ९४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । त्यस्तै तीन हजार एक सय ३९ जनाको पीसीआर विधिबाट स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पीसीआर परीक्षणकाे लागि सङ्कलन गरिएको स्वाबमध्ये ९६ जनाको रिपोर्ट आउन बाँकी छ । 
       
बर्दियामा क्वरेण्टीनमा बस्नेको सङ्ख्या पनि घट्दै गइरहेको छ । बर्दियाका विभिन्न ठाउँमा रहेको क्वरेण्टीनमा अहिले सात सय ६५ जना छन् । क्वरेण्टीनमा खाली हुँदै गएपछि अधिकांंश क्वरेण्टीन बन्द गरिएका छन् । १४ दिन क्वरेण्टीनमा बस्दा कुनै लक्षण नदेखिएका व्यक्ति घर फर्केपछि क्वरेण्टीनमा बस्नेको सङ्ख्या कमी हुँदै गएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

अर्कोतर्फ भारतलगायत अन्य ठाउँबाट आउने क्रम पनि बिस्तारै कम हुँदै गएपछि क्वरेण्टीन रित्तिँदै गएको स्वास्थ्य कार्यालयको भनाइ छ । जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार जेठ १ गतेदेखि अहिलेसम्म देशमा विभिन्न ठाउँ र भारतबाट गरी जम्मा सात हजार एक सय ७३ जना नागरिक बर्दिया जिल्ला भित्रिएका थिए । 

प्रशासनले बर्दिया जिल्ला भित्रने सबैलाई आ-आफ्नो पालिकाको क्वरेण्टीनमा १४ दिन अनिवार्य बस्नुपर्ने नियम लागू गरेको थियो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया