लमजुङ : औषधि बाहेकका पसल बिहान ५ बजेदेखि अपराह्न १२ बजेसम्म मात्रै खोल्न पाइने

 असार १९, २०७७ शुक्रबार १९:५८:५६ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङमा अत्यावश्यक सेवाको पसल (औषधि) बाहेक अन्य सबै पसल प्रत्येक दिन बिहान ५ बजेदेखि अपराह्न १२ बजेसम्म मात्र खोल्न पाउने निर्णय गरिएको छ । 

कोरोना सङ्क्रमणको दर बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै कोरोना रोकथाम तथा नियन्त्रणको लागि जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिस्ट्रिक कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर) लमजुङको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले पेसा, व्यवसाय सञ्चालन गर्दा सुरक्षा/स्वास्थ्य प्रोटोकललाई अनिवार्य रुपमा पालना गर्ने÷गराउने व्यवस्था मिलाउनुपर्ने निर्णय गर्नुका साथै जिल्लाको प्रवेशद्वार पाउँदी नाकाबाट खाद्यान्न तथा मालवाहक सवारी साधनहरुलाई बिहान १० बजेभित्र र दिउँसो ४ बजेपछि मात्रै प्रवेश अनुमति दिने निर्णय गरेको छ । 

साथै अत्यावश्यक कामको लागि सवारी अनुमति दिइएका बाहेक अन्य सवारी साधनहरु सञ्चालन नगर्ने, जिल्लाभित्र सञ्चालन हुने निजी सवारी साधनको लागि जोर बिजोर प्रणालीलाई कडाइका साथ लागू गर्ने बैठकले निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिनुभयो ।

लमजुङमा कोरोना सङ्क्रमितको सङ्ख्या ४५

लमजुङमा कोरोना सङ्क्रमितको सख्या ४५ पुगेको छ । लमजुङमा अहिलेसम्म पीसीआर परीक्षणको लागि पाँच सय जनाको ‘थ्राेट स्वाब’ नमुना सङ्कलन गरी प्रादेशिक प्रयोगशाला पोखरा पठाइएको छ । पठाइएकामध्ये शुक्रबारसम्म ४५ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको, तीन सय ७१ जनाको रिपोर्ट नेगेटिभ आएको र ८४ जनाको रिपोर्ट आउन बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले जानकारी दिनुभयो ।

भारत, युएई, कुवेतलगायतका देशका साथै नेपालकै विभिन्न ठाउँबाट आएका र जिल्लाका विभिन्न क्वरेण्टीनमा रहेकाहरुको स्वाब परीक्षण गर्दा अहिलेसम्म ४५ जनामा कोरोना पुष्टि भएको उहाँले बताउनुभयो ।

सङ्क्रमितहरुको सुन्दरबजारमा रहेको नमुना सामुदायिक अस्पताल, जिल्ला समन्वय समितिको सभा हलमा बनाइएको आइसोलेशन वार्ड र जिल्ला सामुदायिक अस्पताल बेसीशहरमा बनाइएको आइसोलेशन कक्षमा उपचार भइरहेको सुनारले जानकारी दिनुभयो । 

१० जना निको भइ घर फर्के

शुक्रबारसम्ममा सङ्क्रमितमध्ये तीन जना महिला र सात जना पुरुष गरी १० जना निको भएर घर फर्किसकेको उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: फागुन २९, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया