सुदूरपश्चिम : काेराेना सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या ३६ सय नाघ्याे

 असार २१, २०७७ आइतबार २१:४४:४७ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेशमा आइतबार थप ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा १७, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला जुम्लामा २०, डडेल्धुरा अस्पताल प्रयोगशालामा तीन र धनगढी प्रयोगशालामा ४५ गरी आइतबार थप ८५ जनामा कोरोना पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १४ र बैतडीका तीन जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा बाजुराका २० र डडेल्धुरा अस्पतालको प्रयोगशालामा डडेल्धुराका तीन जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै धनगढी प्रयोगशालामा भएको परीक्षणमा ३३ पुरुष र १२ महिला गरी ४५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिकाका २० पुरुष र आठ महिला गरी २८ जना, कैलालीको गोदावरी नगरपालिकाका आठ पुरुष र एक महिला गरी नाै जना, धनगढीका दुई महिला, टीकापुर नगरपालिकाका एक पुरुष, डडेल्धुराको परशुराम नगरपालिकाका चार पुरुष र एक महिला गरी पाँच जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ६ सय ७८ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताउनुभयो । सङ्क्रमितमध्ये आठ जनाको मृत्यु भइसकेको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया